मेरो ईमेल ह्याक गरेर निर्वाचन आयोगमा उम्मेदवारी फिर्ताको मेसेज पठाइयो: आशिका तामाङ
माघ ९, २०८२ १८:७
फाइल तस्बिर
काठमाडौँ । धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी कायमै रहेको स्पष्ट पारेकी छिन् । शुक्रबार सामाजिक सञ्चाल र विभिन्न सञ्चारमाध्यममा उम्मेदवारी फिर्ता लिएको भनी आएका समाचारको खण्डन गर्दै उनले आफ्नो ईमेल दुरुपयोग भएको दाबी गरिन् ।
विभिन्न सञ्चारमाध्यमले निर्वाचन अधिकृत एकराज अधिकारीलाई उद्धृत गर्दै तामाङले उम्मेदवारी फिर्ताका लागि ईमेल पठाएको समाचार सार्वजनिक गरेका थिए । सोही विषयमा स्पष्टीकरण दिँदै तामाङले आफ्नो ईमेल ह्याक गरी कसैले गलत सूचना पठाएको दाबी गरेकी हुन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, “मेरो ईमेल ह्याक गरेर केही साथीहरूले भित्रबाट निर्वाचन आयोगलाई मेसेज गर्दिनु भएछ । मेरो उम्मेदवारी कायम हुनुपर्छ, फिर्ता लिने विषयमा मैले ईमेल पठाएको होइन भनेर मैले आयोगमा चिठी लेखेर आइसकेको छु ।”
आफ्नो उम्मेदवारी फिर्ताको चर्चा चुलिएपछि सामाजिक सञ्चालमार्फत प्रष्टिकरण दिँदै उनले चुनावी मैदानबाट पछि नहट्ने बताइन् । उनले हल्लाको पछि नलाग्न आग्रह गर्दै फेसबुकमा लेखेकी छन्, “म चुनाव जित्न उठेको उम्मेदवार हुँ, उम्मेदवारी फिर्ता लिन होइन । म जनताको प्रतिनिधि बनेर आउनेछु ।”
पछिल्लो अध्यावधिक: माघ ९, २०८२ १८:७
