काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनको सन्दर्भमा प्रधानमन्त्रीका उम्मेदवारहरूबिच सार्वजनिक बहस भए आफू तयार रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले यस्तो घोषणा गरेका हुन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा के छन् र देश निर्माणको योजना के छ भन्नेबारे आमने–सामने बहसको माग हुनु सकारात्मक छ । यस्तो बहसका लागि म तयार छु ।”
ओलीले नयाँ र पुराना सबै दलहरू अहिले चुनावमा होमिएको चर्चा गर्दै एमाले सधैँ देश बनाउने पक्षमा रहेको कुरा उल्लेख गरे । सामाजिक सञ्जालमा फ्रेम गरेर ल्याइएका सामग्रीले मतदातालाई भ्रममा पार्न सक्ने र वास्तविक चरित्र लुकाउन सक्ने भएकाले पनि सार्वजनिक बहस (पब्लिक डिबेट) आवश्यक रहेको उनको तर्क छ ।
“प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर म आफ्ना एजेन्डा राख्ने प्रतिबद्धता जनाउँछु,” ओलीले भने । उनले सार्वजनिक बहस आयोजना गरेर सबै पक्षलाई सहभागी गराउन समेत आग्रह गरेका छन् ।
आगामी २१ फागुनमा हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नाम समेत प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् । निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका मुख्य उम्मेदवारहरूले आफ्ना योजना र कार्यनीति जनतासामु स्पष्ट पार्नुपर्ने माग उठिरहेका बेला एमाले अध्यक्षले आफू बहसमा उत्रिन तयार रहेको कुरा उल्लेख गरे ।
पछिल्लो अध्यावधिक: माघ ११, २०८२ ९:१
