close

टिकटकमा अश्लील कमेन्ट गर्दा पक्राउ परेका प्रदीप कुमालमाथि १ लाख जरिबाना र ५ वर्ष कैद सजाय माग

टेकपाना टेकपाना

माघ ११, २०८२ ११:३४

टिकटकमा अश्लील कमेन्ट गर्दा पक्राउ परेका प्रदीप कुमालमाथि १ लाख जरिबाना र ५ वर्ष कैद सजाय माग

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा अश्लील र अपमानजनक कमेन्ट गरी चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका २७ वर्षीय प्रदीप कुमाल विरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । सरकारी वकिलको कार्यालयले केही दिन अघि उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अधिकतम सजाय र जरिबानाको माग गरेको हो ।

धादिङको साविक सल्यानटार गाविस-७ घर भई हाल त्रिपुरासुन्दरी-२ बस्ने प्रदीप कुमालले समीर मगर (@samirmagarsm) नामक टिकटक आईडी प्रयोग गरी एक युवतीको टिकटक भिडिओमा अश्लील शब्दहरू प्रयोग गरेर कमेन्ट गरेका थिए । पीडित महिलाले आफ्नो आईडीबाट यस्ता अश्लील कमेन्ट नगर्न अनुरोध गर्दा कुमालले उल्टै थप यौनजन्य शब्दहरू प्रयोग गरी मेसेज पठाएको र नग्न भिडिओ बनाएर सार्वजनिक गरिदिने धम्की दिएका थिए ।

पीडितले साइबर ब्युरोमा दिएको जाहेरीका आधारमा प्रहरीले कुमाललाई पक्राउ गरी उनको मोबाइल समेत बरामद गरेको थियो । मोबाइलको प्राविधिक जाँच गर्दा सोही आईडीबाट अश्लील मेसेज पठाएको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ ।

प्रदीप कुमालले अधिकारप्राप्त अधिकारी समक्ष दिएको बयानमा आफ्नो कसुर स्वीकार गरेका छन् । उनले ती महिलालाई आफूले मन पराएर प्रेम प्रस्ताव राखेको, तर प्रस्ताव अस्वीकार भएपछि रिसको झोँकमा मानसिक दुःख दिने नियतले त्यस्तो कमेन्ट र मेसेज गरेको स्वीकारेका हुन् ।

सरकारी वकिलको कार्यालयले प्रदीप कुमाललाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुरमा कारबाही गर्न माग गरेको छ । यस दफा अनुसार उनलाई १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।

यसका साथै अभियोग पत्रमा अपराधमा प्रयोग भएको कुमालको मोबाइल फोन जफत गर्न, पीडितलाई परेको मानसिक पीडा र क्षतिको उचित मूल्याङ्कन गरी कुमालबाट क्षतिपूर्ति भराइ पाउन र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराइ पाउन माग दाबी समेत लिइएको छ ।

 

पछिल्लो अध्यावधिक: माघ ११, २०८२ ११:३४