पार्टीका ६ लाख सदस्यलाई नाम सम्बोधन गर्दै केपी शर्मा ओलीले पठाए ‘पर्सनलाइज्ड’ डिजिटल पोस्टर
माघ ११, २०८२ १५:१२
काठमाडौँ । नेकपा (एमाले) ले डिजिटल प्रविधिमार्फत चुनावी अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा पार्टीले देशभर रहेका छ लाखभन्दा बढी सङ्गठित सदस्यलाई उनीहरूकै नाम उल्लेख गर्दै ‘पर्सनलाइज्ड’ डिजिटल पोस्टर पठाएको हो ।
आसन्न निर्वाचनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्न र कार्यकर्ताको मनोबल उच्च बनाउन एमालेले यो नवीन प्रयोग गरिएको जनाएको छ । पार्टी सदस्यको मोबाइलमा एसएमएस पठाउँदै भनिएको छ, “कमरेड, आसन्न चुनावमा तपाईँको सक्रिय सहभागिताको लागि अध्यक्ष क. केपी शर्मा ओली ज्युले कार्ड पठाउनु भएको छ ।”

उक्त एसएमएसमा एउटा वेब लिङ्क राखिएको छ, जसमा क्लिक गर्दा सम्बन्धित सदस्यको नामै उल्लेख गरिएको आकर्षक डिजिटल पोस्टर देखिन्छ । पोस्टरमा अध्यक्ष ओलीको तर्फबाट विशेष अपिल गरिएको छ ।
पोस्टरमा भनिएको छ, “कमरेड….., यहाँलाई अवगत नै छ– आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबिचको हार-जितको फैसला गर्नेछ । देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु ।”

एमाले केन्द्रीय प्रचार विभागका संयोजक मीनबहादुर शाहीले पार्टीमा आबद्ध सदस्यलाई प्रत्यक्ष रूपमा जोड्न र चुनावी अभियानमा सक्रिय गराउन पोस्टर पठाइएको जानकारी दिए । “हामीले एसएमएस, ईमेल र सामाजिक सञ्जालका विभिन्न माध्यमबाट छ लाख बढी सदस्यलाई यो पोस्टर पठाएका छौँ,” शाहीले टेकपानासँग कुरा गर्दै भने, “अध्यक्षको तर्फबाट व्यक्तिगत सम्बोधनसहितको सन्देश जाँदा सदस्यहरूमा अपनत्व महसुस हुने र यसले राम्रो सन्देश दिने हाम्रो विश्वास छ ।”
पार्टीसँग सुरक्षित रहेको सदस्यको डेटाबेस प्रयोग गरी यी पोस्टर पठाइएको उनले बताए । अहिले एमाले कार्यकर्ताले अध्यक्ष ओलीबाट प्राप्त यस्ता डिजिटल पोस्टर उत्साहका साथ सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । केहीले भने आफू सक्रिय रूपमा पार्टीमा नजोडिए पनि कुनै कार्यक्रममा सहभागी भएकै आधारमा यस्तो पोस्टरसहितको लिङ्क आएको दाबी सामाजिक सञ्जालमा गरेका छन् ।
पछिल्लो अध्यावधिक: माघ १३, २०८२ १४:२१
