close

केपी ओलीले हालसम्म पाएको सर्वाधिक लाइकभन्दा उनकै पोस्टमा बालेनले गरेको कमेन्टको लाइक बढी

टेकपाना टेकपाना

माघ ११, २०८२ १७:५२

केपी ओलीले हालसम्म पाएको सर्वाधिक लाइकभन्दा उनकै पोस्टमा बालेनले गरेको कमेन्टको लाइक बढी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजको कुनै पनि पोस्टमा हालसम्म आएको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले गरेको एउटै कमेन्टमा बढी रियाक्सन आएको छ ।

एमालेले अध्यक्ष ओली, काँग्रेसले सभापति गगन थापा र रास्वपाले बालेनलाई प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा अगाडि सारेका छन् । यही सन्दर्भमा प्रधानमन्त्री पदका उम्मेदवारबिच खुला बहस हुनुपर्ने माग सामाजिक सञ्जालमा उठिरहेको छ । 

यही सिलसिलामा आइतबार अध्यक्ष ओलीले आफू लाइभ डिबेटका लागि तयार रहेको भन्दै सामाजिक सञ्जालमा एउटा पोस्ट राखेका थिए । ओलीको सोही पोस्टमा कमेन्ट गर्दै बालेनले आफू सो डिबेटमा सहभागी नहुने भन्दै ओलीको प्रस्ताव अस्वीकार गरेका थिए । 

यो सामग्री तयार पार्दासम्म बालेनको सोही कमेन्टमा मात्र १ लाख ४२ हजारभन्दा बढी लाइक आइसकेको छ । जबकि ओलीको मुख्य पोस्टमा भने ५५ हजार मात्र रियाक्सन देखिन्छ । यसको अर्थ ओलीको पोस्टमा भन्दा बालेनको कमेन्टमा आएको रियाक्सन दोब्बरभन्दा धेरै छ ।

अध्यक्ष ओलीको फेसबुक पेजबाट सार्वजनिक भएका २१ सयभन्दा बढी पुराना पोस्टको विश्लेषण गर्दा उनको अहिलेसम्मकै सबैभन्दा बढी इङ्गेजमेन्ट पाएको पोस्टमा १ लाख ७ हजार लाइक देखिन्छ । तर, ओलीको पोस्टमा बालेनले गरेको एउटै कमेन्टले उनको व्यक्तिगत रेकर्डलाई समेत उछिनेको छ ।

हाल फेसबुकमा ओलीको पेजलाई ७ लाख १८ हजारभन्दा बढीले फलो गरेका छन् भने बालेनको पेजमा ३३ लाखभन्दा बढी फलोअर छन् । फलोअरको यही ठुलो अन्तर र सामाजिक सञ्जालको लोकप्रियताका कारण पनि बालेनको कमेन्टमा ओलीको पोस्टमा भन्दा बढी रियाक्सन देखिएको हो ।

पछिल्लो अध्यावधिक: माघ ११, २०८२ १८:१५