काठमाडौँ । एन्ड्रोइड स्मार्टफोनहरू प्रयोगमा आएको झन्डै दुई दशक भइसकेको छ । यस अवधिमा प्रविधिमा धेरै ठुला परिवर्तनहरू आए पनि प्रयोगकर्ताहरूमा कतिपय पुराना र गलत बानीहरू अझै पनि कायम छन् ।
यी गल्तीहरूलाई सुधार्न सके फोनको सुरक्षा, कार्यक्षमता र ब्याट्रीको आयुमा उल्लेख्य सुधार ल्याउन सकिन्छ । आज हामी एन्ड्रोइड प्रयोगकर्ताले गर्न नहुने गल्ती र तिनको सम्भावित परिणाम बारे यहाँ चर्चा गर्दैछौँ ।
१. टास्क किलर (Task Killer) एप प्रयोग नगर्नुहोस्
धेरै प्रयोगकर्तामा ब्याकग्राउन्डमा चलिरहेका एपहरूलाई म्यानुअल रूपमा बन्द गर्दा फोनको स्पीड र ब्याट्री बढ्छ भन्ने भ्रम छ । तर, एन्ड्रोइड सिस्टमले स्वचालित रूपमा रिसोर्स व्यवस्थापन गर्न डिजाइन गरिएको हुन्छ ।
जब तपाईँ कुनै एपलाई जबरजस्ती बन्द (Force close) गर्नुहुन्छ र पछि फेरि खोल्नुहुन्छ, फोनले त्यसलाई 'कोल्ड स्टेट' बाट सुरु गर्नुपर्ने हुन्छ । यस प्रक्रियामा फोनले ब्याकग्राउन्डमा रहँदाभन्दा धेरै बढी शक्ति र ब्याट्री खपत गर्छ ।
त्यसैले एप फ्रिज भएको वा बिग्रिएको अवस्थामा बाहेक यसलाई सिस्टमकै भरमा छोडिदिनु राम्रो हुन्छ ।
२. असुरक्षित स्रोतबाट एप 'साइडलोड' नगर्नुहोस्
गुगल प्ले स्टोर बाहिरबाट एप इन्स्टल गर्ने सुविधा (Sideloading) एन्ड्रोइडमा भएको एउटा ठुलो स्वतन्त्रता हो । तर, यो सुविधा सुरक्षाका हिसाबले जोखिमपूर्ण हुन सक्छ ।
कुनै पनि अपरिचित वेबसाइटबाट डाउनलोड गरिएका एपहरू आधिकारिक स्टोर जस्तो सुरक्षित हुँदैनन् । यस्ता एपहरूमा मालवेयर हुन सक्ने सम्भावना उच्च हुन्छ ।
यदि साइडलोड गर्नै परेमा APK Mirror जस्ता विश्वसनीय स्रोतहरू मात्र प्रयोग गर्न सुझाव दिइन्छ । चर्चित समाचार साइट एन्ड्रोइड पुलिसले सञ्चालन गर्ने एपीकेे मिररमा एप्लिकेसन क्रिप्टोग्राफिको माध्यमबाट प्रमाणीकरण गर्ने गरिन्छ । यो विधिमा सिग्नेचर चेक गरेर ओरिजिनल एपसँग मेल खाएको जाँच गरिन्छ ।
एपीके मिररमा क्र्याक, पाइरेटेड तथा मोडेड एपहरूलाई अनुमति नदिइने बताइन्छ । साथै गुगल प्ले स्टोरमै भएका एप भर्सन यसमा पाइने भएकाले जम्माजम्मि म्यानुअल किसिमले अपलोड गर्नुको भिन्नता मात्रै हुने दाबी गरिन्छ । यद्यपि एपीके मिरर प्रयोग गर्नु भनेको तपाईंले गुगल प्ले प्रोटेक्टलाई बाइपास गर्नु हो । जसको अर्थ तपाईंले सुरक्षाको अतिरिक्त तह गुमाइरहनु भएको हुन्छ ।
३. सेक्युरिटी अपडेटहरूलाई बेवास्ता नगर्नुहोस्
प्रायः प्रयोगकर्ताहरू एन्ड्रोइड १५ बाट १६ मा जाने जस्ता ठुला अपडेटहरूमा मात्र उत्साहित हुन्छन् । तर, साना सेक्युरिटी प्याच (Security Updates) हरू फोनको दीर्घकालीन स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण हुन्छन् ।
सफ्टवेयरमा रहेका साना कमजोरी र सुरक्षा जोखिमहरूलाई सुधार्न यस्ता अपडेटहरू पठाइन्छ । यी अपडेटहरू नगर्दा तपाईँको फोन मालवेयर र ह्याकरहरूको निसानामा पर्न सक्छ । त्यसैले बोरिङ लागे पनि यस्ता अपडेटहरूलाई कहिल्यै नछोड्नुहोस् ।
४. बिना सोचविचार सबै 'पर्मिसन' नदिनुहोस्
नयाँ एप सेट-अप गर्दा हामी प्रायः हतारिएर सबै अनुमतिमा Allow थिच्छौँ । तर, एपलाई वास्तवमै कुन जानकारी चाहिन्छ भन्नेमा ध्यान दिनु आवश्यक छ । उदाहरणका लागि एउटा साधारण क्याल्कुलेटर वा फ्ल्याशलाइट एपलाई तपाईँको लोकेसन वा कन्ट्याक्ट लिस्टको पहुँच आवश्यक पर्दैन ।
धेरै अनुमति नदिँदा पनि एपहरूले राम्रोसँग काम गर्न सक्छन् । त्यसैले अनुमति दिनुअघि त्यसको उद्देश्य वा प्रयोजन बुझ्नुहोस् ।
५. सार्वजनिक यूएसबी पोर्टमा फोन चार्ज नगर्नुहोस्
विमानस्थल, होटल वा क्याफेमा भेटिने सार्वजनिक यूएसबी पोर्टहरू फोन चार्ज गर्नका लागि सजिलो देखिए पनि ती असुरक्षित हुन सक्छन् । यसलाई जुस ज्याकिङ भनिन्छ । यूएसबी केबलले पावरका साथै डेटा पनि बोक्ने भएकाले असुरक्षित पोर्टमार्फत तपाईँको व्यक्तिगत जानकारी चोरी हुन सक्छ वा फोनमा मालवेयर पस्न सक्छ ।
सार्वजनिक स्थानमा चार्ज गर्दा यूएसबी पोर्टको सट्टा आफ्नै एसी एडप्टर प्रयोग गर्नु सबैभन्दा सुरक्षित उपाय हो ।
पछिल्लो अध्यावधिक: माघ १२, २०८२ १२:४
