ह्वाट्सएपको इन्क्रिप्सनमाथि गम्भीर प्रश्न, गोपनीयता भङ्ग गरेको आरोपमा मेटाविरुद्ध मुद्दा
माघ १२, २०८२ १४:१९
काठमाडौँ । ह्वाट्सएपको मातृ कम्पनी मेटा प्लेटफर्म इन्क विरुद्ध यसको गोपनीयता र सुरक्षासम्बन्धी दाबीहरू झुटो भएको आरोप लगाउँदै अन्तर्राष्ट्रिय स्तरको मुद्दा दर्ता गरिएको छ । ह्वाट्सएपले प्रयोगकर्तालाई दिने ‘इन्ड-टु-इन्ड’ इन्क्रिप्सनको सुनिश्चितता वास्तवमा भ्रामक रहेको दाबी वादी पक्षले गरेका हुन् ।
सान फ्रान्सिस्कोस्थित अमेरिकी जिल्ला अदालतमा दर्ता गरिएको उजुरीमा ह्वाट्सएपले दाबी गरे जस्तो मेसेजहरू केवल पठाउने र पाउने व्यक्तिमा मात्र सीमित नरहेको उल्लेख छ । वादीहरूले आरोप लगाएका छन् कि मेटा र ह्वाट्सएपले प्रयोगकर्ताका निजी भनिएका मेसेजहरूलाई स्टोर र विश्लेषण गर्ने मात्र नभई ती सामग्रीहरूमा पहुँच समेत राख्न सक्छन् ।
अर्बौँ प्रयोगकर्ताहरूलाई गोपनीयताको झुटो आश्वासन दिएर कम्पनी र यसका नेतृत्वले ठगी गरिरहेको अभियोग पत्रमा दाबी गरिएको छ । यस मुद्दामा अस्ट्रेलिया, ब्राजिल, भारत, मेक्सिको र दक्षिण अफ्रिकाका वादीहरू सङ्गठित भएका छन् । उनीहरूले केही व्हिसलब्लोअर (भित्रि सूचना दिने व्यक्ति) को सहयोगमा यो जानकारी सार्वजनिक भएको बताएका छन् ।
ती सूचनादाताहरूका अनुसार मेटाका कर्मचारीहरूले प्रयोगकर्ताका सञ्चार सामग्रीहरू हेर्न सक्ने क्षमता राख्छन् । यद्यपि उजुरीमा ती सूचनादाताको पहिचान खुलाइएको छैन ।
मेटाले यी सबै दाबीहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै मुद्दालाई आधारहीन र काल्पनिक कथाको संज्ञा दिएको छ । कम्पनीका प्रवक्ता एन्डि स्टोनले ह्वाट्सएपले विगत एक दशकदेखि सिग्नल प्रोटोकल प्रयोग गरेर मेसेजहरूलाई पूर्ण रूपमा इन्क्रिप्टेड राख्दै आएको र मेसेजहरू अरूले पढ्न सक्ने दाबी पूर्णतः झुटो रहेको बताएका छन् । मेटाले यो मुद्दा व्यर्थको भएको भन्दै वादी पक्षका वकिलहरू विरुद्ध नै कानुनी कारबाही अघि बढाउने चेतावनी समेत दिएको छ ।
वादी पक्षका वकिलहरूले यस मुद्दालाई क्लास-एक्सन (सामूहिक मुद्दा) को रूपमा प्रमाणित गर्न अदालतसँग माग गरेका छन् । यस मुद्दामा क्विन इमानुएल उर्क्हार्ट एण्ड सुलिभान र केलर पोस्टम्यान जस्ता विश्वका प्रतिष्ठित कानुन फर्महरू संलग्न रहेका छन् । "यो च्याटमा रहेका व्यक्तिहरूले मात्र मेसेज पढ्न वा सुन्न सक्छन्," भन्दै ह्वाट्सएपले सधैँ विज्ञापन गरिरहेका बेला दर्ता भएको यो मुद्दाले प्रविधि जगतमा ठुलो तरङ्ग पैदा गरेको छ ।
पछिल्लो अध्यावधिक: माघ १२, २०८२ १४:२४
