close

५ हजारको लोभ देखाएर इसेवा वालेट ह्याक गर्ने दाउ, स्क्यामबाट झन्डै फसे मनोज गजुरेल !

टेकपाना टेकपाना

माघ १२, २०८२ १९:१४

५ हजारको लोभ देखाएर इसेवा वालेट ह्याक गर्ने दाउ, स्क्यामबाट झन्डै फसे मनोज गजुरेल !

काठमाडौँ । डिजिटल वालेट इसेवाको १७औं वार्षिकोत्सवको नाममा फैलिएको ‘फिसिङ स्क्याम’बाट हास्य कलाकार मनोज गजुरेल जोगिएका छन् । पाँच हजार रुपैयाँ पाउने आशामा लिङ्क क्लिक गर्दा आफ्नो अकाउन्ट ह्याक हुनबाट उनी जोगिएका हुन् ।

सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै गजुरेलले आफ्नो अनुभव बाँडेका छन् । उनले लेखेका छन्, “झन्डै फँसायो फेकेले ! इसेवाको हुबहु लोगो प्रयोग गरी ह्वाट्सएपमा धमाधम म्यासेज आइरहेको छ-१७ औं वार्षिकोत्सवको अवसरमा सबै ग्राहकलाई रु. ५०००/- बोनस भन्दै । इसेवाका अनुसार यो 'स्पाम' हो । यस्ता फजुल सन्देशबाट बच्नुहोला, म नै झन्डै फँसेको । ५००० को लोभमा खाता रित्तिएला !”

पाँच हजार पाउने लोभमा फैलाइएको उक्त फिसिङ लिङ्कमा जोसुकैले उपहार पाउन सक्ने दाबी गरिएको छ । त्यहाँ रहेको ‘क्लेम’ (Claim) बटनमा ट्याप गर्दा मोबाइल नम्बर राख्ने बक्स खुल्छ । 

उक्त बक्समा नम्बर राखिसकेपछि उपहार पाउनका लागि सो लिङ्क ५ ओटा ह्वाट्सएप ग्रुपमा शेयर गर्न भनिन्छ । त्यहाँ क्लिक गर्नासाथ उक्त लिङ्क विभिन्न ह्वाट्सएप ग्रुपहरूमा शेयर हुन्छ । 

पाँच ओटा ग्रुपमा शेयर गरिसकेपछि प्रगतिको विवरण १०० प्रतिशत देखिन्छ ।

यसबीचमा ठगले आफ्नो सिस्टमबाट प्रयोगकर्ताको अकाउन्ट लगइन गर्ने प्रयास गर्छ । विवरण १०० प्रतिशत भइसकेपछि ‘भेरिफाई गर्ने’, ‘५००० प्राप्त गर्ने’ वा ‘एक्टिभेट गर्ने’ जस्ता विकल्पहरू देखिन्छन् ।

ती विकल्पमा ट्याप गर्दा प्रयोगकर्तालाई विभिन्न शंकास्पद लिङ्कमा पुर्‍याउने गरेको पाइएको छ । सुरक्षाका उपाय अपनाउँदा हामीलाई ओटीपीकोड राख्ने बक्ससम्म नपुर्‍याएको हुन सक्छ, तर सामान्य अवस्थामा यसपछि पिन र ओटीपी राख्ने बक्स देखिने अनुमान गर्न सकिन्छ । यी विवरण राख्दा प्रयोगकर्ताको वालेट नै स्क्यामरको नियन्त्रणमा जाने जोखिम रहन्छ ।

उक्त फिसिङ लिङ्कको तल्लो भागमा इसेवाले फेसबुकमा राख्ने पोस्ट जस्तै ‘डमी’ पोस्ट राखिएको छ । जसमा धेरै मानिसले उपहार पाएको जस्तो देखिने भ्रमपूर्ण कमेन्ट राखिएका छन् । त्यहाँ अहिलेसम्म १८ हजारभन्दा बढीले उपहार पाइसकेको दाबी समेत गरिएको छ ।

ह्वाट्सएपमा अनिवार्य शेयर गर्नुपर्ने प्रावधान राखिएका कारण यो स्क्याम लिङ्क व्यापक रूपमा फैलिरहेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८२ १९:२०