close

फ्याक्टचेक: बर्दियाका वीरेन्द्र विकले विमान बनाएको दाबी झुटो, भाइरल भिडिओ बङ्गलादेशको हो

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ १२, २०८२ २२:४३

फ्याक्टचेक: बर्दियाका वीरेन्द्र विकले विमान बनाएको दाबी झुटो, भाइरल भिडिओ बङ्गलादेशको हो

काठमाडौँ । सामाजिक सञ्जालमा बर्दियाका १८ वर्षीय युवा वीरेन्द्र विकले प्लेन बनाएको दाबी सहितको भिडिओ भाइरल भइरहेको छ । विकले प्लेन बनाएर गाउँका मानिसहरूलाई नै चकित बनाएको दाबी सहित उक्त भिडिओ राखिएको हो । टेकपानाको तथ्यजाँचबाट उक्त अल्ट्रालाइटवेट एयरक्राफ्ट नेपालको नभइ बङ्गलादेशको युवाले बनाएको पुष्टि भएको छ । 

दाबी 

फेसबुक प्रयोगकर्ता ‘सुदूरपश्चिम खबर लम्की’ नामको फेसबुक अकाउन्टबाट बर्दियाका वीरेन्द्र विकले एयरक्राफ्ट बनाएको दाबी सहितको भिडिओ शेयर भएको छ । २४ जनवरी राति ९:१० मा सार्वजनिक भएको उक्त भिडिओको  क्याप्सनमा लेखिएको छ, “बर्दिया मा बस्ने बिरेन्द्र भाई ले बनाए aircraft उहाँको यो काम लाई देखेर गाउँ नै अचम्म परेको छ ❤️🙏😊😊”

यो सामग्री तयार पार्दा सम्म भिडिओलाई तीन लाख ४० हजार पटक हेरिएको छ । १३ हजार तीन सयभन्दा धेरै लाइक र दुई हजार बढी पटक शेयर गरिएको छ । 

उक्त भिडिओमा वक्ताले भनेका छन्, “दर्शकवृन्द । बर्दियामा बस्ने एक जना व्यक्ति जुन नाम रहेको छ वीरेन्द्र विश्वकर्मा । वीरेन्द्र विश्वकर्मा उनी मात्र अहिले १८ वर्ष रहेका छन् । १८ वर्षकै उमेरमा उनले यस्तो जहाज बनाएका छन्, एयरक्राफ्ट बनाका छन् । जुन उहाँले हावामा उडाएका छन् । उहाँको काम देखेर गाउँ नै चकित परेको । सबैले वाह वाह गरिरहेका छन् । यो भिडिओलाई धेरै भन्दा धेरै शेयर गरेर सम्पूर्ण नेपाली माझ पुर्‍याइदिनु होला । हामी नेपालीहरूका लागि यो निकै गर्वको कुरा हो ।” हेर्नुहोस् भिडिओ र स्क्रिनरेकर्ड । 

 

उक्त पोस्ट ‘Bhoj Raj Thapa - MechiKali Khabar’, 'Indreni- ईन्द्रेणि टिम' लगायतका ग्रुपहरूमा पनि शेयर भएको छ । 

फेसबुकमा ‘Aakash Lama’ नामको अकाउन्टबाट पनि सोही क्याप्सन र भिडि‌ओ सार्वजनिक भएको छ । २५ जनवरी बिहान ९:०६ मा उक्त भिडिओ पोस्ट गरिएको हो । हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

अनुसन्धान 

बर्दियाका १८ वर्षिय युवाले एयरक्राफ्ट बनाएको दाबीपछि हामीले उक्त घटनासँग सम्बन्धित अन्य सामग्री वा समाचार खोज्ने प्रयास गर्‍यौँ । हामीले गुगल, युट्युब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा ‘बर्दियामा युवा हेलिकप्टर’, ‘बर्दिया Aircraft’, ‘बिरेन्द्र विक प्लेन’, ‘बिरेन्द्र विक’ जस्ता किवर्डहरू राखेर सर्च गर्‍यौँ । यसरी खोज्दा ‘सुदूरपश्चिम खबर लम्की’ ले दाबी गरेजस्तो एयरक्राफ्ट बनाएका बारेमा कुनै सामग्री फेला परेन । त्यसपछि हामीले उक्त भिडिओबाट विभिन्न कि फ्रेम निकालेर गुगल रिभर्स इमेज र यान्डेक्समा सर्च गर्‍यौँ । यसरी खोज्दा बर्दियामा एयरक्राफ्ट बनेको फोटो वा भिडिओ फेला परेन । 

बरु अन्य देशमा बनाइएका एयरक्राफ्टका विभिन्न भिडिओ तथा फोटोहरू भने फेला परे । फेसबुकमा ‘Md Nojrul Islam’ नामका प्रयोगकर्ताले ‘सुदूरपश्चिम खबर लम्की’ ले पोस्ट गरेको जस्तै देखिने एयरक्राफ्टको भिडिओ राखेको भिडिओ फेला पर्‍यो । २२ डिसेम्बर २०२५ मा सार्वजनिक उक्त भिडिओमा बङ्गाली भाषामा स्टाटस लेखिएको छ । उक्त स्टाटसलाई नेपालीमा उल्था गर्दा यस्तो भाव आयो, “नयाँ इन्जिन जडान गरेपछि पहिलो उडान- बङ्गलादेशको गौरव, जुल्हास भाइ” । हेर्नुहोस् भिडिओ । 

 

 

उक्त भिडिओमा भएको एयरक्राफ्टलाई हामीले बर्दियामा बनाइएको दाबी गरिएको एयरक्राफ्टसँग तुलना गरेर हेर्‍यौँ । तुलना गर्दा दुवै एयरक्राफ्ट एउटै रहेको पाइयो । 

  • यी दुई भिडिओमा देखिएको एयरक्राफ्टको विङको तल्तोपट्टी बायाँ भागमा ‘AMSOIL’ लेखिएको छ । 

  • एयरक्राफ्टको पुच्छरमा नीलो र पहेँलो रङ मिश्रित छ ।  

अनुसन्धानका क्रममा सामाजिक सञ्जाल युट्युबफेसबुकमा ‘Create by julhas’ नामको अकाउन्ट फेला पर्‍यो । उक्त अकाउन्टबाट एयरक्राफ्टहरू बनाएका र परीक्षण गरेका कयौँ भिडिओहरू राखिएका छन् । 

‘Create by julhas’  युट्युबमा च्यानलको डिस्क्रिप्सनमा बङ्गाली भाषामा जुल्हासको परिचय दिइएको छ । उक्त डिस्क्रिप्सनलाई नेपालीमा उल्था गर्दा यस्तो भनिएको पाइयो, “म मोहम्मद जुल्हास मोल्ला हुँ, बंगलादेशका पहिलो विमान निर्माता । यदि तपाईंलाई अनुसन्धान मन पर्छ भने यो च्यानल सब्स्क्राइब गर्नुहोस् ।” 

सन् २०२१ सेप्टेम्बरमा सार्वजनिक उक्त अकाउन्टमा विभिन्न एयरक्राफ्ट तयार पारेको तथा एक्सपेरिमेन्ट गरेका कयौँ भिडिओहरू सार्वजनिक भएको छ । त्यसमा पनि ‘सुदूरपश्चिम खबर लम्की’ ले सार्वजनिक गरेको एयरक्राफ्ट उडाएको कयौँ भिडि‌ओ राखिएको छ ।  

दाबी

बर्दियाका १८ वर्षीय युवक वीरेन्द्र विकले प्लेन (एयरक्राफ्ट) बनाए । 

दाबीकर्ता 

‘सुदूरपश्चिम खबर लम्की’, ‘Aakash Lama’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

भाइरल भिडि‌‌ओ बर्दियाको नभई बङ्गलादेशको हो । बङ्गलादेशका विमान अनुसन्धानकर्ता मोहम्मद जुल्हास मोल्लाले बनाएको एयरक्राफ्टहरूको भिडिओ बनाएर सामाजिक सञ्जाल प्लेटफर्ममा राखेका छन् । त्यहाँ नेपालको दाबी गरिएको एयरक्राफ्टको विभिन्न भिडिओहरू बनाएर अपलोड गरेको देख्न सकिन्छ । त्यही भिडिओलाई नेपालको भन्दै भन्दै गलत प्रचार गरिएको हो ।

निष्कर्ष

सामाजिक सञ्जालमा ‘बर्दियाका १८ वर्षीय युवा वीरेन्द्र विकले विमान (एयरक्राफ्ट) बनाएर उडाएको' भन्दै भाइरल भइरहेको भिडिओ र दाबी भ्रामक रहेको पुष्टि भएको छ । यो बङ्गलादेशको भिडिओलाई नेपालको भनेर झुटो प्रचार गरिएको हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्सयुट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८२ ११:५९