close

टेकपाना फ्याक्टचेक: के प्रचण्ड भाइरल फोटोमा जस्तै सहिदहरूको स्मृतिमा भक्कानिएर रोएकै हुन् ?

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ १३, २०८२ ११:५६

टेकपाना फ्याक्टचेक: के प्रचण्ड भाइरल फोटोमा जस्तै सहिदहरूको स्मृतिमा भक्कानिएर रोएकै हुन् ?

काठमाडौँ । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिवारलाई सम्झिएर रोएको दाबी सहित एक फोटो भाइरल भइरहेको छ । फोटोमा प्रचण्डले फूलको माला चढाएको र उनी डाँको छाडेर रोइरहेको जस्तो अवस्थामा देखिन्छन् । 

टेकपानाको तथ्यजाँचबाट प्रचण्ड रोएको देखिने तस्बिर एआईबाट तयार भएको देखिएको छ । रुकुम पूर्वमा सहिद परिवारलाई प्रचण्डले भेट गरेको समयको तस्बिरलाई एआई टुलहरूको प्रयोग गरेर डाँको छाडेर रोएको जस्तो बनाएको पाइएको हो । 

दाबी 

इन्स्टाग्राम प्रयोगकर्ता  ‘najnepal’ ले प्रचण्ड रोएको देखिने तस्बिर सहितको पोस्ट गरेको छ । तस्बिरमा प्रचण्डले निलो टोपी र निधारमा रातो अबिरको टीका लगाएका छन् । उनको हातमा महिलाको तस्बिर छ भने तस्बिरको वरिपरि सयपत्रीको माला चढाइएको छ । उक्त पोस्टमा भनिएको छ, “सहिदहरूको स्मृतिमा रुकुममा प्रचण्ड भावुक बने, आँखाबाट आँसु झरे🥲” । पोस्टमा यो सामग्री तयार पार्दा सम्म १३ सय बढि लाइक र २५६ ओटा कमेन्ट गरिएको छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

अनुसन्धान 

इन्स्टाग्राम प्रयोगकर्ता ‘merobibas’ ले पनि सोही दाबी सहित पोस्ट गरेका छन् । पोस्टको क्याप्सनमा लेखिएको छ, "रुकुम पूर्वमा पुगेर प्रचण्ड सहिदलाई परिवारलाई सम्झेर रोए😭" पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 




 

 

'NAJ Entertainment' ले २४ जनवरी बिहान १०:०४ मा प्रचण्डले रुकुममा भावुक हुँदै आशु झारेको दाबी सहित पोस्ट शेयर गरेको छ । उक्त पोस्टमा लेखिएको छ, “सहिदहरूको स्मृतिमा रुकुममा प्रचण्ड भावुक बने, आँखाबाट आँसु झरे🥲” 

हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

फेसबुक पेज ‘GenZ Nepal’ ले पनि सोहि दाबिसहित उक्त तस्बिर सार्वजनिक गरेको छ । उक्त स्टाटसमा लेखिएको छ, “सहिदहरूको स्मृतिमा रुकुममा प्रचण्ड भावुक बने, आँखाबाट आँसु झरे🥲🥲” हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।  




 

सामाजिक सञ्जालमा प्रचण्ड रोएको देखिने तस्बिरमा उनको रुवाई अस्वाभाविक जस्तो देखिएपछि हामीले एआई निर्मित तस्बिर हुनसक्ने आशङ्का गर्‍यौँ । त्यसपछि हामीले प्रचण्डको उक्त तस्बिरलाई एआई डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ मा राखेर जाँच गर्‍यौँ । हाइभ मोडेरेसनले उक्त तस्बिर ९९ प्रतिशत एआई म्यानुपुलेट रहेको देखाएको छ । 

 

त्यसपछि हामीले गुगल सिन्थ-आईडी डिटेक्सन टुलमा उक्त तस्बिर गुगलका एआई टुलबाट तयार भए/नभएको जाँच गर्‍यौँ । जाँच गर्दा उक्त तस्बिर गुगलको एआई टुल प्रयोग गरेर तयार पारेको देखियो ।  

 

त्यसपछि हामीले उक्त तस्बिरको वास्तविकता पत्ता लगाउने कोसिस गर्‍यौँ । सामाजिक सञ्जालमा खोज्ने क्रममा ‘GM Post’ नामक फेसबुक पेजले शहीद परिवारलाई प्रचण्डले भेटेको उल्लेख गर्दै सार्वजनिक गरेको भिडि‌ओ फेला पर्‍यो । २१ जनवरी दिउँसो ४:२४ मा सार्वजनिक गरेको उक्त भिडिओको स्टाटसमा लेखिएको छ, “प्रचण्ड ले शहिद परिवार लाइ भेट्दा भावुक बन्यो माहोल।🥲Rukum East” 

उक्त भिडि‌ओको बिचमा प्रचण्ड भाइरल फोटोमा जस्तै सयपत्री मालाको हार चढाएको महिलाको तस्बिर भएको फ्रेम हातमा लिएको अवस्थामा देखिन्छन् । तर उनी भाइरल तस्बिरमा देखिएको जस्तो भावुक मुद्रामा भने देखिएका छैनन् । 

 

त्यसपछि हामीले ‘रुकुम पूर्व प्रचण्ड शहीद परिवार’ किवर्ड राखेर गुगल एड्भान्स सर्च गर्‍यौँ । यसरी सर्च गर्दा ७ माघ (२१ जनवरी)मा रासस (राष्ट्रिय समाचार समिति) को बाइलाइनमा अनलाइन न्युज पोर्टल ‘रातोपाटी’ ले सार्वजनिक गरेको समाचार फेला पर्‍यो । समाचारको शीर्षक छ, “संयोजक ‘प्रचण्ड’ सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त” 

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिवार र मतदातासँगको भेटघाट गरेको समाचारमा उल्लेख छ । 

समाचारमा लेखिएको छ, “संयोजक दाहालले सिस्ने गाउँपालिका–५ रुमालबारास्थित ‘जनयुद्ध’का सहिद परिवारजनसँग घरमै पुगेर भेटघाट गरे । सहिद सीता घर्तीकी आमा सावित्रीले जनयुद्धका नायक रुकुमपूर्वबाट प्रतिनिधिसभामा उम्मेदवार बन्दा सिङ्गो रुकुमेली जनता उत्साहित बनेको बताए ।” हेर्नुहोस् पोस्ट र स्क्रनिशट ।  समाचारमा प्रचण्ड भाइरल तस्बिरमा भएको लुगामा नै देखिएका छन् । 

दाबी 

रुकुम पूर्वमा पुगेर प्रचण्ड शहीद परिवारलाई सम्झेर भक्कानिएर रोए । 

दाबीकर्ता 

‘najnepal’, ‘merobibas’, 'NAJ Entertainment', ‘GenZ Nepal’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता

तथ्य 

रुकुमपूर्वमा शहीद परिवारलाई भेट्न प्रचण्ड गएका थिए । त्यही बेलाको तस्बिरलाई एआईबाट तोडमोड गरेर शहीदलाई सम्झिएर भक्कानिएर रोएको जस्तो देखिने गरी तयार पारिएको छ । 

निष्कर्ष 

रुकुम पूर्वमा शहीद परिवारलाई भेट्ने क्रममा प्रचण्ड शहीदलाई सम्झिएर भक्कानिएर रोएको दाबी सहितको फोटो भ्रामक हो । उक्त फोटो बनाउन गुगलको एआई टुल प्रयोग भएको टेकपानाको तथ्यजाँचबाट देखिएको छ । 

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८२ ११:५८