close

अब काठमाडौँ महानगरका विद्यालय शिक्षक, कर्मचारी र विद्यार्थी सबैका लागि विद्युतीय हाजिरी अनिवार्य

टेकपाना टेकपाना

माघ १४, २०८२ ११:४१

अब काठमाडौँ महानगरका विद्यालय शिक्षक, कर्मचारी र विद्यार्थी सबैका लागि विद्युतीय हाजिरी अनिवार्य

काठमाडौँ । सामुदायिक विद्यालयका सम्पूर्ण हाजिरी सात दिनभित्र पूर्ण रूपमा डिजिटल बनाउन काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्देशन दिएकी छिन् । मङ्गलबार शिक्षा विभागका अधिकारीसँग छलफलका लागि बसेको बैठकका क्रममा उनले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको हाजिरी पूर्ण रूपमा डिजिटल बनाउन निर्देशन दिएकी हुन् । 

शिक्षा विभाग तथा सूचना प्रविधि विभागलाई यसको तयारी थाल्न निर्देशन दिँदै उनले भनिन्, “नियमितता विद्यार्थीको मात्र होइन, शिक्षक र कर्मचारीको  पनि चाहिन्छ । दिवा खाजालाई डिजिटल हाजिरीसँग आबद्ध गराउनु पर्छ ।”

एसईई परीक्षा पनि नजिक आउन थालेको भन्दै गएको वर्ष प्राप्त नतिजा क्रमशः सुधार गर्दै लैजान तयारी गर्नुपर्ने उनको भनाइ छ । उनले थपिन्, “तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक र कक्षा थप लगायत आवश्यक पर्ने कुनै पनि काममा कमजोरी हुन नदिनु । तथ्यले नतिजामा सुधार देखिनुपर्छ । यसमा छुट सुविधा कसैलाई हुँदैन ।”

शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार हाल महानगरका सबै विद्यालयहरूमा शिक्षकहरूको डिजिटल हाजिरी हुँदै आएको छ । अब कार्यवाहक प्रमुखको निर्देशन अनुसार कर्मचारी, विद्यार्थी र दिवा खाजालाई डिजिटल हाजिरीमा लैजाने उनले बताए । यस्तै डिजिटल हाजिरीलाई महानगरस्थित शिक्षा विभागबाट हरेक दिन निरीक्षण गर्ने गरी प्रणालीको विकास गर्ने तयारी समेत थालिएको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: माघ १४, २०८२ १२:८