साओमीले ल्यायो स्मार्टफोनभन्दा पातलो वायरलेस पावर बैङ्क, तौल जम्मा ९८ ग्राम
माघ १८, २०८२ ११:३
काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी साओमीले आफ्नो अत्यन्तै पातलो र शक्तिशाली अल्ट्राथिन म्याग्नेटिक पावर बैङ्क विश्व बजारमा सार्वजनिक गरेको छ । सुरुमा जापानमा सार्वजनिक गरिएको यो वायरलेस पावर बैङ्क अब अन्य देशमा समेत उपलब्ध हुने भएको हो ।
यो पावर बैङ्कको सबैभन्दा मुख्य आकर्षण यसको बनावट हो । यसको मोटाइ मात्र ६ मिलिमिटर मात्र छ, जसले गर्दा यो बजारमा उपलब्ध प्रायः सबै स्मार्टफोनहरू भन्दा पनि पातलो देखिन्छ । यसको तौल केवल ९८ ग्राम छ, जसले गर्दा यो खल्तीमा बोक्न वा फोनमा टाँसेर प्रयोग गर्न निकै हलुका र सहज हुन्छ ।
यस पावर बैङ्कमा ५,००० एमएएच क्षमताको ब्याट्री रहेको छ । चार्जिङ क्षमताको कुरा गर्नुपर्दा यसले वायरलेस माध्यमबाट १५ वाटसम्मको पावर प्रदान गर्छ ।
जसले साओमी, सामसङ र गुगल पिक्सेल जस्ता एन्ड्रोइड फ्ल्यागशिप फोनहरूमा यसले पूर्ण क्षमतामा वायरलेस चार्जिङ सपोर्ट गर्छ । तर, प्राविधिक कारणले गर्दा आईफोन प्रयोगकर्ताहरूका लागि भने यो ७.५ वाटमा मात्र सीमित हुनेछ ।
यदि केबल प्रयोग गरेर चार्ज गर्नुपरेमा यसमा रहेको यूएसबी-सी पोर्टमार्फत २२.५ वाटसम्मको फास्ट चार्जिङ सुविधा प्राप्त गर्न सकिनेछ । यो पावर बैङ्कमा एक शक्तिशाली म्याग्नेटिक रिङ प्रयोग गरिएको छ, जसले गर्दा यो आईफोन र पिक्सेल १० सिरिज जस्ता उपकरणहरूमा सुरक्षित रूपमा टाँसिन्छ ।
हाल बेलायतमा यसको मूल्य ४९.९९ पाउन्ड (करिब १० हजार रुपैयाँ) तोकिएको छ । युरोपका अन्य भागहरूमा पनि यसको बिक्री सुरु भइसकेको छ भने साओमीले अन्य क्षेत्रहरूमा पनि क्रमशः यसलाई उपलब्ध गराउने योजना बनाएको छ ।
विशेष गरी यात्रा गरिरहने र धेरै भारी सामान बोक्न नचाहने प्रयोगकर्ताहरूका लागि यो एउटा उत्कृष्ट विकल्प हुने देखिएको छ । साओमीले यस उत्पादनमार्फत पातलो डिजाइन र कार्यक्षमतालाई एकैसाथ जोड्ने प्रयास गरेको छ ।
पछिल्लो अध्यावधिक: माघ १८, २०८२ ११:३
