close

फ्याक्टचेक: के गगन थापाले ‘काँग्रेस गरिब र सुकुम्वासीको पार्टी होइन’ भनेका हुन् ?

टेकपाना टेकपाना

माघ २२, २०८२ २३:१६

फ्याक्टचेक: के गगन थापाले ‘काँग्रेस गरिब र सुकुम्वासीको पार्टी होइन’ भनेका हुन् ?

काठमाडौँ । सामाजिक सञ्जालमा नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेसलाई गरिब र सुकुम्वासीको पार्टी नभएको भन्दै भाषण गरेको भिडिओ भाइरल भइरहेको छ । टेकपानाको तथ्यजाँचबाट उक्त भिडिओ तीन वर्ष पुरानो रहेको पाइएको छ । प्रतिनिधि सभा निर्वाचन २०७९ को चुनाव नजिकिँदै गरेको समयमा गगनले काँग्रेसलाई ‘गरिब नै राख्ने पार्टी होइन, गरिबलाई हुनेखाने बनाउने पार्टी’ भन्ने अर्थमा उदाहरणसहित व्याख्या गरेको भिडिओको सानो अंशलाई लिएर भ्रम फैलाइएको पुष्टि भएको छ ।

दाबी 

३ फेब्रुअरीमा फेसबुक प्रयोगकर्ता ‘Krishna Khatri’ ले गगन थापाले काँग्रेस गरिब र सुकुम्बासीको पार्टी नभएको भन्दै भाषण दिएको भिडिओ राखेका छन् । भिडिओको क्याप्सनमा उनले लेखेका छन्  “काङ्रेस गरिबको पाटी होइन काङ्रेस सुकुमबासी को पाटी होइन काङ्रेस त.................. ” 

उक्त पोस्टमा यो सामग्री तयार पार्दासम्म सात हजार १०० बढी रियाक्सन छ भने ४२ सयभन्दा धेरै पटक शेयर गरिएको छ । भिडिओलाई पाँच लाख १९ हजारभन्दा धेरै पटक हेरिएको छ । भिडिओमा गगन थापा गलामा सयपत्रीको माला, नेवारी पोसाकमा देखिएका छन् । जहाँ उनले भनेका छन्,“काँग्रेस गरिबको पार्टी होइन । काँग्रेस सुकुम्वासीको पार्टी होइन । काँग्रेस हुनेखानेको पार्टी, काँग्रेस गाडी घोडा हुनेको पार्टी, जग्गा जमिन हुनेको पार्टी ।”  हेर्नुहोस् ओरिजिनल पोस्ट, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

अनुसन्धान

३ फेब्रुअरी २०२६ मा ‘Gokul Chapagain’ नामका फेसबुक प्रयोगकर्ताले पनि गगनको सोही भिडिओ सामाजिक सञ्जालमा राखेको फेला पर्‍यो । भिडिओ पोस्टको स्टाटसमा लेखिएको छ, ‘यस्ता धुर्त फटालाई पनि भोट दिन्छौ यो चण्डाल हो। यसले मान्छेलाई मुनिपुलेट गर्न  सबै जानेको छ।’ हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

हामीले सामाजिक सञ्जालमा गगन थापाको उक्त भिडिओ भाइरल भएको पाएपछि ‘गगन थापा’, ‘gagan thapa’ ‘गगन काँग्रेस’, ‘काँग्रेस गरिबको पार्टी’ लगायतका किवर्ड राखेर गुगल एड्भान्स सर्च गर्‍यौँ । खोजी गर्ने क्रममा ‘Hulak Sanchar’ युट्युब च्यानलबाट २९ अक्टोबर २०२२ मा सार्वजनिक भएको भिडिओ फेला पर्‍यो । ‘गगन थापाको गर्जन:एमाले त पछारियो पछारियो,कपनको खोला पुरेर घर बनाउने माफियाले मलाइ गिज्याउदै छन Gagan’ शीर्षकमा सार्वजनिक भिडिओमा गगन भाइरल भिडिओमा जस्तै नेवारी पोसाकमा देखिएका छन् । उक्त भिडिओ २३ मिनेट १६ सेकेन्ड लामो छ । 

जहाँ गगनले पहिले अन्य कुनै कार्यक्रममा आफूले काँग्रेसलाई ‘गरिबको पार्टी होइन’ भन्ने बोलेको विषयमा पूरा सन्दर्भ नराखी पार्टीका अन्य व्यक्तिहरूलाई अल्मल्याउने काम गरेको दाबी गरेका छन् । त्यसपछि उनले आफूले वास्तवमा भन्न खोजेको कुरालाई प्रस्ट पार्दै बोलेका छन् । भिडिओको ७:३६ देखि ८:५६ मिनेटसम्म गगनले गरिबको पार्टीको सन्दर्भबारे बोलेका छन् । हेर्नुहोस् भिडिओ । 

उनले भनेका छन्, “कोही साथी, एक जना साथी पनि नअलमलिनुस् । कतिपय साथीहरूलाई कहिलेकाहीँ, कहिलेकाहीँ, छास्सछुस्स, छास्सछुस्स को कोल्ले अलमल्याउने, भ्रम छरिदिने काम गर्छन् । यो ठाउँ त कस्तो हो भने, मैले पार्टीको थुप्रै कार्यक्रममा के भन्थेँ भने नेपाली काँग्रेस पार्टी भनेको मैले कुनै दिन नेतृत्व गर्न पाएँ भने म नेपाली काँग्रेस पार्टीलाई गरिबको पार्टी, सुकुम्वासीको पार्टी भन्ने परिचय नेपाली काँग्रेस पार्टीको राख्दिनँ । काँग्रेस गरिबको पार्टी होइन । काँग्रेस सुकुम्वासीको पार्टी होइन । काँग्रेस हुनेखानेको पार्टी, काँग्रेस गाडी घोडा हुनेको पार्टी, जग्गा जमिन हुनेको पार्टी । त्यसकारणले गर्दा, हुने खानेको पार्टीले के गर्छ ? जहिले पनि मान्छेलाई हुनेखाने बनाउन खोज्छ । जग्गा जमिन भएको पार्टीले के गर्छ? जग्गा जमिन हुनेको पार्टीले जग्गा नभएको सुकुम्वासीलाई भूमिहीनलाई जग्गाको पुर्जा दिन चाहन्छ । किन ? पुर्जा दियो भने त्यो जग्गावाला हुन्छ, जग्गावाला भयो भने ऊ काँग्रेस हुन्छ। त्यसकारणले गर्दा भनेर मैले भनेथेँ । चुनावको बेलामा यसो यहाँ घुम्दैघुम्दै आएको त पछाडिको लाइन त उडेछ । काँग्रेस गरिबको पार्टी होइन, सुकुम्वासीको पार्टी होइन भन्ने मात्र राखेर यहाँ भिडिओ देखाइरा छन् साथीहरूले । यो त्यस्तो हल्ला गर्ने ठाउँ हो, मेरो पछाडिको भागै छैन ।  त्यसैले यो हल्ला गर्ने ठाउँमा कल्ले कुनामा बसेर के हल्ला गर्छ भन्ने कुराको पछाडि एक जना साथी पनि कोही पनि अलमलिने होइन ।”

‘गठबन्धनले चुनाव जितिसक्यो, ५ वर्ष हामी पाँचै दल एकै ठाउँमा उभिनुपर्छ: गगन थापा’ शीर्षकमा नेपालप्रेसले फेसबुकमा २६ अक्टोबर, २०२२ मा गगन थापाको भिडिओ सार्वजनिक गरेको फेला पर्‍यो । भिडिओमा थापाको कपडा र हाल भाइरल भइरहेको भिडिओको कपडा उस्तै छ ।

‘गठबन्धन विजयी हुन्छ : गगन थापा’ शीर्षकमा सोही दिन (२६ अक्टोबर) इमेजखबरले विनिता सुवेदीको बाइलाइनमा अहिले भाइरल भिडिओमा देखिएको गेटअप भएको गगनको फोटो सहितको समाचार प्रकाशित गरेको फेला पर्‍यो ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन ४ मंसिर (२० नोभेम्बर) २०७९ मा भएको थियो । गगन थापाको भिडिओ २६ अक्टोबर २०२२ (९ कात्तिक २०७९) देखि सामाजिक सञ्जालमा देखिएको छ । त्यसैले थापाले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा चुनावको प्रचारप्रसारका क्रममा उक्त भाषण दिएको निष्कर्षमा पुग्यौँ । 

दाबी 

नेपाली काँग्रेसका सभापति गगन थापाले ‘काँग्रेस गरिब, सुकुम्वासीको पार्टी होइन’ भने । 

दाबी‍कर्ता

‘Krishna Khatri’, ‘Gokul Chapagain’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य

हाल भाइरल भइरहेको गगन थापाको भिडिओ क्लिप २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनका बेला गरिएको चुनाव प्रचारप्रसारको समयको हो । सो समयमा भाषण दिने क्रममा उनले ‘कांग्रेस गरिब, सुकुम्वासीको पार्टी होइन’ भन्ने वाक्य प्रयोग गरेका थिए । तर, उनको पूर्ण भाषणबाट एउटा सानो अंश मात्र निकालेर वास्तविक सन्दर्भ नै बिग्रिने गरी भिडिओ भाइरल गराइएको पाइएको छ । वास्तवमा उनले कांग्रेसलाई ‘गरिबलाई गरिब नै बनाइराख्ने होइन, बरु उनीहरूलाई सम्पन्न (हुनेखाने) बनाउने पार्टी’ का रूपमा उदाहरणसहित व्याख्या गरेका थिए ।

निष्कर्ष

नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेस गरिब, सुकुम्वासीको पार्टी होइन भनेको दाबी सहितको भिडिओ भ्रामक हो । भाषणको पूरा सन्दर्भलाई हटाएर एउटा सानो क्लिप मात्र राखेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको हो । 

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ २२, २०८२ २३:१७