फ्याक्टचेकः रातोपाटीसहित अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले भने जस्तो आरजु राणालाई अख्तियारले प्रतिवादी बनाएको छैन
असार ९, २०८३ २२:४०
काठमाडौँ । सोमबार ‘रातोपाटी डटकम’ले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई अख्तियारले विशेष अदालतमा प्रतिवादी बनाएको दाबी गर्दै समाचार सम्प्रेषण गरेको छ । उक्त अनलाइनमा प्रकाशित ‘राहदानी छपाइ प्रकरणः ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला’ शीर्षकको समाचारको एआई सारांशमा यस्तो दाबी गरिएको छ । यसबाहेक अन्य सामाजिक सञ्जालका पेज तथा अकाउन्टले पनि पूर्वमन्त्री राणालाई अख्तियारले प्रतिवादी बनाई आरोपपत्र दायर गरेको दाबी गरेका छन् ।
‘टेकपाना फ्याक्टचेक डेस्क’ले गरेको तथ्यजाँचबाट उक्त दाबी मिथ्या पुष्टि भएको छ । राहदानी छपाइ प्रकरणमा अख्तियारले १८ जना (१६ व्यक्ति र दुई कम्पनीकसहित त्यसका प्रतिनिधि)लाई प्रतिवादी बनाएको भए पनि त्यसमा पूर्वमन्त्री आरजु राणाको नाम कतै उल्लेख छैन ।
दाबी
सोमबार, ८ असार २०८३ बेलुका ४ः५० रातोपाटी डटकमले ‘राहदानी छपाइ प्रकरणः ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला’ शिर्षकमा समाचार प्रकाशन गर्यो । सो समाचारमा रहेको सारांश सेक्सनमा तीन ओटा बुँदा छन् । त्यसको पहिलो नम्बरमा लेखिएको छ, “राहदानी छपाइ प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई अख्तियारले विशेष अदालतमा प्रतिवादी बनाएको छ ।”
यो बाहेक, समाचारभित्र भने आरजु राणा देउवालाई अख्तियारले प्रतिवादी बनाएको कतै उल्लेख छैन । उनी परराष्ट्रमन्त्री हुँदा विद्युतीय राहदानी छपाइको ठेक्का स्वीकृत भएको प्रसंग समाचारमा उल्लेख छ । यो सामग्री तयार पार्दासम्म उक्त समाचार ३७०० भन्दा बढी पटक शेयर भएको देखिएको छ । हेर्नुहोस् ओरिजिनल समाचार, आर्काइभ र स्क्रिनशट ।

अनुसन्धान
टेकपाना फ्याक्टचेक डेस्कले आरजु राणा देउवालाई प्रतिवादी बनाइएको दाबीसहित राखेका पोस्ट खोज्न ‘कीवर्ड सर्च मेथड’ प्रयोग गर्यो । त्यस क्रममा ‘The Immigration’ नामको फेसबुक पेजले आरजु राणाको फोटो राख्दै सोही दाबी गरेको छ । उक्त पेजले क्याप्सनमा लेखेको छ, “राहदानी छपाइ प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई अख्तियारले विशेष अदालतमा प्रतिवादी बनाएको छ ।” यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ३७८ रियाक्सन, तीन ओटा कमेन्ट आएका छन् भने १७ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको समर्थन गर्ने नाममा खोलिएको ग्रुपमा ‘Yamraj Bhattarai’ नामका प्रयोगकर्ताले पनि अख्तियाले आरजु राणा देउवासहित १८ जनालाई प्रतिवादी बनाएर आरोपपत्र दर्ता गरिएको दाबी गरेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

त्यसैगरी ‘Routine of Khadi’ नामको फेसबुक पेजले पनि अख्तियाले आरजु राणालाई प्रतिवादी बनाएको दाबी गरेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

‘Janaboli TV’ नामको फेसबुक पेजले पनि ‘आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा चलाउने निर्णय भएको र अख्तियार विशेष अदालतमा गएको’ दाबी गरेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

यी बाहेक अन्य दर्जनौं फेसबुक अकाउन्ट तथा पेजले आरजु राणाविरुद्ध सोमबार अख्तियारले विशेष अदालत आरोपत्र दायर गरेको दाबी गरेका छन् ।
टेकपाना फ्याक्टचेक डेस्कलाई यसबारे तथ्यजाँचका लागि इनबक्स र ईमेलमा विभिन्न प्रयोगकर्ताले अनुरोध गरेका थिए ।
यसबारे तथ्यजाँच गर्नका लागि सबैभन्दा पहिले अख्तियारले आरोपपत्र दर्ता गरेको विषय खोज्यो । त्यस क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ८ असार २०८३ मा आफ्नै आधिकरिक वेबसाइटमा प्रेस विज्ञप्ति राखेको फेला पार्यो । त्यसमा प्रेस विज्ञप्तिको पीडीएफ फाइल पनि राखिएको छ । हेर्नुहोस् पीडीएफ फाइल । उक्त विज्ञप्तिमा राहदानी विभाग, परराष्ट्र मन्त्रालय र विदेशी कम्पनी र त्यसका प्रतिनिधिलाई प्रतिवादी बनाइएको छ ।

परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल, तत्कालीन उपचिव भेषप्रसार भुर्तेल र तत्कालीन उपसचिव पुस्करराज नेपालाई प्रतिवादी बनाइएको उक्त विज्ञप्तिमा उल्लेख छ ।
कुनै पनि मुलधारका सञ्चार माध्यमले आरजु राणालाई प्रतिवादी बनाएर आयोगले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको उल्लेख गरेका छैनन् ।
यी तथ्यबाट पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा प्रतिवादी बनाएर आरोपपत्र दायर गरेको भन्ने दाबी मिथ्या पुष्टि हुन्छ ।
दाबी
राहदानी छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई विशेष अदालतमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
दाबीकर्ता
रातोपाटी डटकम: (८ असार २०८३ मा प्रकाशित ‘राहदानी छपाइ प्रकरणः ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला’ शीर्षकको समाचारको एआई सारांश खण्डमा) ।
विभिन्न फेसबुक पेज तथा प्रयोगकर्ताहरू: 'The Immigration', 'Routine of Khadi', 'Janaboli TV' नामका फेसबुक पेजहरू र 'Yamraj Bhattarai' नामका फेसबुक प्रयोगकर्ता लगायत अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ असार २०८३ मा सार्वजनिक गरेको आधिकारिक प्रेस विज्ञप्ति अनुसार राहदानी छपाइ प्रकरणमा १८ जना (१६ व्यक्ति र दुई कम्पनीका प्रतिनिधि) विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
उक्त विज्ञप्ति र आरोपपत्रमा परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल, भेषप्रसाद भुर्तेल र पुस्करराज नेपाल लगायतलाई प्रतिवादी बनाइएको छ, तर पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको नाम प्रतिवादीको सूचीमा कतै उल्लेख छैन ।
मुलधारका सञ्चार माध्यमहरूका अनुसार अख्तियारले ई-पासपोर्स सम्बन्धी प्रकरणमा आरजु राणा देउवालाई बयानका लागि मात्र बोलाइएको थियो, तर अदालतमा दायर गरिएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन ।
निष्कर्ष
पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई अख्तियारले प्रतिवादी बनाई विशेष अदालतमा आरोपपत्र दायर गर्यो भन्ने दाबी मिथ्या हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: असार ९, २०८३ २३:११
