काठमाडौँ । प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलको माउ संस्था अल्फाबेटको वार्षिक आम्दानीले इतिहासमै पहिलो पटक ४०० अर्ब डलर (नेपाली रुपैयाँमा ५७७ खर्बभन्दा बढी) को आँकडा पार गर्दै नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सार्वजनिक गरिएको सन् २०२५ को वार्षिक प्रतिवेदन अनुसार एआई उत्पादनहरूको बढ्दो माग र क्लाउड व्यवसायमा आएको उछालले कम्पनीलाई यो उचाइमा पुर्याएको हो ।
अल्फाबेटले सन् २०२५ मा कुल ४०२.८ अर्ब डलर वार्षिक आम्दानी गरेको छ । चौथो त्रैमासिकमा मात्रै कम्पनीले ११३.८ अर्ब डलर आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतको वृद्धि हो । कम्पनीको प्रति सेयर आम्दानी पनि अनुमान गरिएको १०.६३ डलरको तुलनामा १०.८१ डलर पुगेको छ ।
यस सफलतासँगै अल्फाबेटको बजार पूँजीकरण (Market Cap) ४ ट्रिलियन डलर पुगेको छ । यस्तो सफलता पाउने यो विश्वकै चौथो कम्पनी बनेको छ, जसमा एनभिडिया, माइक्रोसफ्ट र एप्पल मात्र यसअघि सामेल थिए । हाल अल्फाबेट विश्वको दोस्रो ठुलो कम्पनीको रूपमा एनभिडियासँग कडा प्रतिस्पर्धामा रहेको देखिन्छ ।
कम्पनीको वृद्धिको मुख्य श्रेय गुगल क्लाउड र युट्युबलाई दिइएको छ । गुगल क्लाउडको आम्दानी ४८ प्रतिशतले बढेर १७.७ अर्ब डलर पुगेको छ । त्यसैगरी, युट्युबले विज्ञापन र सब्सक्रिप्सनमार्फत वार्षिक ६० अर्ब डलरभन्दा बढी आम्दानी गरेको छ । अल्फाबेटका सीईओ सुन्दर पिचाईका अनुसार युट्युब अझै पनि 'नम्बर वन स्ट्रिमर' को रूपमा रहेको छ । हाल कम्पनीसँग गुगल वान र युट्युब प्रिमियम गरी ३२५ मिलियन (३२.५ करोड) भन्दा बढी सशुल्क प्रयोगकर्ताहरू रहेका छन् ।
नोभेम्बरमा सार्वजनिक गरिएको जेमनाई ३ मोडेलले एआई बजारमा गुगलको पकड बलियो बनाएको छ । जेमनाई एपका प्रयोगकर्ताहरूको सङ्ख्या ७५० मिलियन (७५ करोड) पुगेका छन्, जुन पछिल्लो केही महिनामा मात्रै १०० मिलियनले बढेको हो ।
विशेष कुरा के छ भने एप्पलको सिरीलाई थप व्यक्तिगत र शक्तिशाली बनाउन जेमनाई ३ कै एउटा संस्करण प्रयोग गरिने भएको छ । यसका साथै, गुगलले आफ्नै एआई चिप आइरनवुड (Ironwood) विकास गरेर एनभिडियासँगको प्रतिस्पर्धालाई थप बढाएको छ । गुगल सर्चमा पनि एआई मोडको प्रयोग दोब्बर भएको र आगामी दिनमा कम्पनीले 'एजेन्टिक चेकआउट' जस्ता नयाँ फिचरहरू ल्याउने तयारी गरेको छ ।
एआईको बढ्दो मागलाई धान्न अल्फाबेटले सन् २०२६ मा आफ्नो पुँजीगत खर्च उल्लेख्य रूपमा बढाउने छ । सन् २०२५ मा १०५.७ अर्ब डलर खर्च गरेको कम्पनीले आगामी वर्ष १७५ देखि १८५ अर्ब डलर लगानी गर्ने लक्ष्य राखेको छ ।
पछिल्लो अध्यावधिक: माघ २३, २०८२ ९:२९
