close

सिंहदरबार जलाउन उक्साएको आरोपमा पक्राउ परेका गौतम एमाले कार्यकर्ता भएको दाबी अपुष्ट

टेकपाना टेकपाना

माघ २३, २०८२ २१:४३

सिंहदरबार जलाउन उक्साएको आरोपमा पक्राउ परेका गौतम एमाले कार्यकर्ता भएको दाबी अपुष्ट

काठमाडौँ । सिंहदरबारमा आगजनी गर्न उक्साएको अभियोगमा पक्राउ परेका व्यक्तिको राजनीतिक संलग्नताबारे प्रहरीले स्पष्टीकरण दिएको छ । पक्राउ परेका महेन्द्र गौतम नेकपा एमालेको कार्यकर्ता रहेको दाबी सामाजिक सञ्जालमा गरिए पनि प्रहरीले उक्त दाबी भ्रामक रहेको जनाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले गौतमको कुनै पनि राजनीतिक दलमा आबद्धता नदेखिएको पुष्टि गरेका छन् । सामाजिक सञ्जालमा उनी एमाले कार्यकर्ता रहेको भन्दै भाइरल भएका पोस्टबारे स्पष्ट पार्दै एसपी भट्टराईले भने, “ती व्यक्ति (महेन्द्र गौतम) को कुनै राजनीतिक पृष्ठभूमि वा दलगत संलग्नता छैन ।”

गत भदौ २४ गते भएको ‘जेन-जी’ विद्रोहका क्रममा सिंहदरबारमा आगजनी गर्ने अभिव्यक्ति दिने, अरूलाई उक्साउने र भीडलाई उत्तेजित बनाउने कार्यमा संलग्न रहेको आरोपमा गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवनको खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौँको अनामनगर बस्ने ३६ वर्षीय गौतमलाई बिहीबार नियन्त्रणमा लिइएको थियो । उनलाई काठमाडौँ जिल्ला अदालतबाट ‘आपराधिक उपद्रव गर्न नहुने कसुर’ अन्तर्गत ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

टेकपानाले गौतमको राजनीतिक पृष्ठभूमिबारे थप जानकारी खोज्न विभिन्न अनलाइन सञ्चार माध्यममा उनी पक्राउ परेका विषयमा तयार पारिएका समाचार विश्लेषण गर्‍यौं । कुनै पनि व्यवसायिक सञ्चार माध्यमले गौतमको राजनीतिक आवद्धताबारे खुलाएका छैनन् । उनका सामाजिक सञ्जाल अकाउन्टबाट विश्लेषण गर्न सकिने आधार भए पनि हामीले यो सामग्री तयार पार्दा उनको राजनीतिक आवद्धता स्वतन्त्र ढङ्गले पुष्टि गर्न सकेनौं ।

पछिल्लो अध्यावधिक: माघ २३, २०८२ २१:५३