close

फलोअर तान्न नेपाली गीतमा रिल्स राख्दै इन्टर मिलान, तर देखिंदैन नेपाल बाहिर भिडिओ

टेकपाना टेकपाना

माघ २४, २०८२ ९:१०

फलोअर तान्न नेपाली गीतमा रिल्स राख्दै इन्टर मिलान, तर देखिंदैन नेपाल बाहिर भिडिओ

काठमाडौँ । इटालीको विश्वचर्चित फुटबल क्लब इन्टर मिलानले बुधबार नेपाली क्याप्सन र गीतले सजिएको एउटा रिल्स आफ्नो फेसबुक पेजमा अपलोड गर्‍यो । तीन करोड ५० लाख बढी फलीअर भएको उक्त क्लबको फेसबुक पेजबाट क्याप्सनमा लेखिएको थियो, “सबैभन्दा महान: रोनाल्डो 'द फेनोमेनन' 👑 नेपालबाट थप सामग्रीका लागि हामीलाई पछ्याउनुहोस् ।”

भिडिओमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले लेखेको ‘आँखा झिम झिम झिम भो’ बोलको गीत थियो । नेपाली गीतलाई स्थान दिएको भन्दै नेपाली समर्थक हौसिए र उक्त रिल्समा कमेन्ट गरे । यो सामग्री तयार पार्दासम्म उक्त रिल्समा साडे २३ हजार बढी रियाक्सन, १७०० बढी कमेन्ट र एक हजार बढी पटक शेयर भएको छ । सो भिडिओमा कमेन्ट गर्ने सबै नेपाली छन् । नेपाली गीतलाई स्थान दिएको भन्दै गौरवान्वित भएका छन् । 

त्यसलाई पछ्याउँदै शुक्रबार उक्त पेजबाट नेपाली गीत भएको अर्को रिल्स अपलोड भयो । युजन शाक्यको बेबी बोलको नेवारी गीत उक्त रिल्समा प्रयोग गरियो । त्यसमा पनि नेपाली फेसबुक प्रयोगकर्ताले क्लबलाई धन्यवाद दिएका छन् । केहीले भने नेपाली गीतलाई विश्वस्तरको क्लबले महत्त्व दिएको भन्दै उत्साह व्यक्त गरेका छन् । 

तर, टेकपानाले जाँच्ने क्रममा उक्त भिडिओ नेपाल बाहिर नदेखिने गरेको पाइएको छ । टेकपानाले बेलायतको सर्भरमा एक्सेस गरेर उक्त लिङ्क खोज्दा भिडिओ उपलब्ध नरहेको पाएको हो । 

यो शैली नयाँ भने होइन । विश्वस्तरका फेसबुक पेजले कुनै निश्चित देशका अडियन्सलाई मात्र लक्षित गरेर पोस्ट राख्ने प्रवृत्तिलाई मुख्यतया ‘जियो-टार्गेटिङ’ (Geo-targeting) वा ‘लोकेसन टार्गेटिङ’ (Location Targeting) भनिन्छ ।

यसलाई मार्केटिङको भाषामा ‘लोकलाइजेसन’ वा ‘ग्लोकलाइजेसन’ (Glocalization - Global + Local) पनि भनिन्छ, जहाँ एउटा विश्वव्यापी ब्रान्डले स्थानीय स्तरमा आफ्नो उपस्थिति बलियो बनाउन खोज्छ । 

फेसबुकले पेज एडमिनलाई ‘अडियन्स प्रतिबन्ध’ (Audience Restrictions) वा ‘टार्गेटिङ’ को सुविधा उपलब्ध गराएको हुन्छ । यसको माध्यमबाट पोस्टलाई निश्चित भौगोलिक क्षेत्र वा समूहमा मात्र सीमित गर्न सकिन्छ । यस अन्तर्गत पोस्ट गर्ने समयमा ‘Public’ को सट्टा ‘Restricted Audience’ वा ‘Targeting’ अप्सन छानेर ‘नेपाल’ जस्ता निश्चित लोकेसन तोक्न सकिन्छ । यसो गर्दा उक्त पोस्ट नेपालमा रहेका प्रयोगकर्ताले मात्र देख्न सक्छन् भने बाँकी विश्वका मानिसहरूका लागि त्यो पूर्ण रूपमा अदृश्य हुन्छ । 

लोकेसनका साथै भाषाका आधारमा पनि टार्गेटिङ गर्न सकिने हुनाले नेपाली भाषा बोल्नेलाई मात्र पोस्ट देखाउन पनि सम्भव हुन्छ । फेसबुकले प्रयोगकर्ताको आईपी एड्रेस र मोबाइलको जीपीएस प्रयोग गरी उनीहरूको वास्तविक स्थान पत्ता लगाउने भएकाले यसै प्राविधिक आधारमा लक्षित अडियन्सलाई मात्र सामग्रीहरू देखाउने गर्दछ ।

यस प्रकारको ‘अडियन्स टार्गेटिङ’ गर्नुका पछाडि मुख्यतया इन्गेजमेन्ट बढाउने उद्देश्य रहेको हुन्छ । नेपाली प्रयोगकर्ता सामाजिक सञ्जालमा निकै सक्रिय रहने र आफ्नै भाषा वा परिवेशसँग सम्बन्धित सामग्रीमा बढी ‘रियाक्ट’, ‘कमेन्ट’ र ‘शेयर’ गर्ने हुनाले यसले पेजको समग्र रिच बढाउन मद्दत गर्छ । यसका साथै सामसङ, कोकाकोला वा नेटफ्लिक्स जस्ता ठूला अन्तर्राष्ट्रिय ब्राण्डले नेपाललाई नै लक्षित गरेर पोस्ट गर्दा नेपाली उपभोक्तामा ब्राण्डप्रति एक किसिमको अपनत्व र विश्वास बढ्छ । विशेषगरी नेपालमा नयाँ सामान, सेवा वा फिल्म रिलिजको प्रवर्द्धन गरी बजार विस्तार गर्न यो विधि निकै प्रभावकारी मानिन्छ । 

यस प्रविधिको प्रयोगले अनावश्यक स्पाम कम गर्न र डेटा विश्लेषण गर्न समेत महत्वपूर्ण सहयोग पुर्‍याउँछ । विश्वभरका फलोअर्स भएको पेजमा कुनै एउटा निश्चित देशको बारेमा मात्र सामग्री पोस्ट गरिरहँदा अन्य क्षेत्रका मानिसलाई झर्को लाग्न सक्छ । यस्तो अवस्थामा ‘जियो-टार्गेटिङ’ ले सामग्रीलाई सान्दर्भिक अडियन्ससम्म मात्र पुर्‍याई फिडलाई व्यवस्थित बनाउँछ । साथै यसका माध्यमबाट कम्पनीले नेपालका प्रयोगकर्ताको रुचि र व्यवहारबारे छुट्टै तथ्यांक संकलन गर्न सक्छन् । यसले गर्दा उनीहरूलाई नेपाली बजारमा स्थापित गर्न मद्दत मिल्छ ।

पछिल्लो अध्यावधिक: माघ २४, २०८२ १०:१८