जुम्लाकी महिलालाई गहना र डलरको प्रलोभन देखाई ३ लाख ठगी गर्ने बाराका २ युवक विरुद्ध मुद्दा
माघ २५, २०८२ १५:४३
साङ्केतिक तस्वीर
काठमाडौँ । जुम्ला जिल्ला सरकारी वकिलको कार्यालयले फेसबुकमार्फत महँगो उपहार र वैदेशिक मुद्रा पठाइदिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा बाराका दुई युवक विरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला अदालत जुम्लामा दायर मुद्दामा बारा जिल्ला, कलैया उपमहानगरपालिका वडा नम्बर ९ बस्ने २० वर्षीय साहिल हवारी र २५ वर्षीय सुरज साह प्रतिवादीहरू रहेका छन् ।
पीडित अस्मिता बोहोरालाई मिति १९ मङ्सिर २०८१ मा सन्नि (Sunny) नामक फेसबुक आईडीबाट साथी बन्ने अनुरोध आएको थियो । फेसबुकमा कुराकानी भएपछि ह्वाट्सएप मार्फत सम्पर्क बढाउँदै ती व्यक्तिले बोहोरालाई आफू विदेशमा रहेको र उनलाई सुनका गहना र १० हजार अस्ट्रेलियन डलर भएको पार्सल पठाइदिएको विश्वास दिलाए ।
त्यसपछि, उक्त पार्सल भन्सारमा रोकिएको र त्यसलाई छुटाउन भन्सार कर (Custom Tax) तिर्नुपर्ने भन्दै प्रतिवादीहरूले पीडितबाट पटक-पटक गरी कुल २ लाख ८४ हजार ७०० रुपैयाँ ठगी गरेको अभियोग पत्रमा उल्लेख छ ।
ठगी गरिएको रकम प्रतिवादीहरू साहिल हवारी र सुरज शाहको नाममा रहेका विभिन्न बैङ्क खाताहरूमा जम्मा गर्न लगाइएको थियो ।
रकम जम्मा गरे पनि उपहार नआएपछि आफू ठगिएको थाहा पाएकी बोहोराले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएकी थिइन् । प्रहरीको अनुसन्धान र सरकारी वकिल कार्यालयको अभियोग अनुसार प्रतिवादीहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (ठगी गर्न नहुने) बमोजिम मुद्दा दर्ता गरिएको छ । अभियोग पत्रमा प्रतिवादीहरूलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँसम्म जरिबाना, ठगी भएको कुल बिगो २ लाख ८४ हजार ७०० रुपैयाँ पीडितलाई भराई दिन र कानुन बमोजिम ब्याज समेत दिलाउन माग गरिएको छ ।
पछिल्लो अध्यावधिक: माघ २५, २०८२ १५:५०
