फ्याक्टचेकः रुकुममा रास्वपाका समर्थकको र्याली भन्दै एआई भिडिओ भाइरल
माघ २५, २०८२ १८:१७
काठमाडौँ । शनिबारदेखि सामाजिक सञ्जालमा रुकुमको र्याली भन्दै एउटा भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा घण्टी चिह्न अङ्कित निलो झण्डा बोकेका व्यक्ति मोटरसाइकलमा सवार भई नारा लगाइरहेका देखिन्छन् । टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त भिडिओ एआई सिर्जित रहेको पुष्टि भएको छ ।
दाबी
शनिबार, ७ फेब्रुअरी २०२६ राति १०ः३४ बजे ‘कर्णाली प्रदेश आचार्य’ नामक फेसबुक पेजबाट एक भिडिओ अपलोड भयो । भिडिओको क्याप्सनमा लेखिएको छ, “रुकुम मा प्रचण्ड लाई चुनाव जित्न असहज घण्टी जनलहर उग्र 🔔🔔🔔🇳🇵🇳🇵” । भिडिओमा एक युवकले र्याली जस्तो देखिने भिडिओ तलपट्टि राखेका छन् ।
र, माथिपट्टि आफू बोलेको भिडिओ राखेका छन् । उनले भनेका छन्, “प्रचण्ड चुनाव लडेको ठाउँ रुकुममा घण्टीको यो जनलहर देख्दा प्रचण्डको सातो गइसकेको छ । भिडिओ सक्दो शेयर गर्नुहोला । प्रचण्डको सातो मात्र होइन अब प्रचण्डको होसै उड्नु पर्यो । देशबाटै बाहिर जानुपर्यो प्रचण्डले अब । हिजो त्यही भएर नयाँ ति होइनन्, म हुँ भन्दै थिए चुनाव जित्नको लागि । प्रचण्ड सकिने भए अब रुकुमबाट ।”यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ८४०० बढी रियाक्सन र ३६१ कमेन्ट आएका छन् । ८४ हजार बढी भ्युज आएको सो भिडिओ १५०० भन्दा बढी पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनरेकर्ड ।
अनुसन्धान
टेकपाना फ्याक्टचेक डेस्कले ‘इनभिड वि-भेरिफाई’ टुलबाट किफ्रेम निकालेर ती तस्बिरलाई रिभर्स इमेज सर्च गरेर हेर्यो । त्यस क्रममा युट्युबमा ‘@Nepalimato’ युजरनेमको अकाउन्टले सोही भिडिओ ‘हिमाल पहाड तराई घण्टीमय’ क्याप्सनसहित अपलोड गरेको पाइयो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

फेसबुकमा ‘रुकुम रास्वपा’ किवर्ड खोज्दा फेसबुकमा सुरेन अधिकारी (ओरिजिनल र आर्काइभ), पीआर सुवाश (ओरिजिनल र आर्काइभ), नारायण कँडेल (ओरिजिनल र आर्काइभ), राज न्यौपाने (ओरिजिनल र आर्काइण) लगायतले सोही भिडिओ अपलोड गरेको पाइयो ।




डेस्कले थप अनुसन्धान गर्न किफ्रेम सर्च गर्दा फेसबुकमा ७ फेब्रुअरी दिउसो १ः२५ बजे ‘Shorts Nepal’ नामक फेसबुक पेजले ८ सेकेन्डको एक भिडिओ राखेको पाइयो । भिडिओको क्याप्सनमा ‘रुकुममा घण्टि समर्थक’ लेखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ७१ हजार बढी रियाक्सन र २३०० बढी कमेन्ट आएका छन् भने भिडिओमा १३ लाख बढी भ्युज छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

यही पेजबाट शनिबार ५ः२८ बजे ‘रुकुममा घण्टि समर्थक’ ख्याप्सन राखेर सोही भिडिओ अपलोड भएको देखियो । सो भिडिओमा १७ हजार बढी रियाक्सन र ३३९ ओटा कमेन्ट आएका छन् । २ लाख ३२ हजार बढी भ्युज रहेको सो भिडिओ ६७५ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

यसबाट भिडिओ सबैभन्दा पहिले राख्ने अकाउन्ट नै यही भएको देखियो । उक्त अकाउन्टले ह्याशट्यागमा ‘एआई’ उल्लेख गरेको छ । त्यसबाहेक भिडिओमा देखिएको घण्टीको लोगो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घण्टीको लोगो मेल खाँदैन ।

भिडिओलाई थप विश्लेषण गर्दा त्यहाँ स्पष्ट मान्छे र सवारी साधन छुट्टिँदैनन् । छेउमा देखिएका मान्छेको हिँडाई पनि अस्वाभाविक देखिन्छ । ४ सेकेन्डदेखि ६ सेकेन्डको बीचमा मान्छे भिडबाट लडेको जस्तो देखिन्छ । तर, झ्याप्पै बिलाउँछ । ड्रोन क्यामेराको शट जस्तो देखिन्छ, तर भिडिओ जुम आउट भइरहेको छ । यी सबै एआई भिडिओका सङ्केत हुन् । हेर्नुहोस् भिडिओः
हाइभ मोडरेसन टुलमा जाँच गर्दा सो भिडिओ ९९.९ प्रतिशत एआई सिर्जित हुनसक्ने देखियो ।
यी विभिन्न तथ्यबाट रुकुममा रास्वपाको समर्थनमा मोटरसाइकल र्याली भन्दै हजारौँले शेयर गरेको भिडिओ एआई सिर्जित तथा भ्रामक रहेको पुष्टि हुन्छ ।
दाबी
रुकुममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घण्टी’ चिन्ह अङ्कित झण्डासहितको विशाल जन लहर वा मोटरसाइकल र्याली निस्किएको छ ।
दाबीकर्ता
‘कर्णाली प्रदेश आचार्य’, ‘Shorts Nepal’, सुरेन अधिकारी, पीआर सुवाश, नारायण कँडेल, राज न्यौपाने लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
भिडिओलाई ‘हाइभ मोडरेसन’ टुलमा जाँच गर्दा ९९.९ प्रतिशत एआई सिर्जित भएको पाइयो । त्यस्तै भिडिओमा देखिएको घण्टीको लोगो रास्वपाको आधिकारिक लोगोभन्दा फरक छ । भिडिओमा मान्छेहरूको हिँडाइ अस्वाभाविक देखिन्छ र केही मान्छेहरू भिडबाट लडेको जस्तो देखिने बित्तिकै अचानक बिलाउँछन् । यो भिडिओ सबैभन्दा पहिले ‘Shorts Nepal’ नामको पेजले पोस्ट गरेको थियो, जसमा ह्यासट्यागमा ‘AI’ उल्लेख गरिएको छ ।
इनभिड वि-भेरिफाई टुल र रिभर्स इमेज सर्चबाट विश्लेषण गर्दा यो भिडिओ कुनै वास्तविक घटनाको नभई कृत्रिम रूपमा तयार पारिएको पुष्टि भयो ।
निष्कर्ष
रुकुममा रास्वपाको जन लहर भन्दै भाइरल भइरहेको भिडिओ एआईको सहायताले तयार पारिएको हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: माघ २५, २०८२ १८:२४
