डिजिटल म्यानिपुलेसन र भ्रमपूर्ण सूचना रोक्न ‘एआई सेल’ स्थापना गर्दै नेपाल प्रहरी
माघ २६, २०८२ २१:५०
काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एण्ड एड्भान्स्ड एनालिटिक्स सेल’ स्थापना गर्ने भएको छ । सोमबार राजधानीमा आयोजित ‘अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन् ।
आजको डिजिटल युगमा छिटो सूचना प्रवाह गर्ने प्रतिस्पर्धाका कारण समाजमा नकारात्मक असर परिरहेको तर्फ उनले सचेत गराए । “सबभन्दा छिटो सूचना दिने होडबाजीका कारण मिसइन्फर्मेसन, नियोजित रूपमा फैलाइने डिस्इन्फर्मेसन, डिपफेक र हेट स्पिच जस्ता समस्या बढेका छन्,” कार्कीले भने, “एआईको दुरुपयोग र डिजिटल म्यानिपुलेसनबाट सिर्जित झूटा सामग्रीहरू अहिले हामी सबैको साझा चिन्ताको विषय बनेको छ ।”
सञ्चार क्षेत्रमा बढ्दै गएको ‘कट-पेस्ट’ र ‘कपी-पेस्ट’ संस्कृतिको पनि उनले आलोचना गरे । यस्तो यान्त्रिकताले पत्रकारिताको सिर्जनशीलतालाई शून्य बनाउने उल्लेख गर्दै उनले भने, “कानुन कार्यान्वयन नै कानुनी शासनको आधार हो । समाचार सम्प्रेषण गर्दा राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरूले आफ्नो धर्मका रूपमा आत्मसात् गर्नुपर्छ ।”
डिजिटल माध्यमबाट हुने अवाञ्छित गतिविधिलाई निगरानी गर्न र कानुनी उपचार खोज्नका लागि प्रहरीले प्रविधिमैत्री संयन्त्र बनाउन लागेको उनले स्पष्ट पारे । “नेपाल प्रहरी अब एउटा ‘एआई एण्ड एड्भान्स्ड एनालिटिक्स सेल’ बनाएर काम गर्नुपर्छ भन्ने निचोडमा पुगेको छ,” उनले थपे ।
महानिरीक्षक कार्कीले यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमले सञ्चारकर्मी र सुरक्षा निकायबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने र आगामी दिनमा सही सूचना प्रवाहका लागि स्पष्ट मार्गदर्शन तयार गर्ने विश्वास समेत व्यक्त गरे ।
पछिल्लो अध्यावधिक: माघ २६, २०८२ २२:४२
