close

फ्याक्टचेक: एमाले उम्मेदवारले पैसा बाँड्दै भोट मागेको दाबीसहित भाइरल भिडिओ भ्रामक

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ २६, २०८२ २३:१८

फ्याक्टचेक: एमाले उम्मेदवारले पैसा बाँड्दै भोट मागेको दाबीसहित भाइरल भिडिओ भ्रामक

काठमाडौँ । नेकपा एमालेका उम्मेदवारले पैसा बाँड्दै स्थानीयसँग भोट मागेको दाबीसहितको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडिओ सुर्खेत क्षेत्र नं. २ का एमाले उम्मेदवार कुलमणि देवकोटाको भएको र उनले भोटका लागि स्थानीयलाई पैसा दिएको दाबी गरिएको छ । टेकपानाको तथ्यजाँचबाट उक्त दाबी भ्रामक रहेको पाइएको छ । घरदैलोका क्रममा उनले वितरण गरेको प्रचार सामग्रीलाई ‘नोट’ भन्दै भ्रामक रूपमा फैलाइएको तथ्यजाँचबाट पुष्टि भएको छ ।

दाबी

३० जनवरी दिउँसो ३:४१ मा भिडिओ सार्वजनिक गर्दै ‘Murari Nepal’ नामको फेसबुक प्रयोगकर्ताले एउटा भिडिओ सार्वजनिक गरेका छन् । भिडिओमा उनले लेखेका छन्, “एमाले पैसा बाड्दै भोट माग्दै” । 

भिडिओमा ढाका टोपी लगाएका एक पुरुषले स्थानीय महिलाहरूलाई आफ्नो परिचय दिइरहेको देखिन्छन् । उनले भनेका छन्, “म कुलमणि देवकोटा, चुनाव चिन्ह सूर्य हो । एमाले पार्टीबाट है ।” 

उनले हातमा रहेको कागज महिलातर्फ अघि बढाएका छन् । त्यसपछि महिलाले हातको पर्चामा हेर्दै यो घण्टी हो कि होइन भनेर प्रश्न गरेकी छिन् । उनले भनेकी छिन्, “यो घण्टी हो कि होइन मलाई सूर्य मन पर्या छैन ।” त्यसपछि उनले अन्य स्थानीय महिलासँग कुरा गरेकी छिन् तर स्पष्ट सुनिएको छैन । 

पुन: उनले एमाले उम्मेदवारतर्फ हेर्दै प्रश्न गरेकी छिन्, “तर अहिले मलाई घण्टी मन परिया थियो किन होला ।” भिडिओको अन्तिममा हातमा लिएको पर्चा देखाउँदै महिलाले भनेकी छिन्, “तर घण्टी मन परिया मात्र हो हाल्न त यहीँ  (सूर्यमा) हाल्नी हो म ।” भिडिओको गुणस्तर कम भएकाले महिलाको हातमा भएको वस्तु स्पष्ट देखिँदैन ।

‘Murari Nepal’ ले सार्वजनिक गरेको उक्त भिडिओमा एक लाख ४० हजार बढी भ्युज छ । भिडिओमा २७ सय बढीले रियाक्टका साथै यो सामग्री तयार पार्दा सम्म २०४ कमेन्ट र ४५५ पटक शेयर भएको छ । 

हेर्नुहोस् ओरिजिनल भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट ।

अनुसन्धान 

हामीले सोही दाबी सहितका सामाजिक सञ्जालमा अन्य पोस्टहरूको पनि खोजी गर्‍यौँ । खोजी गर्दा ‘Yadin Rai Revolation’ नामको फेसबुक अकाउन्टबाट जनताहरू अझै पनि पैसाका लागि मन परिवर्तन गरिरहेको दाबी सहित सोही भिडिओ राखेको फेला पर्‍यो । २९ जनवरी बिहान ६:२२ मा सार्वजनिक गरिएको भिडिओको क्याप्सनमा लेखिएको छ, “के भन्नू पैसाको अगाडि घन्टी मन परेको तर पैसा दियन भन्दै बिचरा एस्तो लाखौ जनता छ जो पैसाको लागि मन परिवर्तन गर्दैछ अझै कैले सम्म?” हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट । 

२९ जनवरी दिउँसो ३:२६ मा  ‘The Organic Voice’ नामको फेसबुक पेजबाट पनि पैसा बाँडेको दाबीसहित सोही भिडिओ शेयर भएको छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “पैसा बाड्न सुरु भयो है !” हेर्नुहोस् ओरिजिनल भिडिओको लिङ्क र स्क्रिनशट । 

सामाजिक सञ्जालमा उक्त भिडिओलाई एमालेले पैसा बाँड्यो भन्दै प्रचार गरेको पाइएपछि हामीले उक्त भिडिओ सामाजिक सञ्जालमा कहिलेदेखि भाइरल भएको रहेछ भनेर बुझ्ने प्रयास गर्‍यौँ । 

यसको सत्यता बुझ्न उम्मेदवार कुलमणि देवकोटाको आधिकारिक फेसबुक प्रोफाइल अध्ययन गर्‍यौँ । देवकोटा पछिल्लो समय सुर्खेत क्षेत्र नं. २ मा घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छ, तर उनको प्रोफाइलमा अहिले भाइरल भइरहेको भिडिओ फेला परेन ।

त्यसपछि भिडिओको स्क्रिनशट लिएर ‘गुगल रिभर्स इमेज सर्च’ मार्फत खोज गर्‍यौँ । यो भिडिओ जनवरीको अन्तिम सातादेखि नै भाइरल भएको रहेछ । भिडिओको वास्तविकता बुझ्न हामीले उच्च गुणस्तरको भिडिओबाट केही ‘किफ्रेम’ निकालेर विश्लेषण गर्‍यौँ ।

त्यसपछि हामीले अलि राम्रो क्वालिटी भएको भिडिओबाट किफ्रेम निकालेर विश्लेषण गर्‍यौँ । यसका लागि ‘HP Bishwokarma’ नामको फेसबुक अकाउन्टबाट सार्वजनिक भएको भिडिओलाई लिएका छौँ ।

किफ्रेम १: पुरुषले बसिरहेकी महिलालाई हातमा केही कागज दिइरहेको जस्तो देखिएको छ ।

किफ्रेम २: महिलाको हातमा ढाका टोपी लगाएको पुरुषले दिएको रातो र सेतो रङ मिसिएको कागज देख्न सकिन्छ ।

किफ्रेम ३: पुरुषको हातमा भएको कागजको पछाडिको भाग सेतो रङ (खाली) को देखिन्छ । महिलाको हातमा रहेको कागजमा ढाका टोपी लगाएको पुरुष स्पष्ट देखिएको छ ।

किफ्रेम ४: बसेको महिलाको हातमा कागजको पछाडि पट्टीको भाग सेतो अर्थात् खाली देखिएको छ ।

किफ्रेमहरूको विश्लेषणबाट हामी देवकोटाले पैसा नभई आफ्नो तस्बिर सहितको भिजिटिङ कार्ड जस्तो प्रचार सामग्री वितरण गरेको स्पष्ट भयौँ । 

दाबी

एमाले उम्मेदवारले पैसा बाँड्दै भोट मागे ।

दाबीकर्ता 

फेसबुक प्रयोगकर्ताहरू ‘Murari Nepal’ , ‘Yadin Rai Revolation’, ‘The Organic Voice’ सहित सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

भाइरल भिडिओमा देखिएका सुर्खेत-२ का एमाले उम्मेदवार कुलमणि देवकोटाले स्थानीयलाई पैसा बाँडेका होइनन् । भिडिओको मसिनो विश्लेषण गर्दा महिलाको हातमा देखिएको वस्तु पैसा नभई उम्मेदवारको तस्बिर भएको प्रचार कार्ड भएको पुष्टि हुन्छ । कार्डको एकातर्फ उम्मेदवारको तस्बिर छ भने अर्कोतर्फ सादा छ, जुन पैसाको नोटमा हुँदैन ।

निष्कर्ष

‘एमालेले पैसा बाँड्दै भोट माग्यो’ भन्ने दाबीका साथ सामाजिक सञ्जालमा फैलाइएको भिडिओ भ्रामक हो ।


 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ २६, २०८२ २३:१९