टेकपानाले ल्यायो सञ्चार माध्यमका निर्वाचन लक्षित समाचार एआई विश्लेषण गर्ने टुल ‘इलेक्सन पल्स’
माघ २७, २०८२ २०:३
काठमाडौँ । नेपालका प्रमुख अनलाइन सञ्चार माध्यमले निर्वाचन, राजनीतिक दल र उम्मेदवारका बारेमा सम्प्रेषण गरिरहेका समाचारको सन्तुलन र विश्वसनीयता जाँच गर्न टेकपानाले ‘इलेक्सन पल्स’ फिचर सुरु गरेको छ । निर्वाचनको समयमा सञ्चार माध्यमलाई थप जिम्मेवार बन्न, सन्तुलित समाचार लेखनमा प्रेरित गर्न र पाठकलाई विश्वसनीय सूचनाका आधारमा सुसूचित निर्णय लिन सघाउने उद्देश्यले यो विशेष पहल सुरु गरिएको हो ।
यसका लागि टेकपानाले विभिन्न सञ्चार माध्यममा प्रकाशित निर्वाचन केन्द्रित समाचारका लिङ्क वा सामग्रीलाई आफ्नो एनालाइजर टुलमा राख्ने गर्दछ । उक्त एआई टुलले निर्वाचन आयोगको आचारसंहिता र पत्रकारिताको स्थापित मान्यता एवं सिद्धान्तको आधारमा ती समाचारको स्वचालित रूपमा विश्लेषण गर्छ ।
एआईले समाचारमा पत्रकारिताका आधारभूत सिद्धान्त पालना भए/नभएको, सामग्री सन्तुलित रहे/नहेको, कुनै पार्टी वा व्यक्तिप्रति झुकाव राखे नराखेको र प्रयोग गरिएका स्रोत तथा तथ्याङ्क कत्तिको आधिकारिक छन् भन्ने जस्ता पक्षको सूक्ष्म अध्ययन गर्छ । एआईले विश्लेषण गरेको उक्त नतिजालाई मानव द्वारा रुजु गरेपछि मात्र अन्तिम रूपमा इलेक्सन पल्स पेजमा प्रकाशन गर्ने गरिन्छ ।
techpana.com खोलेपछि मेनुमा रहेको इलेक्सन पल्स (Election Pulse) मा गएर अथवा यहाँ क्लिक गरेर तपाईँले विभिन्न मिडियाका समाचारको विश्लेषण हेर्न सक्नु हुनेछ । त्यहाँ समाचारमा क्लिक गरेपछि निर्वाचन आचारसंहिताको उल्लङ्घन भए/नभएको, राजनीतिक दल वा उम्मेदवारप्रति पक्षधरता देखिए/नदेखिएको र उक्त समाचारले निर्वाचनमा खतरा पैदा गर्ने सम्भावना रहे/नरहेको बारे जानकारी पाउन सकिन्छ ।
यसैगरी समाचारमा द्वेषपूर्ण भाषा प्रयोग भए/नभएको, कुन पक्षलाई कति स्थान दिइएको छ र उक्त सामग्रीले मतदातालाई पार्न सक्ने प्रभावका साथै समाचार कुन दल र उम्मेदवार प्रति सकारात्मक, नकारात्मक वा तटस्थ छ भन्ने कुरा पनि स्पष्ट रूपमा हेर्न मिल्छ। यसबाट कुन मिडियाले आधिकारिक स्रोत कत्तिको प्रयोग गर्छन् र उनीहरू कत्तिको तटस्थ छन् भन्ने कुरा पाठकले सहजै थाहा पाउन सक्छन् ।
यो विश्लेषण प्रक्रियाका बारेमा टेकपानाले डिस्क्लेमर समेत जारी गरेको छ । यो विश्लेषण केवल उपलब्ध र चयन गरिएका निश्चित लेखको ‘प्रति-सामग्री विश्लेषण’ मा मात्र सीमित रहेको र यसलाई समग्र मिडियाको पूर्ण मूल्याङ्कन वा अन्तिम निष्कर्षका रूपमा लिन भने नहुने टेकपानाले जनाएको छ ।
यहाँ प्रस्तुत नतिजा एआई प्रविधिको प्रयोगबाट समाचारकै आधारमा निकालिएको हुनाले यो टेकपानाको निजी विचार वा राय नभएको स्पष्ट पारिएको छ । यो कार्य पूर्णतः स्वतन्त्र रूपमा गरिएको र यसको उद्देश्य कुनै पनि राजनीतिक दल, संस्था वा व्यक्तिलाई समर्थन वा विरोध गर्नु नभई पाठकलाई सचेत गराउनु मात्र हो ।
सामग्री छनोट गर्दा सान्दर्भिकताका आधारमा मानवीय छनोट गरिए पनि त्यसमा कुनै पूर्वाग्रह नराखिएको र मानवीय तथा समयको सीमाका कारण केही महत्त्वपूर्ण समाचार सामग्री विश्लेषणमा छुट्न सक्ने सम्भावनालाई समेत टेकपानाले स्वीकार गरेको छ । टेकपानाले सकेसम्म सन्तुलित सामग्री छान्ने प्रयास गरेको भए तापनि समाचार स्रोतको आफ्नै प्रकृति अनुसार नतिजामा विविधता देखिन सक्ने बताइएको छ ।
यदि कुनै महत्त्वपूर्ण लेख विश्लेषण गर्न छुटेको महसुस भएमा वा कुनै सुझाव भएमा पाठकले टेकपानाको ईमेल वा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न सक्नेछन् । टेकपानाले यो नयाँ फिचर हेरेर आफ्नो प्रतिक्रिया दिन समेत पाठक र सरोकारवालामा अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: माघ २७, २०८२ २०:३
