close

अब डिस्कोर्डमा एडल्ट कन्टेन्टको एक्सेस पाउन अनुहार स्क्यान अथवा सरकारी परिचयपत्र चाहिने

टेकपाना टेकपाना

फागुन १, २०८२ १२:७

अब डिस्कोर्डमा एडल्ट कन्टेन्टको एक्सेस पाउन अनुहार स्क्यान अथवा सरकारी परिचयपत्र चाहिने

काठमाडौँ । युवा पुस्ता माझ लोकप्रिय अनलाइन सञ्चार प्लेटफर्म डिस्कोर्डले विश्वव्यापी रूपमा ‘टिन-बाई-डिफल्ट’ सेटिङ लागु गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना २० करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरूको सुरक्षाका लागि यस्तो फिचर ल्याउने भएको हो ।

सन् २०२६ मार्चको सुरुदेखि चरणबद्ध रूपमा लागु हुने यो नयाँ व्यवस्थाअनुसार सबै नयाँ र पुराना अकाउन्टहरूलाई उमेर प्रमाणीकरण नभएसम्म स्वतः किशोर-किशोरीका लागि उपयुक्त हुने गरी सुरक्षित मोडमा राखिनेछ ।

डिस्कोर्डको आधिकारिक ब्लगका अनुसार प्रयोगकर्ताहरूले वयस्क सामग्री (एडल्ट कन्टेन्ट) वा प्रतिबन्धित च्यानलहरूमा पहुँच पाउनका लागि अब आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ । यसका लागि कम्पनीले मुख्यतया तीनवटा विधिहरू अघि सारेको छ ।

पहिलो उपायको रूपमा प्रयोगकर्ताले फेसियल एज इस्टिमेसनको रूमपा भिडिओ सेल्फी खिचेर एआईमार्फत आफ्नो उमेर अनुमान गराउन सक्छन् ।

त्यस्तै अर्को विकल्पमा सरकारी परिचयपत्र अपलोड गरेर उमेर पुष्टि गर्न सकिनेछ भने तेस्रो विधिको रूपमा डिस्कोर्डको नयाँ प्रणाली एज इन्फ्रेन्स मोडेल प्रयोग गर्न सकिनेछ । जसले प्रयोगकर्ताको व्यवहार, अकाउन्टको अवधि र अन्य सङ्केतहरूका आधारमा पृष्ठभूमिमा रहेर उमेरको अनुमान गर्छ ।

द भर्जसँग कुरा गर्दै डिस्कोर्डकी उत्पादन नीति प्रमुख साभाना बाडालिचले धेरैजसो वयस्क प्रयोगकर्ताहरूले आफ्नो उमेर प्रमाणित गर्न परिचयपत्र देखाइ रहनु नपर्ने बताएकी छिन् । डिस्कोर्डको इन्फ्रेन्स मोडेलले उच्च विश्वसनीयताका साथ प्रयोगकर्ता वयस्क भएको पहिचान गरेमा उनीहरूले स्वतः पूर्ण पहुँच पाउनेछन् । बाडालिचका अनुसार यो प्रक्रियामा प्रयोगकर्ताका निजी सन्देशहरू (डीएम) स्क्यान गरिने छैन ।

उमेर प्रमाणित नभएका वा १८ वर्ष मुनिका प्रयोगकर्ताहरूका लागि डिस्कोर्डले कडा सुरक्षा घेरा निर्माण गरेको छ । बीबीसीको रिपोर्टअनुसार नयाँ सेटिङ लागु भएपछि किशोर-किशोरीहरूले एडल्ट कन्टेन्ट भएका च्यानल वा सर्भरहरू प्रयोग गर्न पाउने छैनन् । साथै, उनीहरूले नचिनेका व्यक्तिहरूबाट आउने डीएम स्वतः छुट्टै ‘रिक्वेस्ट इनबक्स’मा जानेछन् र संवेदनशील तस्बिरहरूलाई एआईले ब्लर बनाइ दिनेछ ।

यति ठुलो परिमाणमा उमेर प्रमाणीकरण गर्दा डेटा सुरक्षाको विषयमा पनि प्रश्न उठेका छन् । बीबीसीले उल्लेख गरेअनुसार सन् २०२५ सेप्टेम्बरमा डिस्कोर्डको एउटा बाह्य एजेन्सी ह्याक हुँदा करिब ७०,००० प्रयोगकर्ताको परिचयपत्र विवरणहरू लिक भएका थिए । यस पटक डिस्कोर्डले विशेष सावधानी अपनाएको दाबी गरेको छ ।

डिस्कोर्डको प्रेस विज्ञप्तिका अनुसार अनुहार पहिचानका लागि खिचिएका भिडिओ सेल्फीहरू प्रयोगकर्ताको आफ्नै डिभाइसमा प्रशोधन हुनेछन् र कहिल्यै सर्भरमा पठाइने छैनन् । त्यस्तै अपलोड गरिएका परिचयपत्रहरू उमेर पुष्टि हुने बित्तिकै तुरुन्तै मेटिनेछन् । कम्पनीले उमेर सम्बन्धी डेटा विज्ञापनका लागि प्रयोग नगर्ने वा बिक्री नगर्ने प्रतिबद्धता समेत जनाएको छ ।

सुरक्षा सुविधाहरूलाई अझ प्रभावकारी बनाउन डिस्कोर्डले १० देखि १२ जना किशोर-किशोरीहरूको एउटा ‘टिन काउन्सिल’ पनि गठन गर्दैछ । डिस्कोर्डको आधिकारिक ब्लगका अनुसार यो काउन्सिलले किशोर-किशोरीहरूको वास्तविक आवश्यकता र उनीहरूले भोग्ने अनलाइन चुनौतीहरूबारे कम्पनीलाई सुझाव दिनेछ ।

सामाजिक सञ्जाल विज्ञ ड्रु बेन्भीले बीबीसीसँग कुरा गर्दै डिस्कोर्डको यो कदमलाई सकारात्मक रहेको र यसले अनलाइन सुरक्षाको नयाँ मापदण्ड सेट गर्न सक्ने बताएका छन् । मेटा (फेसबुक र इन्स्टाग्राम) र टिकटक जस्ता अन्य ठुला प्लेटफर्महरूले पनि डिस्कोर्डको यो नयाँ प्रयोगलाई नजिकबाट नियालिरहेको उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: फागुन १, २०८२ १२:७