निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर, यसरी गर्नुहोस् प्रयोग
फागुन १, २०८२ १७:२३
काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोग र लोकप्रिय भिडिओ प्लेटफर्म टिकटकबिच सहकार्य सुरु भएको छ । जस अन्तर्गत टिकटकले नेपाली प्रयोगकर्ताहरूका लागि एपभित्रै विशेष ‘निर्वाचन केन्द्र’ (In-App Election Center) सञ्चालनमा ल्याएको हो ।
निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्न र भ्रामक सूचना नियन्त्रण गर्न निर्वाचन आयोग र टिकटकबिच औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । आयोग परिसरमा आयोजित कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका दक्षिण एसियाली सार्वजनिक नीति प्रमुख फेर्दौस मोत्ताकिनले समझदारी पत्र आदानप्रदान गरेका थिए ।
कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले डिजिटल प्लेटफर्ममार्फत फैलाइने मिथ्या सूचना निर्वाचनका लागि प्रमुख चुनौती रहेको बताए । टिकटकको यो निःशुल्क सहयोगले निर्वाचन आचारसंहिता पालना गराउन र स्वच्छ वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
के हो इन-एप निर्वाचन केन्द्र ?
टिकटकले नेपालको निर्वाचन प्रक्रियाका बारेमा आधिकारिक र भरपर्दो जानकारी एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले यो 'इलेक्सन सेन्टर' विकास गरेको हो । यहाँ निर्वाचन प्रक्रिया, मतदान गर्ने सही तरिका र आफ्नो मतदान केन्द्र कसरी पत्ता लगाउने भन्ने बारेमा विस्तृत विवरण राखिएको छ ।
त्यस्तै प्रयोगकर्तालाई अनलाइनमा भेटिने झुटा र भ्रामक समाचार वा सूचना कसरी चिन्ने भन्ने बारेमा उपयोगी सुझावहरू पनि दिइएको छ । यस केन्द्रमा निर्वाचन आयोगका आधिकारिक स्रोत र वेबसाइटसँग सिधै जोड्ने लिङ्कहरू उपलब्ध छन् ।
निर्वाचनसँग सम्बन्धित सामग्री वा सर्चहरूमा टिकटकले विशेष 'इलेक्सन ट्याग' प्रयोग गर्नेछ, जसले प्रयोगकर्तालाई सिधै यस निर्वाचन केन्द्रमा पुर्याउनेछ ।
कसरी गर्ने प्रयोग ?
टिकटक एपभित्र रहेको यो इलेक्सन सेन्टर प्रयोग गर्न निकै सहज छ । यदि तपाईँले निर्वाचनसँग सम्बन्धित कुनै पनि शब्द (जस्तै: Election Nepal, vote, election commission) सर्च गर्नु भयो भने तपाईलाई स्वतः इलेक्सन सेन्टरको लिङ्क देखाइनेछ ।
साथै, निर्वाचन सम्बन्धी भिडिओहरूको मुनि राखिएको विशेष ट्यागमा क्लिक गरेर पनि यो केन्द्रमा प्रवेश गर्न सकिन्छ ।
भ्रामक सूचना र एआई सामग्रीमा कडाइ
टिकटकले निर्वाचनको निष्पक्षता कायम गर्न नेपालका लागि डेडिकेटेड 'इलेक्सन टास्कफोर्स' समेत परिचालन गरिएको जनाएको छ । प्लेटफर्मले राजनीतिक विज्ञापन र राजनीतिक दल वा उम्मेदवारले गर्ने आर्थिक सहयोग सङ्कलन (Fundraising) मा पूर्ण प्रतिबन्ध लगाएको छ ।
साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत बनाइएका यथार्थ परक सामग्रीहरूलाई अनिवार्य रूपमा 'एआई-निर्मित' भनी लेबल लगाउनुपर्ने व्यवस्था गरिएको छ । यदि कसैले एआईको प्रयोग गरेर कुनै सार्वजनिक व्यक्तिलाई गलत रूपमा प्रस्तुत गरेमा वा हैरानी दिएमा त्यस्ता सामग्रीहरू टिकटकले हटाउनेछ । टिकटकका अनुसार प्लेटफर्ममा रहेका ९८.५ प्रतिशत हानिकारक सामग्रीहरू रिपोर्ट हुनुभन्दा अगाडि नै हटाउने गरिएको छ ।
डिजिटल चुनौतीसँग जुध्ने आयोगको तयारी
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले यस पटकको निर्वाचनमा भौगोलिक चुनौतीभन्दा पनि डिजिटल प्लेटफर्मको नियन्त्रण र मिथ्या सूचनाको व्यवस्थापन मुख्य चुनौती रहेको बताएका छन् । यसका लागि आयोगले नेपाली सेना, नेपाल प्रहरी र दूरसञ्चार प्राधिकरणका प्राविधिकहरूको सहयोगमा सामाजिक सञ्जालको निगरानी गरिरहेको छ ।
टिकटकले निर्वाचन आयोगसँग मिलेर आयोगका कर्मचारीहरूका लागि 'निर्वाचन स्वच्छता कार्यशाला' समेत सञ्चालन गरेको थियो । जसले जिम्मेवार डिजिटल सहभागिता र सूचनाको शुद्धता परीक्षणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यसरी आयोग र टिकटकको सहकार्यले मतदातालाई सुसूचित बनाउन र लोकतान्त्रिक प्रक्रियालाई बलियो पार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: फागुन १, २०८२ १७:२३
