मिडिया तर्साउन गेटअघि कसले छोड्यो गाडी ? फेसबुक पेजसँगै मुछिए प्रधानमन्त्रीकै सल्लाहकार
असार ३०, २०८३ ९:१९
काठमाडौं । सोमबार नेपाली मिडिया जगत्लाई त्रसित र मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले देशका स्थापित सञ्चार गृहहरूको मूल गेट नै ठप्प पार्ने गरी शङ्कास्पद रूपमा सवारी साधनहरू पार्किङ गरेर छाडियो । बिहानैदेखि काठमाडौंका प्रमुख सञ्चार गृहहरू कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि भएका यी शङ्कास्पद गतिविधिहरूले नेपाली पत्रकारिता क्षेत्र, राजनीतिक वृत्त र नागरिक समाजमा गम्भीर तरङ्ग पैदा गरेको छ ।
यो घटना सामान्य ट्राफिक नियम उल्लङ्घन वा जथाभाबी पार्किङको मात्र विषय नभई, सत्ता र शक्तिको आडमा स्वतन्त्र प्रेसको आवाज दबाउने नियोजित प्रपञ्च रहेको बलिया प्रमाण र सङ्केतहरू फेला परेका छन् । यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको गाडी प्रयोग भएको र त्यसको बचाउमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारद्वारा सञ्चालित सामाजिक सञ्जालको पेज नै सक्रिय रूपमा उत्रिएपछि यसले झनै गम्भीर मोड लिएको हो ।
सोमबार बिहान करिब ७ बजेको समयमा तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन (कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजन), नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरमा रहेको हिमालय टेलिभिजनको गेटमा सवारी आवागमन ठप्प पार्ने गरी केही सवारी साधनहरू बेबारिसे रूपमा पार्किङ गरेर छाडिएको थियो । कुनै पनि सञ्चार गृहको मूल गेट भनेको समाचार सङ्कलन, प्रकाशन तथा प्रसारणका लागि चौबिसै घण्टा पत्रकार तथा प्राविधिकहरूको आवतजावत हुने अति संवेदनशील क्षेत्र हो ।
ती गेटहरू नै पूर्ण रूपमा अवरुद्ध हुने गरी सवारी साधनहरू तेर्स्याइनुले आमसञ्चार माध्यम र सञ्चारकर्मीहरूलाई काम गर्न व्यवधान खडा गर्ने र उनीहरूमाथि मनोवैज्ञानिक भय सिर्जना गर्ने उद्देश्य राखेको स्पष्ट देखिन्थ्यो । बिहानैदेखि मिडियाका कर्मचारी तथा सवारी साधनहरू भित्र-बाहिर गर्न नपाएपछि सञ्चार गृहहरूमा केही समय अन्योल र त्रासको वातावरण बनेको थियो ।
प्रमाण र सङ्केत
यस योजनाबद्ध हर्कतको पर्दाफास गर्न घटनास्थलका प्रमाण र प्रत्यक्षदर्शीका भनाइहरू नै पर्याप्त छन् । कान्तिपुर मिडिया हाउसको मूल गेट ठप्प पारेर राखिएको कालो रङ्गको बा प्र ०१-०३४ च ८४८० नम्बरको जेको जे-सिक्स इलेक्ट्रिक गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि जैसवालको भएको उकेरा अनलाइनले खुलासा गरेको छ ।
यो घटना केवल भौतिक अवरोधमा मात्र सीमित रहेन, यसको वैचारिक बचाउ र प्रचारबाजी सामाजिक सञ्जालमा समेत देखियो । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार) द्वारा सञ्चालित फेसबुक पेज 'ट्रोल नेपाल' ले सोमबार दिउँसो यस हर्कतको अप्रत्यक्ष रूपमा बचाउ गर्दै मिडियामाथि नै प्रहार गर्यो ।
ट्रोल नेपालमा लेखिएको थियो,"राज्यले No parking zone भनेको ठाऊमा parking गरेको गाडि ऊठाऊदा वा fine काट्दा ज्याजदि भयो भन्ने media हरु ५/६ hrs मै आफुहरुलाई विज्ञप्ति निकाल्न पर्ने भएछ।"

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको पेजबाट यस्तो गम्भीर घटनालाई हल्का रूपमा लिँदै मिडिया हाउसहरूको संवेदनशीलतामाथि व्यङ्ग्य गरिनुले घटनाको योजनाकार सत्ताको वरिपरि नै रहेको बलियो प्रमाण दिएको छ ।
अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मधुसुदन दाहालले आफ्नो फेसबुक अकाउन्टमा सेतोपाटीको समाचार शेयर गर्दै यसलाई 'साङ्केतिक पार्किङ विरोध' को रूपमा स्थापित गर्ने प्रयास गरे ।
उनले क्याप्सनमा लेखेका छन्,"पहिलो कुरा त अव्यवस्थित पार्किङले कति गार्हो पर्न सक्छ भनेर साङ्केतिक जानकारी दिएको पनि हुन सक्छ र अर्को कुरा जनताले जे पनि गर्न पाउनुपर्छ भन्दै गर्दा अरुलाइ कति अप्ठेरो पर्छ थाह दिएको पनि हुन सक्छ ।"
रास्वपा नेताको यो तर्कले के स्पष्ट पार्छ भने मिडिया हाउसहरूका गेट बन्द गर्नु कुनै प्राविधिक गल्ती थिएन, बरु नियोजित रूपमा 'सबक सिकाउन' गरिएको साङ्केतिक प्रहार थियो ।
यो मुख थुन्ने प्रयास हो: गगन थापा
सञ्चार गृहहरूमाथि भएको यो ठाडो हस्तक्षेपको नेपाली कांग्रेसका सभापति गगन थापाले कडा शब्दमा विरोध गरेका छन् । थापाले यसलाई सरकार आफैंले नागरिक र मिडियाको आवाज दबाउन गरेको तानासाही हर्कतको रूपमा व्याख्या गरे ।
उनले आक्रोश पोख्दै भने, "आज मेरो घर अगाडि गाडी राखेको होइन, त्यो मेरो मुख थुन्न खोजिएको हो । किनभने त्यहाँ कोही साधारण नागरिक आएर गाडी राखेको होइन । स्थानीय साथीहरू र प्रत्यक्षदर्शीहरूले बताए अनुसार गाडी राख्ने मान्छे गाडी राखेर प्रशासनको गाडी चढेर गएको छ ।"
थापाले अगाडि थपे, "यो अचम्म लाग्ने कुरा चाहिँ यो कसले गरिरहेको छ त ? सरकार आफैंले गरिरहेको छ । सरकार आफैं प्रश्न गर्नेहरूको प्रश्न बन्द गर्नका निम्ति आफैं सडकमा ओर्लेर आएको छ । यो नेपाली कांग्रेसका लागि र सम्पूर्ण समाजका लागि अत्यन्तै खेदजनक विषय हो ।"
नेपाली कांग्रेसको तर्फबाट आधिकारिक धारणा राख्दै थापाले कसैले पनि नागरिकको प्रश्न गर्ने अधिकार र हिम्मत खोस्न नसक्ने स्पष्ट पारे । उनले नेपाली कांग्रेसको विगत स्मरण गर्दै बीपी कोइरालाले वि.सं. २००३ सालमै तत्कालीन राणा शासक मोहन शमशेरको अगाडि उभिएर 'हुकुम र पुर्जीका भरमा शासन गर्ने दिन गए' भन्दै लडेको पार्टीका कार्यकर्ताहरू कसैको धम्की र त्राससामु नझुक्ने चेतावनी दिए ।
मिडिया सोसाइटी र पत्रकार महासङ्घको आपत्ति
प्रेस स्वतन्त्रतामाथि धावा बोलिएको यस घटनाको विरोधमा सञ्चार क्षेत्र सम्बद्ध छाता सङ्गठनहरूले कडा आपत्ति जनाएका छन् । नेपाल मिडिया सोसाइटीका महासचिव बोधराज त्रिपाठीले एक विज्ञप्ति जारी गर्दै सञ्चार गृहहरूलाई आतङ्कित पार्ने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, "समाचार सङ्कलन, प्रकाशन तथा प्रसारणमा अवरोध हुने गरी मिडिया हाउसको प्रवेशद्वार अगाडि एकै पटक निजी सवारी साधन पार्किङ गरिएको घटनाप्रति नेपाल मिडिया सोसाइटीको गम्भीर ध्यानाकर्षण भएको छ । जनताको सुसूचित हुने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने यस्ता गतिविधिको अनुसन्धान गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गर्दछौं ।"
त्यसैगरी, नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले पनि प्रेस विज्ञप्ति जारी गर्दै यसलाई निन्दनीय र रहस्यमय घटनाको संज्ञा दिएका छन् । महासङ्घले भनेको छ, "विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शङ्कास्पद रूपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतङ्क सिर्जना गरिएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण भएको छ । सञ्चारकर्मी र सञ्चार गृहको सुरक्षा सुनिश्चित गर्न र यो रहस्यमय घटनाको तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।"

रास्वपाको विज्ञप्ति: अनुसन्धान होस्
आफ्नो पार्टीका नेता रवि जैसवालको गाडी कान्तिपुरको गेट अगाडि प्रयोग भएको र अर्का नेता मधुसुदन दाहालले सामाजिक सञ्जालमा यसको बचाउ गरेपछि चौतर्फी आलोचना खेपेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुसन्धानको माग गर्दै विज्ञप्ति जारी गरेको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "राज्यको चौथो अङ्गका रूपमा रहेका सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमा धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शङ्कास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताको ठाडो उल्लङ्घन हुन् ।"
रास्वपाले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारको पक्षमा दृढतापूर्वक उभिने दाबी गर्दै यस घटनाको तत्काल र निष्पक्ष सत्य-तथ्य छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न गृह मन्त्रालय र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।

जेनजी अभियन्ता बम भन्छिन्: यो मजाक होइन, तानासाही मानसिकता हो
सामाजिक अभियन्ता तथा जेनजी नेतृ रक्षा बमले यस प्रकरणलाई लिएर प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको प्रवृत्तिको तीव्र आलोचना गरेकी छन् । उनले फेसबुक स्टाटस लेख्दै कुमार बेनको विगतको धम्कीपूर्ण व्यवहारको स्मरण गराएकी छन् ।
उनले लेखेकी छन्, "हामी सबैलाई थाहा छ, 'ट्रोल नेपाल' पेजका सञ्चालक प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनज्यू हुनुहुन्छ । उहाँको तर्क रहेछ, जथाभाबी पार्किङले कस्तो समस्या निम्त्याउँछ भन्ने देखाउन मिडिया हाउस अगाडि गाडी पार्क गरिएको हो रे ।"
उनले थप स्मरण गर्दै भनिन्, "गत निर्वाचनका बेला राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूची समावेशी नभएको भन्दै देशभर आलोचना भइरहेका बेला कुमार बेनज्यूले 'समानुपातिक सूचीको विरोध गर्नेहरूलाई बागमतीमा चोबालिदिन्छु र पोस्टमा लाइक वा कमेन्ट गर्नेहरूलाई समेत थुन्न लगाइदिन्छु' भन्दै धम्क्याउनुभएको थियो ।"
बमले थपिन्, "आज बुझ्दैछु, त्यो मजाक थिएन, त्यो तानासाही मानसिकताको झल्को थियो । फरक मतलाई अपराध ठान्ने, आलोचनालाई शत्रुता सम्झिने र असहमतिलाई जेलको धम्कीले दबाउन खोज्ने मानसिकता आज राज्यसत्ताको वरिपरि बसेर नागरिकमाथि शक्ति प्रदर्शन गरिरहेको छ । कुमार बेनज्यू, तपाईं प्रधानमन्त्रीको प्रमुख सल्लाहकार हुनुहुन्छ, कृपया पदको गरिमा राख्नुहोस् । मिडिया हाउस अगाडि गाडी तेर्स्याएर के तमासा देखाउन खोज्नुभएको हो ? कुनै फिल्मको स्क्रिप्ट लेखेर फिल्म चलाउनु र राज्यसत्ता सञ्चालन गर्नु दुई फरक कुरा हुन् ।"
सामान्य जरिबानामै छुटे आतङ्कित पार्ने सवारी साधन
घटनाको चौतर्फी विरोध र दबाबपछि सोमबार दिउँसो ट्राफिक प्रहरीले क्रेनको सहायताले ती सञ्चार गृह अगाडि तेर्स्याइएका गाडीहरू हटाएको थियो । सार्वजनिक सडकमा जथाभाबी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएको अभियोगमा प्रहरीले ती सवारी साधनलाई केवल ५०० देखि १५०० रुपैयाँसम्म सामान्य जरिबाना गराएर सोमबार नै छाडिदिएको छ ।
तर, यस घटनाले उठाएका गम्भीर कानुनी र राजनीतिक प्रश्नहरू जरिबानाको रसिदसँगै पखालिएका छैनन् । राज्यको चौथो अङ्गलाई आतङ्कित बनाउन 'सरकारी प्रशासन'कै गाडी चढेर आएका व्यक्तिहरू को थिए ? प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको प्रत्यक्ष संलग्नता रहेको फेसबुक पेजले यो आतङ्कको बचाउ किन गर्यो ? र शक्तिको मातमा नागरिक तथा मिडियाको घाँटी थिच्ने यो प्रवृत्तिको अन्त्य कहिले हुन्छ ?
सञ्चार गृहहरूको गेट थुनेर प्रश्नहरूको मुख थुन्न खोज्ने शासकहरूको यो हर्कतले नेपालको लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको भविष्यमाथि नै एउटा ठुलो चुनौती खडा गरिदिएको छ ।
पछिल्लो अध्यावधिक: असार ३०, २०८३ ९:३४
