close

साथीसँग सापटी फिर्ता माग्दा ह्वाट्सएपमा भनाभन, चरित्र हत्या भन्दै उल्टै साइबर क्राइमको मुद्दा

टेकपाना टेकपाना

फागुन ३, २०८२ १३:४४

साथीसँग सापटी फिर्ता माग्दा ह्वाट्सएपमा भनाभन, चरित्र हत्या भन्दै उल्टै साइबर क्राइमको मुद्दा

काठमाडौँ । साथीले लिएको ऋण फिर्ता माग्ने विषयमा विवाद बढ्दै जाँदा सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एक महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर गरिएको छ । काभ्रेपलाञ्चोक स्थायी घर भई हाल काठमाडौँको कुलेश्वर बस्ने ४४ वर्षीया कोकिल थापाविरुद्ध सरकारी वकिल कार्यालयले २७ माघमा मुद्दा दर्ता गरेको हो ।

अदालतमा दर्ता भएको अभियोग पत्र अनुसार कोकिल थापा र पीडित महिला (परिवर्तित नाम २६ परिसर ५०) बीच लामो समयदेखि चिनजान र मित्रता थियो । सोही क्रममा पीडित महिलाले घरायसी कामका लागि थापासँग २ लाख ३० हजार रुपैयाँ ऋण लिएकी थिइन् ।

पीडितका अनुसार उनले सो रकममध्ये १ लाख ९ हजार रुपैयाँ बैङ्कमार्फत फिर्ता गरिसकेकी थिइन् । प्रहरी अनुसन्धानले समेत बाँकी रकम फिर्ता माग्ने क्रममा विवाद बढेपछि प्रतिवादी कोकिल थापाले फेसबुक र ह्वाट्सएपको दुरुपयोग गरेको देखाएको छ ।

बाँकी रकम चुक्ता गर्छु भन्दा भन्दै उनले पीडित महिलाको स्कुटरको फोटो, उनका श्रीमान्को फोटो र बैङ्क खाताको चेकको फोटो फेसबुकमा अपलोड गरी नानाभाँती अपशब्द प्रयोग गरेकी थिइन् ।

जाहेरी अनुसार थापाले ह्वाट्सएपमार्फत 'तपाईँको छोराको स्कुल चिनेको छु' भन्दै धम्कीपूर्ण मेसेज पठाउने र 'टोलमै बेइज्जत गरिदिन्छु' भन्ने जस्ता अपमानजनक स्टाटस पोस्ट गरेकी थिइन् । यसबाट आफ्नो र परिवारको सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुगेको र मानसिक यातना भोग्नु परेको पीडितको दाबी छ ।

प्रहरी र सरकारी वकिल समक्ष दिएको बयानमा प्रतिवादी कोकिल थापाले आफ्नो कसुर स्वीकार गरेकी छिन् । उनले पीडितका श्रीमानले आफूलाई ह्वाट्सएपमा ब्लक गरेको र समयमा पैसा फिर्ता नदिएका कारण रिसको झोँकमा त्यस्ता सन्देश र फोटोहरू पोस्ट गरेको बताएकी छिन् । उनले बयानका क्रममा भनेकी छिन्, "हामीबिच पैसाको विषयमा दोहोरो भनाभन भएको हो, रिसको आवेगमा सामाजिक सञ्जालमा त्यस्तो कुराकानी गर्नु मेरो गल्ती भयो ।"

साइबर ब्युरोले गरेको अनुसन्धानका क्रममा थापाले प्रयोग गरेको मोबाइलबाट फेसबुक र ह्वाट्सएपमा गरिएका गालीगलौजका स्क्रिनशट र पेनड्राइभमा रहेका भ्वाइस मेसेजहरूलाई मुख्य प्रमाणका रूपमा पेस गरिएको छ । डिजिटल फरेन्सिक ल्याबको परीक्षणबाट पनि सामाजिक सञ्जालको दुरुपयोग भएको पुष्टि भएको छ ।

सरकारी वकिल कार्यालयले थापाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजायको माग गरेको छ । यस कानुन अनुसार दोषी ठहर भएमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । साथै पीडितलाई पुगेको मानसिक र सामाजिक क्षतिको उचित क्षतिपूर्ति भराउन र अपराध पीडित संरक्षण ऐन बमोजिम पीडित राहत कोषमा शुल्क जम्मा गराउन समेत मागदाबी गरिएको छ ।

यसबाट लेनदेन जस्तो देवानी मुद्दाको विषयलाई सामाजिक सञ्जालमा गालीगलौज र धम्कीको माध्यम बनाउँदा कसरी उल्टै गम्भीर फौजदारी अपराध (साइबर क्राइम) बन्न सक्छ भन्ने देखिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०८२ १३:४४