close

विश्वकपमा प्रदर्शन खस्किएपछि सोमपालको स्वीकारोक्ति: ‘खेलाडी सामाजिक सञ्जालबाट टाढै रहनुपर्छ’

टेकपाना टेकपाना

फागुन ३, २०८२ १६:४२

विश्वकपमा प्रदर्शन खस्किएपछि सोमपालको स्वीकारोक्ति: ‘खेलाडी सामाजिक सञ्जालबाट टाढै रहनुपर्छ’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी तीव्र गतिका बलर सोमपाल कामीले खेलाडी सामाजिक सञ्जालबाट टाढै रहनुपर्ने धारणा व्यक्त गरेका छन् । जारी आईसीटी टी-२० विश्वकप २०२६ मा नेपालले लगातार तीन खेलमा पराजय बेहोरेपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै सोमपालको यस्तो स्वीकारोक्ति आएको हो ।

यसअघि शनिबार मात्र टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि सामाजिक सञ्जाल र त्यसमा आउने टिप्पणीले खेलाडीको प्रदर्शनमा नकारात्मक असर पार्ने बताएका थिए । प्रशिक्षक लले नेपाली संस्कृतिमा सामाजिक सञ्जालको प्रभाव निकै गहिरो रहेको र यसले खेलाडीलाई आफ्नो मुख्य जिम्मेवारीबाट विमुख बनाउन सक्ने खतरा औँल्याएका थिए । सोही सन्दर्भमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै सोमपालले प्रशिक्षकको भनाइप्रति सहमति जनाएका हुन् ।

“मलाई लाग्छ प्रशिक्षकले भन्नुभएको कुरा एकदम सही हो । हामीसँग धेरै युवा खेलाडीहरू छन्, उनीहरू जब राम्रो प्रदर्शन गर्छन्, तब इन्स्टाग्राम वा फेसबुकमा गएर आफूबारे गरिएका राम्रा कमेन्ट पढ्न थाल्छन्,” सोमपालले भने, “तर, एउटा खेलाडीको रूपमा हरेक दिन सधैँ सुखद हुँदैन ।”

सोमपालले प्रदर्शन बिग्रिएका बेला सामाजिक सञ्जालमा आउने नकारात्मक प्रतिक्रियाले खेलाडीको मनोबल गिराउने उल्लेख गरे । उनले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै भने, “जब तपाईंको प्रदर्शन बिग्रिन्छ, मेरो विचारमा सामाजिक सञ्जालमा नजानु नै उचित हुन्छ । म खेल चलिरहेको समयमा कहिल्यै पनि सामाजिक सञ्जाल हेर्दिनँ । त्यसैले यसबाट टाढै बस्नु नै राम्रो हो ।”

वर्तमान समय डिजिटल युगको भए पनि र सबैलाई ‘फलोअर्स’ एवं राम्रा तस्बिरको चाहना हुने भए तापनि त्यसलाई कसरी लिने भन्ने कुरा स्वयं खेलाडीमा भर पर्ने उनको तर्क छ । सोमपालले थपे, “आज जसले तपाईंको बारेमा राम्रो लेखिरहेका छन्, भोलि प्रदर्शन खस्किएपछि तिनै मानिसहरूले नराम्रो लेख्न सक्छन् । त्यसैले एउटा व्यावसायिक खेलाडीका रूपमा हामी यस्ता कुराबाट टाढै रहनुपर्छ ।”

नेपालले विश्वकपका सुरुवाती खेलमा अपेक्षित नतिजा निकाल्न नसकेपछि खेलाडीको मानसिक एकाग्रता र सामाजिक सञ्जालको प्रभावबारे बहस भइरहेको छ । विशेषगरी खेलाडीले आफ्ना बारेमा सामाजिक सञ्जालमा आएका पोस्टमा अन्तर्क्रिया गर्ने र सपोर्टरले मेन्सन गरेका पोस्ट शेयर गर्ने गरेको देखिन्छ ।

 

पछिल्लो अध्यावधिक: फागुन ३, २०८२ १६:४२