उज्यालो नेपाल पार्टीको घोषणापत्रः १० अर्बको स्टार्टअप कोषदेखि ६ लाख युवालाई आईटी शिक्षा
फागुन ३, २०८२ १९:५७
काठमाडौँ । उज्यालो नेपाल पार्टीले नेपाललाई आईटी हबका रूपमा विकास गर्ने घोषणा गरेको छ । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सार्वजनिक घोषणापत्रमार्फत पार्टीले आईटी हब विस्तारका लागि १० अर्ब रुपैयाँको स्टार्टअप कोष स्थापना गर्ने प्रतिबद्धता जनाएको हो ।
पार्टीले सातै प्रदेशमा आईटी पार्क स्थापना गर्न कर छुटको व्यवस्था गर्दै स्टार्टअप इकोसिस्टम विकास गर्ने योजना पनि अघि सारेको छ । आगामी पाँच वर्षमा ६ लाख युवालाई कोडिङ, एआई, साइबर सुरक्षा लगायतका क्षेत्रमा तालिम तथा आईटी शिक्षा उपलब्ध गराउने उल्लेख गरिएको छ ।
भ्रष्टाचार नियन्त्रणका लागि अनलाइन माध्यमबाट सम्पत्ति सार्वजनिक गर्ने व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ । “जनप्रतिनिधि लगायत सार्वजनिक निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले वार्षिक रूपमा अनलाइनमार्फत सम्पत्ति घोषणा गर्ने व्यवस्था गरिनेछ,” घोषणापत्रमा भनिएको छ ।
ऊर्जा क्षेत्रतर्फ निजी क्षेत्रको सहभागितामा सन् २०३० सम्म १२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र प्रतिव्यक्ति विद्युत् खपत ८ सय किलोवाट घण्टा पुर्याउने लक्ष्य राखिएको छ । विद्युत् निर्यातबाट प्राप्त रकमको १५ प्रतिशत ‘राष्ट्रिय समृद्धि कोष’मा राखी ग्रामीण पूर्वाधार तथा गरिबी निवारण कार्यक्रममा खर्च गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
शिक्षातर्फ ‘स्मार्ट स्कुल’ अभियान सञ्चालन गरी प्रत्येक विद्यालयमा डिजिटल कक्षा, इन्टरनेट र डिजिटल पुस्तकालयको व्यवस्था गर्ने तथा कक्षा १० सम्म गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । कृषि क्षेत्रका अनुदान प्रत्यक्ष रूपमा किसानको खातामा पुर्याउन डिजिटल आईडी प्रणाली उपयोग गर्ने भनिएको छ । सिँचाइ, मल, बीउ र बीमासम्बन्धी अनुदान डिजिटल प्रणालीमार्फत वितरण गरिने विषय समेत घोषणापत्रमा उल्लेख छ ।
सन् २०४० सम्म इन्टरनेट अफ थिङ्ग्स (आईओटी), आईटी आधारित ट्राफिक प्रणाली, रियल-टाइम डेटा मनिटरिङ तथा जलवायु अनुकूल क्षेत्रीय विकास योजनालाई समेट्दै लुम्बिनी, निजगढ, भरतपुर लगायत १३ वटा सहरलाई ‘स्मार्ट सिटी’का रूपमा विकास गर्न अध्ययन अघि बढाइने जनाइएको छ ।
त्यसैगरी तथ्याङ्क संरक्षण ऐन, साइबर सुरक्षा ऐन तथा एआईसम्बन्धी नीति निर्माण गरी ब्लकचेन प्रविधिको सुरक्षित प्रयोगमार्फत पारदर्शिता अभिवृद्धि गर्ने र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याउने नीति लिइने उल्लेख छ । मेगा डेटा सेन्टर स्थापना गर्ने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ ।
विपद् व्यवस्थापनका लागि समयमै पूर्वसूचना उपलब्ध गराउने एकीकृत प्रणाली विकास गर्ने प्रतिबद्धता समेत पार्टीले गरेको छ ।
पछिल्लो अध्यावधिक: फागुन ३, २०८२ १९:५७
