close

डीपीआई अर्थात् डिस्प्ले डेन्सिटी के हो र एन्ड्रोइड फोनमा यसको प्रयोग कसरी गर्ने ?

टेकपाना टेकपाना

फागुन ५, २०८२ १२:१९

डीपीआई अर्थात् डिस्प्ले डेन्सिटी के हो र एन्ड्रोइड फोनमा यसको प्रयोग कसरी गर्ने ?

काठमाडौँ । डिस्प्ले डेन्सिटी (Display Density) लाई प्राविधिक रूपमा डीपीआई (Dots Per Inch) पनि भनिन्छ । यो एउटा यस्तो मान हो, जसले तपाईँको स्मार्टफोनको स्क्रिनको प्रति इन्चमा कतिवटा पिक्सेल वा थोप्लाहरू देखाइन्छन् भन्ने कुरा निर्धारण गर्छ ।

यसले तपाईँको फोनको सफ्टवेयरलाई स्क्रिनमा रहेका आइकन, टेक्स्ट (अक्षर) र मेनुहरू कति ठुला वा साना देखाउने भन्ने तय गर्छ । सरल शब्दमा भन्नुपर्दा यदि तपाईँ स्क्रिनमा धेरै कुराहरू एकै पटक हेर्न चाहनुहुन्छ वा साना अक्षरहरू पढ्न गाह्रो भएर ठुलो बनाउन चाहनुहुन्छ भने कुराका लागि सेटिङ उपयोगी हुन्छ ।

 

एन्ड्रोइड फोनमा डिस्प्ले डेन्सिटी प्रयोग गर्ने तरिका

धेरैजसो आधुनिक एन्ड्रोइड फोनहरूमा यो विकल्प सेटिङ्समा उपलब्ध हुन्छ ।यसका लागि सबैभन्दा पहिले फोनको Settings मा गएर Display विकल्प छान्नुहोस् ।

त्यहाँ Display size वा सामसङ फोनमा Screen zoom भन्ने विकल्प फेला पार्नु हुनेछ । त्यहाँ रहेको स्लाइडरलाई दायाँ सार्दा स्क्रिनका सामग्रीहरू ठुला देखिन्छन् र बायाँ सार्दा साना हुन्छन् ।

यसका लागि अर्को तरिका भनेको डेभलपर अप्सनमार्फत निश्चित मान (Smallest Width) राख्नु पनि हो । यदि तपाईँलाई सिस्टमले दिएको विकल्पभन्दा अझ बढी सूक्ष्म नियन्त्रण चाहिएको छ भने Smallest Width (न्यूनतम चौडाइ) फिचर प्रयोग गर्न सकिन्छ । यसका लागि Settings > About phone मा गएर Build number (अथवा Verson info हुँदै (Software version) मा लगातार ७ देखि १० पटक ट्याप गर्नुहोस् । त्यसपछि You are now a developer! भन्ने सन्देश आउनेछ ।

अब Settings भित्र नयाँ थपिएको Developer options मा जानुहोस् र त्यहाँ Drawing शीर्षक अन्तर्गत Smallest width वा Minimum width विकल्प खोज्नुहोस् । त्यहाँ एउटा नम्बर (जस्तै ४६६ dp) देखिनेछ । यहाँ नम्बर बढाउँदा स्क्रिनका सबै कुराहरू साना देखिन्छन् र धेरै सामग्री अटाउँछन् । यदि नम्बर घटाउनुभयो भने सबै कुराहरू ठुला देखिन्छन् ।

 

पछिल्लो अध्यावधिक: फागुन ५, २०८२ १२:२३