काठमाडौँमा साइबर अपराधको भयावह रूप: एक महिनामै १४५ उजुरी, अनलाइन शपिङका नाममा ठगिने धेरै
फागुन ५, २०८२ १५:५५
सांकेतिक तस्बिर
काठमाडौँ । राजधानीमा पछिल्लो समय साइबर अपराध र अनलाइन ठगीका घटना तीव्र रूपमा बढ्न थालेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको माघ महिनाको मासिक प्रगति विवरणअनुसार एक महिनाको छोटो अवधिमा मात्रै साइबर अपराधबाट पीडित भएका १४५ जनाले प्रहरीमा उजुरी दर्ता गराएका छन् ।
यी उजुरीहरूमा पीडितले कुल दुई करोड ८६ लाख २२ हजार ४५५ रुपैयाँ बराबरको रकम ठगी भएको भन्दै बिगो दाबी गरेका छन् । परिसरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अनलाइनमार्फत सामान खरिद गर्दा ठगिनेको सङ्ख्या सबैभन्दा उच्च देखिएको छ । तथ्याङ्क अनुसार अनलाइन शपिङका नाममा ४५ जना ठगीमा परेका छन् । यस्तै १८ जनाले ओटीपी शेयर गर्दा, १५ जनाले अनालइनमा वैदेशिक रोजगारीको लोभमा र १५ जनाले मोबाइल हराएपछि बैंक खाताबाट रकम चोरी भएको भन्दै उजुरी दिएका छन् ।
यसका अतिरिक्त पार्सल र कर बापतको रकम जम्मा गर्न लगाएर १३ जना, अनलाइन ‘जब’ को नाममा ११ जना, बैंक खातामा अनाधिकृत पहुँच पुऱ्याएर १० जना, रकम डबल गरिदिने बहानामा ६ जना, अनलाइन टास्किङमार्फत पाँच जना र चरित्रहत्या सम्बन्धी चार ओटा उजुरी दर्ता भएका छन् भने अन्य विविध शीर्षकमा आठ ओटा निवेदन परेका छन् ।
साइबर अपराधको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले कारबाहीसँगै सचेतना कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ । प्रहरीले माघ महिनामा मात्रै काठमाडौँका ११ ओटा विद्यालयमा साइबर अपराध सचेतना कार्यक्रम सञ्चालन गरी ९८२ जना विद्यार्थीहरूलाई शिक्षित बनाएको प्रगति विवरणमा उल्लेख छ । विद्यालय केन्द्रित कार्यक्रमका साथै प्रहरीले सार्वजनिक स्थानमा अनलाइन ठगीबाट बच्ने उपाय समेटिएका पर्चा पम्प्लेटहरू समेत वितरण गर्दै आएको छ । प्रविधिको दुरुपयोग गरी सर्वसाधारणको सम्पत्ति र प्रतिष्ठामाथि प्रहार हुने क्रम बढेपछि प्रहरीले आफ्नो सक्रियता बढाएको हो ।
ठगीको यो बढ्दो जालोबाट जोगिन प्रहरीले नागरिकलाई विशेष सतर्कता अपनाउन अपिलसमेत गरेको छ । यी हुन् परिसरले अनलाइन ठगीबाट जोगिन सुझाएका तरिकाः
१) सामाजिक सञ्जाल Facebook, Imo, WhatsApp, Viber, Instagram लगायतको माध्यमबाट तपाईँलाई चिट्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम (राजस्व) तिर्नु पर्दछ भनी रकम पठाउन लगाई ठगी हुन सक्छ, सचेत बन्नुहोस् ।
२) अपरिचित व्यक्ति वा नम्बरबाट भिडिओ कल गरी उक्त भिडिओ कल रेकर्ड गरी भिडिओलाई अश्लील बनाई Blackmailing गर्ने तथा पैसा माग्ने हुनसक्छ । सावधान रहनुहोस् ।
३) आफ्ना साथीभाइ तथा आफन्तले विभिन्न सामाजिक सञ्जालबाट विभिन्न समस्या दर्शाई आर्थिक सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरि यकिन गरेर मात्र सहयोग गर्नुहोस्, खाता ह्याक भएको हुनसक्छ ।
४) सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यममा सस्तो दरमा सामान देखाएर तथा विभिन्न कम्पनीमा लगानी गर्न भनी Advance रकम पठाउन लगाइ ठगी हुनसक्छ, प्रलोभनमा नपर्नुहोस् । Cash on Delivery (सामान पाइसकेपछि मात्र भुक्तानी गर्ने) गर्दा सुरक्षित हुन सकिन्छ ।
५) अपरिचित Link हरू नखोल्ने, One Time Password (OTP) Code हरू अरूलाई नदिने, कहिल्यै पनि आफ्नो मोबाइलको Screen Share नगर्नुहोस्, OTP चोरी हुनसक्छ । सामाजिक सञ्जालहरूमा आफ्ना महत्वपूर्ण जानकारीहरू नराख्ने र आफ्नो पासवर्ड नजिकको साथीभाइ र आफन्तलाई समेत Share नगर्नुहोस् ।
पछिल्लो अध्यावधिक: फागुन ५, २०८२ १५:५५
