close

नेपाली मेकानिकले बनाए पाउँ-पुष्टकारी काट्ने मसिन, ६ लाखमै ‘होम लिफ्ट’ तयार

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन ६, २०८२ १६:३४

नेपाली मेकानिकले बनाए पाउँ-पुष्टकारी काट्ने मसिन, ६ लाखमै ‘होम लिफ्ट’ तयार

काठमाडौँ । पुष्टकारी, पाउँ तथा चकलेट काट्ने मसिन र साधारण घरहरूमा समेत राख्न सकिने लिफ्ट नेपालमै निर्माण भएको छ । काठमाडौँको वसुन्धरास्थित ‘वसुन्धरा अटो एन्ड इन्जिनियरिङ्स’ का सञ्चालक शिवरुद्र कर्मचार्यले आफ्नो वर्कशपमा मसिन र लिफ्ट तयार पारेका हुन् । 

नेपालका परम्परागत मिठाईहरू पुष्टकारी र पाउँ बनाउने उद्योगहरूमा रहेको कामदारको अभाव देखेर यसको विकल्पमा मसिन तयार पारेको कर्मचार्य बताउँछन् । उनी भन्छन्, “प्राय साना कारखानामा पाउँ/पुष्टकारी काट्न काम गर्ने मान्छे पाउन गाह्रो छ । मसिन भयो भने कामदारको कामलाई छोटो समयमा नै गर्न सक्ने भइयो । बजारको मागअनुसार उत्पादन बढाउँदै लैजान पनि सहयोग हुन्छ भनेर बनाएको हुँ ।”

उनले करिब दुई महिना पहिलेबाट मसिन बनाउन थालेका हुन् । यो अवधिमा उनले पाउँ काट्ने मसिन तयार पारेर बिक्री गरिसकेका छन । पाउँ काट्ने मसिन रत्नपार्क पाउँँ भण्डारले खरिद गरेर प्रयोग गरिरहेको कर्माचार्यले बताए । हाल उनले एउटै मसिनबाट पाउँँ र पुष्टकारी काट्न मिल्ने गरि तयार गरेका छन् । 

उनले भने, “पाँउ मात्र काट्ने मसिन डेढ लाख रुपैयाँमा तयार भएको थियो । पहिलो पटक मसिन बनाएको भएर लगभग दुई महिनाको समय लागेको थियो । पछि त्यही मसिनमा थोरै परिवर्तन ल्याएर पाउँ र पुष्टकारी काट्न मिल्ने बनाएँ । यो अलि हेभी वेटको भएकाले अलि महँगो पर्छ ।” बजारमा तीन लाख रुपैयाँसम्ममा उक्त मसिन पाउन सकिने उनले बताए ।

 

यो मसिनको बाहिरी भागमा स्टिल प्रयोग गरिएको छ । स्टिल लगायतका कच्चा पदार्थहरू आयात गरिएको भएपनि मसिनको सम्पूर्ण डिजाइन, फिटिङ र निर्माण आफैँले जडान गरेको कर्मचार्य सुनाउँछन् । 

विद्युतबाट चल्ने मसिन एक घण्टासम्म चलाउँदा करिब एक युनिट मात्र बिजुली खपत हुने उनको दाबी छ ।  

मसिनलाई नियन्त्रण गर्न ब्याकवार्ड र फरवार्ड स्विच भएको कन्ट्रोल बक्स राखिएको छ । जसलाई थिचेर मसिनमा राखिएको पाउँ तथा पुष्टकारीको मिश्रणलाई काट्न सकिन्छ । 

मसिन चल्दा निश्चित ठाउँमा पुगेपछि आफैँ रोक्किन सहयोग गर्ने गरी मसिनमा दुईओटा सेन्सरहरू राखिएका छन् । काम गर्दा कुनै दुर्घटना वा समस्या आइपरेमा तुरुन्त मसिन रोक्नका लागि कन्टोल बक्समा इमर्जेन्सी स्विचको समेत व्यवस्था गरिएको छ ।

हाल उनले वर्ग आकारका पाउँ र पुष्टकारीहरू काट्न सकिने गरि मसिन बनाएका छन् । तर ग्राहकको आवश्यकताअनुसार गोलो वा अन्य आकारमा काट्न मिल्ने समेत बनाउन सकिने उनले बताए । 

उनले भने, “हातले काट्न एक–डेढ घण्टा लाग्ने पुष्टकारी यो मसिनले एक-दुई मिनेटमै काट्छ । त्यसैले कामदारलाई एक-दुई महिना दिनुपर्ने ज्याला बराबरको रकममा नै यो मसिन खरिद गर्न सकिन्छ ।” 

भारतबाट ल्याएको मसिन बिग्रिएपछि सुरु भएको निर्माण

न्युरोडमा रहेको सुशीला पुष्टकारी भण्डारका सञ्चालक नेपेन्द्र श्रेष्ठले करिब ६ महिनापहिले पुष्टकारी व्यवसायका लागि भारतबाट ल्याएको मसिन बिग्रिएपछि कर्माचार्यलाई सम्पर्क गरे । सोही मसिनलाई देखेर आफूलाई नयाँ मसिन बनाउने आइडिया आएको उनी बताउँछन् ।

उनी भन्छन्, “६ लाखभन्दा बढी खर्च गरेर भारतबाट किनेर ल्याएको केही समयपछि नै बिग्रियो । इन्डियाबाट मसिन बनाउन बोलाउँदा आउन मानेनन् । बरु इन्डिया नै ल्याऊ भनेछन् । तर मसिनलाई त्यहाँ लगेर बनाउन सम्भव थिएन । त्यही भएर मलाई मर्मत गर्न सकिन्छ कि भनेर दिनुभयो ।”


तर उक्त मसिन बनाउन सकिएन । तर उनले सोही मसिनलाई हेरेर आफ्नै नयाँ डिजाइनसहित नयाँ मसिन तयार पारे । उनी भन्छन्, “यस्ता मसिन विदेशबाट किनेर ल्याउँदा महँगो पर्छ अनि चाहेको बेलामा मर्मत गर्न पनि समस्या हुन्छ । त्यही भएर मैले बरु आफैँ नै कट गर्ने मसिन बनाएँ । यो मसिनमा केही गरी समस्या आयो भने पनि हामी समाधान गर्न सक्छौँ ।”

घरमा खेर गएको ठाउँमा ‘होम लिफ्ट’

कर्माचार्यले वर्कशप रहेको आफ्नै घरको सिँढीको बीच भागमा हुने सानो खाली भागलाई सदुपयोग गर्दै लिफ्ट बनाएका छन् । तीन तला अग्लो उक्त घरमा खेर गएको सानो खाली ठाउँमा लिफ्ट जडान गरेका हुन् । कर्माचार्य भन्छन्, “सुरुमा मैले लिफ्ट बनाउन थाल्दा त घरकाले नै मैले बनाउन सक्छु भनेर विश्वास गरेका थिएनन् । तर, लगभग १५ दिनमा नै तयार गरेँ । पूर्ण रूपमा तयार हुन बाँकी रहेपनि हामीले यसको प्रयोग थालिसकेका छौँ ।”

नेपालमा अधिकांश लिफ्टहरू चीनबाट ल्याएर एसेम्बल गर्ने भएकाले महँगो पर्ने गरेको उनी बताउँछन् । त्यसैले सस्तोमा लिफ्ट बनाउने प्रयास गरेको सुनाउँदै कर्माचार्य भन्छन्, “मैले यो नेपालमा नै बनाउन सम्भव छ भनेर देखाएपछि अरूले भए पनि बनाउँछन् भनेर बनाएको हुँ ।”

हाल उनले घरमा राखेको लिफ्टमा सुरक्षाका लागि सामान्य डन्डी राखेका छन् । लिफ्टलाई तल माथि लैजान रिमोट र बटन प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । हरियो बटनमा थिचेर माथिल्लो तलामा जाने र रातोमा थिचेर लिफ्टलाई तल लैजाने व्यवस्था मिलाइएको हो ।

सामान्य लिफ्टको माथिल्लो भागमा एउटा मात्र वायरको प्रयोग हुने गरेकोमा आफूले सुरक्षाका लागि दुई वटा वायरको प्रयोग गरेको कर्माचार्य सुनाउँछन् । उनी थप्छन्, “यदि एउटा तार चुँडियो भने पनि अर्कोले धान्छ । यदि दुवै तार चुँडियो भने पनि मेकानिकल ब्रेक राखिएको छ । यसले तार चुँडियो भने लिफ्ट बीचमै रोकिदिन्छ । तल खस्दैन । यसले दुर्घटनाबाट जोगाउँछ ।”

यो लिफ्टले ५०० केजीसम्मको तौल सजिलै उठाउन सक्छ । २ देखि ५ तलासम्मको घरका लागि यो लिफ्ट उपयुक्त रहेको बताइएको छ । बजारमा पाइने चिनियाँ वा अन्य विदेशी लिफ्टको मूल्य १८ देखि २० लाख पर्ने गरेका छन् । तर, कर्माचार्यले ६ लाखदेखि ९ लाख रुपैयाँमै यो लिफ्ट तयार पार्न सकिने बताए ।

उक्त लिफ्टमा कुन तलामा जाने भनेर रोज्न सकिने सुविधा भने हाल उपलब्ध छैन । यसलाई थप गर्ने र ढोका जडानको काम पनि बाँकी रहेको बताउँदै उनी भन्छन्, “मेरो घरको भर्‍याङमा सानो मात्र खाली ठाउँ भएकाले सानो बनाउन सकेँ । तर स्पेस धेरै भएमा ठुलो बनाउन सकिन्छ ।”

 

पछिल्लो अध्यावधिक: फागुन ६, २०८२ १६:४३