भारतको गलगोटिया युनिभर्सिटीले चिनियाँ रोबोटलाई आफ्नो भन्दै प्रस्तुत गरेपछि एआई समिटकै बेइज्जत
फागुन ७, २०८२ ११:१८
काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित 'इन्डिया एआई इम्प्याक्ट समिट २०२६' का क्रममा भएको एउटा अनौठो र लज्जास्पद घटना सार्वजनिक भएको छ । नोएडास्थित निजी क्षेत्रको गलगोटिया युनिभर्सिटीले चीनमा बनेको व्यावसायिक रोबोटिक कुकुरलाई आफ्नो विश्वविद्यालयको आफ्नै आविष्कार भन्दै प्रदर्शनीमा राखेपछि उक्त संस्थालाई समिटबाटै बाहिर निकालिएको हो ।
युनिभर्सिटीकी सञ्चार विभागकी प्रोफेसर नेहा सिंहले सरकारी टेलिभिजन डीडी न्युजसँगको कुराकानीमा ओरायन (Orion) नामक रोबोटिक कुकुर युनिभर्सिटीको सेन्टर अफ एक्सीलेन्सले विकास गरेको दाबी गरेकी थिइन् । तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तुरुन्तै उक्त रोबोट चीनको युनिट्री रोबोटिक्स (Unitree Robotics) कम्पनीले बनाएको युनिट्री गो २ (Unitree Go2) मोडेल भएको पहिचान गरे । यो रोबोट बजारमा करिब १,६०० देखि २,८०० अमेरिकी डलर (करिब २ देखि ३ लाख भारु) मा सजिलै किन्न पाइन्छ ।
यस घटनाले भारतको एआई र एड्भान्स प्रोडक्टको विश्वव्यापी केन्द्र बन्ने लक्ष्यमा धक्का पुर्याएको भन्दै त्यहाँको सरकारले कडा कदम चालेको छ । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले गलगोटिया युनिभर्सिटीको स्टल तुरुन्तै हटाउन आदेश दिएको थियो ।
सूचना प्रविधि सचिव एस कृष्णनले विश्व स्तरको आविष्कार प्रदर्शन गर्ने मञ्चमा यस्तो बौद्धिक चोरी र भ्रामक दाबी स्वीकार्य नहुने बताएका छन् । विवाद बढेपछि युनिभर्सिटीको स्टलको बिजुली काटिएको थियो र कर्मचारीहरूलाई परिसर छाड्न भनिएको थियो ।
आलोचना चुलिएपछि गलगोटिया युनिभर्सिटीले सार्वजनिक रूपमा माफी मागेको छ । युनिभर्सिटीले आफ्नो प्रतिनिधि प्रोफेसर नेहा सिंह 'कम जानकार' भएको र उनले उत्साहमा गलत जानकारी दिएको दाबी गरेको छ । युनिभर्सिटीका रजिस्ट्रार नितिनकुमार गौरले यो डेभलप (विकास गर्ने) र डेभलपमेन्ट (अनुसन्धानका लागि प्रयोग गर्ने) भन्ने शब्दहरू बीचको अन्योल मात्र भएको तर्क गरेका छन् । उनले रोबोट विद्यार्थीहरूलाई अनुसन्धानमा प्रेरित गर्न किनिएको बताएका छन् ।
विवाद रोबोटिक कुकुरमा मात्र सीमित रहेन । युनिभर्सिटीले पूर्ण रूपमा स्वदेशमै निर्मित भनेर दाबी गरेको सकर ड्रोन (Soccer Drone) माथि पनि प्रश्न उठेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त ड्रोन दक्षिण कोरियाली कम्पनी हेल्सेल ग्रुप (Helsel Group) को स्ट्राइकर भी३ (Striker V3) मोडेल भएको दाबी गरेका छन् । जसको मूल्य करिब ४० हजार भारु पर्छ ।
यो समिटमा केवल रोबोटको विवाद मात्र होइन, अन्य थुप्रै प्रकारका अव्यवस्था समेत देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । प्रदर्शकहरूले सामान चोरी भएको, स्थिर इन्टरनेट नभएको र अत्यधिक भीआईपी मुभमेन्टका कारण समस्या भोग्नुपरेको गुनासो गरेका छन् । भारतीय विपक्षी नेता राहुल गान्धीले यस घटनालाई 'अव्यवस्थित पीआर तमासा' को संज्ञा दिँदै भारतको प्रतिभा र डेटाको सट्टा चिनियाँ उत्पादन प्रदर्शन हुनु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।
द इन्डियन एक्सप्रेसले यो घटना केवल एउटा विश्वविद्यालयको गल्ती मात्र नभई भारतको एआई इकोसिस्टममा देखिएको कमजोरीको सङ्केत भएको टिप्पणी गरेको छ । वास्तविक अनुसन्धान र क्षमता निर्माण गर्नुको सट्टा केवल बाहिरी चमकधमक र देखावटीमा लाग्दा यस्ता समस्या उत्पन्न हुने विश्लेषण गरिएको छ । यो समिटमा गुगलका सीईओ सुन्दर पिचाई, ओपन एआईका साम अल्टम्यान जस्ता दिग्गजहरूको उपस्थिति रहेको सन्दर्भमा यस्तो विवादले भारतको विश्वसनीयतामा प्रश्न उठाएको एपी न्युजले उल्लेख गरेको छ ।
पछिल्लो अध्यावधिक: फागुन ७, २०८२ ११:१८
