काठमाडौँ । मेटाले आफ्नो लोकप्रिय मेसेजिङ सेवा मेसेन्जरको छुट्टै वेबसाइट (messenger.com) लाई सधैँका लागि बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले आफ्नो आधिकारिक हेल्प पेजमार्फत सन् २०२६ को अप्रिल महिनादेखि यो वेबसाइट उपलब्ध नहुने जानकारी दिएको हो ।
मेसेन्जरको छुट्टै वेबसाइट बन्द भएपछि कम्प्युटरमा मेसेन्जर चलाउन खोज्ने प्रयोगकर्ताहरूलाई स्वचालित रूपमा फेसबुकको मुख्य वेबसाइटभित्र रहेको मेसेज सेक्सन (facebook.com/messages) मा पठाइनेछ । प्रयोगकर्ताहरूले मोबाइलमा भने मेसेन्जर एप पहिले झैँ प्रयोग गर्न सक्नेछन् ।
तर फेसबुक अकाउन्ट नभएका वा आफ्नो फेसबुक अकाउन्ट निष्क्रिय (deactivate) गरेका प्रयोगकर्ताहरूका लागि भने यो खबर चुनौतीपूर्ण हुन सक्छ । यस्ता प्रयोगकर्ताहरूले अब कम्प्युटर वा वेब ब्राउजरमा मेसेन्जर चलाउन पाउने छैनन् र उनीहरू केवल मोबाइल एपमा मात्र सीमित हुनुपर्ने छ ।
मेटाको यो निर्णयप्रति धेरै प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन् । विशेषगरी फेसबुक चलाउन नचाहने, तर मेसेन्जर मात्र प्रयोग गर्नेहरूका लागि यो झन्झटिलो हुने देखिएको छ । मेटाले विभिन्न प्लेटफर्महरू मेन्टिनेन्स र सञ्चालन गर्दा लाग्ने खर्च कम गर्नका लागि यस्तो कदम चालेको बताइएको छ । यसअघि नै मेटाले विन्डोज र म्याकका लागि मेसेन्जरको छुट्टै डेस्कटप एप बन्द गरिसकेको छ ।
मेसेन्जर सन् २००८ मा फेसबुक च्याटको रूपमा सुरु भएको थियो । सन् २०११ मा यसलाई छुट्टै एपको रूपमा ल्याइयो । सन् २०१४ मा मेटाले प्रयोगकर्ताहरूलाई मेसेन्जर एप चलाउन प्रोत्साहित गर्न मुख्य फेसबुक एपबाट मेसेज पठाउने सुविधा हटाएको थियो । तर सन् २०२३ देखि यो प्रक्रियालाई उल्ट्याउँदै मेटाले मेसेन्जरलाई फेरि फेसबुकभित्रै गाभ्न सुरु गर्यो ।
वेबसाइट बन्द भए पनि प्रयोगकर्ताहरूले आफ्नो पुरानो च्याट हिस्ट्री सुरक्षित रूपमा हेर्न पाउनेछन् । यसका लागि प्रयोगकर्ताले सुरुमा ब्याकअप बनाउँदा राखेको पिन (PIN) नम्बर प्रयोग गर्नुपर्ने छ । यदि कसैले आफ्नो पिन बिर्सिएको खण्डमा त्यसलाई रिसेट गर्ने सुविधा पनि उपलब्ध हुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन ८, २०८२ ७:५१
