एआई इम्प्याक्ट समिटमा बोल्दै नेपालको एआई क्षेत्रमा लगानी गर्ने सीजी कर्पको सङ्केत
फागुन ८, २०८२ ११:३६
काठमाडौँ । चौधरी ग्रुप तथा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले नेपालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा केवल उपभोग गर्ने राष्ट्रको रूपमा मात्र सीमित हुन नहुने बताएका छन् । भारतको दिल्लीमा आयोजित एआई इम्प्याक्ट समिटलाई सम्बोधन गर्दै उनले अब यसको विकास र निर्माणमा नेतृत्वदायी भूमिकामा समेत नेपाल उत्रिनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
सम्मेलनमा बोल्दै चौधरीले नेपाललाई भारतको 'प्राकृतिक साझेदार' को रूपमा चित्रण गरे । एआई इम्प्याक्ट समिटमा उनले नेपालको सूचना प्रविधि (आईटी) इकोसिस्टम तीव्र गतिमा विकास भइरहेको छ र नेपाली युवाहरूमा विश्वस्तरको प्राविधिक क्षमता रहेको बताए ।
"नेपालसँग प्रतिभा छ । अब त्यो प्रतिभालाई एआई अनुसन्धान र आफ्नै मौलिक मोडेल विकासमा केन्द्रित गर्नुपर्छ," चौधरीले सम्मेलनमा जोड दिँदै भने । विकसित मुलुकहरूले एआईलाई मुख्यतया गेमिङ र अटोमोबाइल क्षेत्रमा केन्द्रित गरिरहेको सन्दर्भमा चौधरीले दक्षिण एसियाली मुलुकहरूका लागि यसको प्राथमिकता फरक हुनुपर्ने बताए ।
उनले एआईको प्रयोग कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेर समाजको अन्तिम पङ्क्तिमा रहेका नागरिकसम्म प्रविधिको लाभ पुर्याउनुपर्नेमा जोड दिए । "एआईको भविष्य भनेको जनताको भविष्य हो," उनले भने ।
वर्तमान युवा पुस्ता, विशेष गरी जेन जी, परिणाममुखी र डिजिटल माध्यममा बढी केन्द्रित रहेको उल्लेख गर्दै चौधरीले उनीहरूको आकाङ्क्षा पूरा गर्न एआई एउटा महत्त्वपूर्ण माध्यम बन्न सक्ने बताए । नेपालले अब अनुसन्धान तथा विकासमा ठुलो लगानी गरी आफ्नै एआई सोलुसन विकास गर्ने दिशामा अघि बढ्नुपर्ने उनको सुझाव छ ।
नेपाल हाल धेरै पश्चिमी कम्पनीहरूको लागि 'टेक्नोलोजी ब्याकएन्ड' बन्दै गएको स्थितिमा भविष्यमा एआई क्षेत्रमा पनि ठुलो साझेदारीको सम्भावना रहेको छ । एआई इम्प्याक्ट समिटमा चौधरीले आफ्नो समूह सीजी कर्पले आगामी दिनमा एआई क्षेत्रमा लगानी र सहकार्य विस्तार गर्ने सङ्केत दिएका छन् । उनले भारतका केही एआई कम्पनीहरूसँग साझेदारीको सम्भावना समेत खुला राखेका छन् ।
पछिल्लो अध्यावधिक: फागुन ८, २०८२ ११:४३
