close

नेकपाको झन्डा अपमान गरेकाे भिडिओ भाइरल भएपछि किशोरीले मागिन् माफी

‘राजनीतिक चेत नहुँदा अन्जानमा गल्ती भयो’

टेकपाना टेकपाना

फागुन ९, २०८२ १६:१९

नेकपाको झन्डा अपमान गरेकाे भिडिओ भाइरल भएपछि किशोरीले मागिन् माफी

काठमाडाैँ । सामाजिक सञ्जाल टिकटकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को निर्वाचन चिन्ह तारा अंकित झण्डाको अपमान गरेको भिडिओ भाइरल भएपछि सम्बन्धित किशोरीले सार्वजनिक रूपमा माफी मागेकी छिन् । किशोरीले एक भिडिओमार्फत आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेपछि नेकपा निकट जेनजेड रेड फोर्सले उनीमाथि कानुनी कारबाही प्रक्रिया अगाडि नबढाउने भएको छ ।

‘Sisam Nepal’ नामक टिकटक आईडीबाट अपलोड भिडिओमा ती किशोरीले झण्डा च्यात्ने, जुत्ताले कुल्चने र थुक्ने अशोभनीय कार्य गरेकी थिइन् । भिडिओलाई लिएर अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । 

भिडिओ भाइरल भएपछि किशोरीले आफूसँग कुनै राजनीतिक चेतना नभएको र साथीहरूको लहलहैमा लागेर अन्जानवश गल्ती हुन गएको बताएकी छिन् । उनले सबै राजनीतिक दलहरूप्रति सम्मान रहेको उल्लेख गर्दै आगामी दिनमा यस्तो कार्य नदोहोर्‍याउने प्रतिबद्धता जनाएकी छिन् ।

उनले भनेकी छिन्, “हामी विवाहमा जन्ती जाने क्रममा साथीभाइको लहलहैमा लागेर तारा अंकित झण्डाको अपमान हुने गरी भिडिओ बनाई अन्जानवश साथीको सामाजिक सञ्जालमा पोस्ट हुन गएको हुँदा उक्त कार्यप्रति क्षमायाचना गर्दछु । कुनै राजनीतिक चेतना नभएका हामी जेनजीहरूले सबै राजनीतिक दलहरूप्रति सम्मान गर्नुपर्दछ । साथै कसैले पनि यस्तो कार्य नगर्नुहुन अनुरोध गर्दछु ।”

किशोरीले गल्ती महसुस गरेर माफी मागेपछि जेनजेड रेड फोर्सकी संयोजक स्मृति तिमिल्सिनाले कानुनी प्रक्रिया अगाडि नबढाउने बताइन् । संयोजक तिमिल्सिनाले फेसबुक पोस्टमा भनिन्, “बहिनी, गल्ती सबैबाट हुन्छ। तपाईंले आफ्नो गल्तीको पश्चात्ताप गर्नु भयो, यही नै सबैभन्दा ठुलो कुरा हो । आगामी दिनमा यस्ता कुनै पनि कदम चाल्नु अघि कृपया राम्रोसँग सोच्नु होला ।”

उनले किशोरीलाई आगामी दिनमा सचेत रहन आग्रह गर्दै थपिन्, “तपाईंलाई कुनै पार्टी मन नपर्न सक्छ, कुनै व्यक्ति मन नपर्न सक्छ- त्यो तपाईंको अधिकार हो । मन नपरेमा मत नहाल्नुहोस्, आफ्नो असहमति लोकतान्त्रिक तरिकाले व्यक्त गर्नुहोस् । तर अरूको आस्था र विश्वासमा आघात पुग्ने, कसैको मन दुख्ने काम भने नगर्नु होला । आपसी सम्मान र सहिष्णुताले नै समाज बलियो बन्छ ।”

पछिल्लो अध्यावधिक: फागुन ९, २०८२ १६:४९