close

एमालेको झन्डा जलाएको आरोपमा पक्राउ परेकाहरू कुनै राजनीतिक दलमा आबद्ध भएको खुलेको छैन: प्रहरी

टेकपाना टेकपाना

फागुन ९, २०८२ १८:४४

एमालेको झन्डा जलाएको आरोपमा पक्राउ परेकाहरू कुनै राजनीतिक दलमा आबद्ध भएको खुलेको छैन: प्रहरी

 

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय दाङले तुलसीपुरमा नेकपा (एमाले) को झण्डा जलाएको आरोपमा पक्राउ परेका तीन व्यक्तिको कुनै पनि राजनीतिक दलसँग आबद्धता नखुलेको स्पष्ट पारेको छ । तुलसीपुर उप-महानगरपालिका-५ स्थित वीरेन्द्र चोकमा एमालेको चुनाव चिह्न अङ्कित झण्डा जलाएको आरोपमा पक्राउ परेकाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा एमालेकै कार्यकर्ता रहेको भन्दै सामाजिक सञ्जालमा प्रचार भइरहेका बेला प्रहरीले सो दाबीको खण्डन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले सामाजिक सञ्जालमा आएका दाबीमा सत्यता नरहेको बताए । उनले भने, ‘‘पक्राउ परेका तीनै जना कुन पार्टीमा आबद्ध थिए भन्ने अहिलेसम्म खुलिसकेको छैन । हामी अनुसन्धान गर्दैछौं, त्यसपछि मात्रै यथार्थ खुल्न सक्छ ।’’

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तुलसीपुरकै ३० वर्षीय रमेश राना मगर, २४ वर्षीय विक्रम परियार र ५५ वर्षीय बुद्धिबहादुर बस्नेत रहेका छन् । मगर र परियारलाई शनिबार तथा बस्नेतलाई शुक्रबार पक्राउ गरिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ९, २०८२ १८:४५