फ्याक्टचेक: हर्क साम्पाङ र विश्व लिम्बुले रक्सी-सेकुवा खाए भन्दै भाइरल फोटो एआई म्यानिपुलेसन
फागुन १०, २०८२ १८:३८
काठमाडौँ । युट्युबर विश्व लिम्बु र श्रम संस्कृति पार्टीका संस्थापक हर्क साम्पाङले मासु र रेड लेबल रक्सि खाएको जस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा केही दिनयता फैलिरहेको छ । जनताबाट पैसा लिएर महँगो रक्सी र मासु खाएको दाबीसहित सामाजिक सञ्जालमा भाइरल गराइएको छ ।
तर, टेकपानाको तथ्यजाँचका क्रममा विश्व लिम्बु र हर्क सम्पाङको पडकास्टको क्रममा खिचेको फोटोलाई एआईबाट परिमार्जित गरेको भ्रम फैलाइएको पुष्टि भएको छ ।
दाबी
फेसबुक पेज ‘राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश न:१ झपा ५’ ले ३१ फेब्रुअरी दिउँसो ३:१८ मा रातभरी बसेर रेड लेबल र सेकुवा खाएको दाबी सहित एक तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा हर्क साम्पाङले हातमा रक्सीको गिलास लिएको जस्तो देखिन्छ । विश्व लिम्बुको हातमा मासु देखिएको छ भने हात नजिकै हावामा उडेको जस्तो गरि रक्सी भएको गिलास देखिएको छ । उनीहरू बसेभन्दा अगाडि टेबल छ । जहाँ ‘Red Label’ ब्रान्डको रक्सीको बोतल र प्लेटमा मासु देखिएको छ ।
पोस्टको स्टाटसमा लेखिएको छ, “तेरिमा माका डक्स दिन भरि भिख माग्यो रातभरी रेटलेबल र सेकुवा Harka Sampang A Revolution 🤣🤣” । उक्त पोस्टमा यो सामग्री तयार पार्दा सम्ममा ११ सय बढि रियाक्सन र ११३ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

अनुसन्धान
‘Bhim Jung Xettry’ ले २१ फेब्रुअरी राति ९:५४ मा पनि सोही दाबी सहित पोस्ट गरेको फेला पर्यो । उक्त पोस्टको स्टाटसमा लेखिएको छ, “तेरि माका ढक्स दिन भरि भिख माग्यो रातभरी रेटलेबल र सेकुवा 🤣” । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

फेसबुक प्रयोगकर्ता ‘Yagam Xettri’ ले पनि सोही दाबीसहित पोस्ट गरेका छन् । २२ फेब्रुअरी बिहान ९:५२ मा शेयर गरिएको उक्त पोस्टको स्टाटसमा लेखिएको छ, “तेरिमा माका डक्स दिन भरि भिख माग्यो रातभरी रेटलेबल र सेकुवा Harka Sampang A Revolution #hightlight #facebookpost” ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

गुगल रिभर्स इभेज सर्च गर्दा ‘Harka Sampang A Revolution’ पेजबाट हर्क साम्पाङले सार्वजनिक तथा शेयर गरेको पोस्ट र भिडिओको कमेन्ट सेक्सनमा पनि उक्त फोटो शेयर गरेको पाइयो । हेर्नुहोस् स्क्रिनशटहरू

राति ८:५३ मा शेयर गरेको एक पोस्टमा ‘Raj Shrestha’, ‘Balen Keto’ नामका फेसबुक प्रयोगकर्ताहरूले पनि सोही फोटो शेयर गरेको पाइयो ।


साम्पाङले २१ फेब्रुअरी राति ८:०९ मा शेयर गरेको एक भिडिओमा ‘बिरहि सागर’ नामका प्रयोगकर्ताले उक्त फोटो कमेन्ट गरेका छन् ।

हामीले यो तस्बिर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शेयर गरिरहेको पाइएपछि उक्त तस्बिरलाई एआई डिटेक्सन टुल हाइभ मोडेरेसनमा राख्यौँ । उक्त तस्बिर ९५ % एआई निर्मित रहेको हाइभ मोडेरेसनले निष्कर्ष निकाल्यो ।

त्यसपछि हामीले गुगलमा ‘Bishwo Limbu Harka Sampang’, ‘हर्क साम्पाङ विश्व लिम्बू’ लगायतका किवर्ड सर्च गर्यौँ । ‘Meena Singak’ नामको फेसबुक प्रयोगकर्ताले १८ फेब्रुअरी दिउँसो ११:४२ मा सार्वजनिक गरेको पोस्ट फेला पर्यो । उक्त पोस्टमा विश्व लिम्बु र हर्क साम्पाङको गेटअप भाइरल तस्बिरसँग मिलेको जस्तो देखियो ।

त्यसपछि हामीले हर्क साम्पाङको फेसबुक पेज, विश्व लिम्बुको फेसबुक तथा युट्युब अकाउन्टहरू केलायौँ । खोज्दै जाने क्रममा विश्व लिम्बुको ३२ हजार भन्दा धेरै सब्स्क्राइबर रहेको युट्युब च्यानल ‘Biswa Limbu Vlogs’ मा १८ फेब्रुअरीमा सार्वजनिक भिडिओको थम्नेलमा भाइरल तस्बिरसँग मिलेको देखियो ।
‘Meeting Harka Sampang In Dharan’ शीर्षकमा सार्वजनिक उक्त भिडिओको थम्नेलमा विश्व लिम्बुले बुढी औँला ठड्याएका छन् । उनीहरूको अगाडी दुईओटा माइक समेत देख्न सकिन्छ ।

तल हेर्नुहोस् भाइरल फोटो र थम्नेलमा देखिएको तस्बिरको तुलना ।
दाबी
जनताको पैसाले रातभरि बसेर हर्क साम्पाङ र विश्व लिम्बुले रक्सी र सेकुवा खाए ।
दाबीकर्ता
फेसबुक पेज ‘राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश न:१ झपा ५’, फेसबुक अकाउन्टहरू ‘Bhim Jung Xettry’, ‘Yagam Xettri’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
हर्क साम्पाङ र विश्व लिम्बुले रक्सी र सेकुवा खाएको जस्तो देखिने तस्बिर एआईबाट म्यानिपुलेसन गरिएको हो । विश्व लिम्बु र हर्क साम्पाङको पडकास्टका क्रममा खिचिएको भ्लग युट्युबमा १८ फेब्रुअरीमा सार्वजनिक भएको छ । उक्त भिडिओको थम्नेलमा राखिएको तस्बिरलाई एआईबाट परिमार्जित गरेर रक्सी र मासु खाएको जस्तो देखिने गरि तयार पारिएको हो ।
निष्कर्ष
हर्क साम्पाङ र विश्व लिम्बुले रक्सी र सेकुवा खाएको दाबी र तस्बिर भ्रामक हो ।
पछिल्लो अध्यावधिक: फागुन १०, २०८२ १८:४९
