close

नथिङ फोन ४ ए को डिजाइन सार्वजनिक, आगामी ४ मार्चमा सार्वजनिक हुने पक्का

टेकपाना टेकपाना

फागुन १२, २०८२ १२:५९

नथिङ फोन ४ ए को डिजाइन सार्वजनिक, आगामी ४ मार्चमा सार्वजनिक हुने पक्का

काठमाडौँ । नथिङ कम्पनीले आफ्नो आगामी मिड-रेन्ज स्मार्टफोन 'फोन ४ ए'को आधिकारिक डिजाइन सार्वजनिक गरेको छ । कम्पनीले सामाजिक सञ्जाल मार्फत यो नयाँ फोनको परिष्कृत डिजाइनको स्पष्ट झलक देखाएको हो ।

कम्पनीले सार्वजनिक गरेको तस्विरले यसको लुक्सबारे स्पष्ट जानकारी दिएको छ । यस पटकको डिजाइनमा सबैभन्दा ठुलो परिवर्तन यसको 'ग्लिफ बार' मा देखिएको छ । पहिलेका मोडेलहरूमा छरिएर रहेका एलईडी स्ट्रिपहरूको सट्टा यसमा क्यामेरा मोड्युलको दायाँतिर एउटा सिधा रेखामा लाइटहरू राखिएका छन् ।

यो बारमा सातवटा वर्गाकार लाइटहरू छन् । जसमा ६ वटा सेतो र एउटा रातो रङको छ । यसमा जम्मा नौवटा एकएक गरी नियन्त्रण गर्न सकिने मिनी-एलईडीहरू रहेका छन् । यो नयाँ लाइट प्रणाली पुरानो फोन ३ ए को तुलनामा ४०% बढी चम्किलो रहेको बताइएको छ, जसले प्रयोगकर्तालाई नोटिफिकेसनहरूमा बढी केन्द्रित गराउने लक्ष्य राखेको छ ।

डिजाइन र रङको नयाँ प्रयोग

यो फोनको समग्र बनावट नथिङको चिरपरिचित पारदर्शी शैलीमै आधारित छ । फोन ४ ए को डिजाइन पहिलेका केही अनौठा प्रयोगहरूको तुलनामा सामान्य देखिन्छ । यसमा पिल-आकारको हाउजिङ भित्र तेर्सो रूपमा राखिएको क्यामेरा सेटअप रहेको छ ।

आधिकारिक टिजरहरूमा सेतो र सिल्भर मोडेल देखाइएको छ । नथिङले यो फोनमा स्न्यापड्रागन चिपसेट प्रयोग हुने आधिकारिक रूपमा पुष्टि गरिसकेको छ । फोनअरेनाका अनुसार यसमा Snapdragon 7s Gen 4 चिप हुन सक्छ । लिक भएका जानकारीहरू अनुसार यसमा ६.७८ इन्चको एमोलेड डिस्प्ले, १२ जीबीसम्मको र्‍याम, २५६ जीबी स्टोरेज र ५,४०० एमएएचको ठुलो ब्याट्री रहने सम्भावना छ । जसले ५० वाटको फास्ट चार्जिङ सपोर्ट गर्नेछ । कम्पनीका संस्थापक कार्ल पेईले यो सिरिजलाई बजेट फोन मात्र नभई फ्ल्यागशिप अनुभवको नजिक लैजानका लागि क्यामेरा र डिस्प्लेमा ठुलो सुधार गर्ने वाचा गरेका छन् ।

यो फोन आगामी ५ मार्चमा लन्डनको प्रतिष्ठित सेन्ट्रल सेन्ट मार्टिन्स आर्ट स्कुलमा आयोजना हुने कार्यक्रममार्फत सार्वजनिक गरिनेछ । कार्ल पेईले यस वर्ष फोन ४ को कुनै पनि फ्ल्यागशिप मोडेल नआउने स्पष्ट पारेका छन् । कम्पनीले यस वर्ष फोन ४ ए लाई नै आफ्नो मुख्य उत्पादनको रूपमा प्रस्तुत गर्न चाहेको छ । ताकि हरेक अपग्रेड प्रयोगकर्ताका लागि अर्थपूर्ण रहोस् । तबसम्मका लागि नथिङ फोन ३ नै कम्पनीको शीर्ष फ्ल्यागशिप फोनको रूपमा कायम रहनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १२, २०८२ १३:०