close

फ्याक्टचेकः ‘पहिले संसद जल्यो, त्यसपछि गोली चल्यो’ भन्ने नारा घोकाएको भन्दै भाइरल भिडिओ वास्तविक

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन १२, २०८२ १४:५७

फ्याक्टचेकः ‘पहिले संसद जल्यो, त्यसपछि गोली चल्यो’ भन्ने नारा घोकाएको भन्दै भाइरल भिडिओ वास्तविक

काठमाडौँ । पछिल्ला केही दिनयता सामाजिक सञ्जाल फेसबुक, एक्स र टिकटकमा नेकपा एमालेका एक नेताले आफ्ना कार्यकर्ताहरूलाई ‘पहिले संसद् जल्यो, त्यसपछि गोली चल्यो’ भन्ने नारा लगाउन सिकाइरहेको भिडिओ निकै चर्चामा छ । एउटा हलभित्र उपस्थित कार्यकर्ताहरूलाई उक्त नारा सिकाइएको भिडिओको वास्तविकता जाँच्न टेकपाना फ्याक्टचेक डेस्कलाई विभिन्न माध्यमबाट अनुरोध प्राप्त भएका थिए ।

हाम्रो तथ्य जाँचका क्रममा एमाले नेताले कार्यकर्तालाई नारा सिकाइरहेको उक्त भिडिओ वास्तविक नै रहेको पुष्टि भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ मा शनिबार 'सुरक्षा कमान्ड घोषणा' कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले कार्यकर्ताहरूलाई उक्त नारा लगाउन सिकाएका थिए ।

दाबी

आइतबार, २२ फेब्रुअरी २०२६ बिहान ११ः४६ बजे ‘Positive Dhading’ नामक फेसबुक पेजले १३ सेकेन्डको भिडिओ पोस्ट गर्‍यो । भिडिओमा एक व्यक्तिले एक हातमा माइक र अर्को हातमा कागज बोकेको देखिन्छ । हलमा उपस्थित अन्य सहभागी आफ्नो सिटबाट उठेर ती व्यक्तिले लगाएको नारा दोहोर्‍याइरहेका छन् । भिडिओमा नाराको नेतृत्व गर्ने व्यक्ति सुरुमा भन्छन्, ‘पहिला संसद् जल्यो ।’ लगत्तै हलमा भएका व्यक्ति दोहोर्‍याउँछन्, ‘पहिला संसद् जल्यो ।’ त्यसपछि अगुवा भन्छन्, ‘पछि गोली चल्यो ।’ सहभागीले पनि सोही कुरा दोहोर्‍याउँछन् । 

फेरि अगुवा भन्छन्, ‘मलाई थाहा छ ।’ हलका मानिसहरू पनि एकै स्वरमा भन्छन्, ‘मलाई थाहा छ ।’ यसपछि ती व्यक्तिले फेरि भन्छन्, ‘पहिला संसद् जल्यो, पछि गोली चल्यो ।’ अनि हलमा भएका व्यक्तिहरूले पुनः त्यही नारा दोहोर्‍याउँछन् ।

यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ९०० बढी रियाक्सन र ३८४ ओटा कमेन्ट आएका छन् । एक लाख ३७ हजार भन्दा बढी पटक हेरिएको सो भिडिओलाई २६० पटक शेयर गरिएको छ । हेर्नुहोस् भिडिओ र स्क्रिन रेकर्ड ।

अनुसन्धान

दाबीको अनुसन्धान गर्न उक्त भिडिओबाट किफ्रेम निकालेर रिभर्स इमेज सर्च गर्दा ‘Bikash Shahi’ नामक प्रयोगकर्ताले आइतबार दिउसो १ः३२ बजे १३ सेकेन्डको भिडिओ राखेको फेला पर्‍यो । उनले लेखेका छन्, “पहिला संसद जल्यो, पछि गोलि चल्यो, एमालेका कार्यकर्तालाई नारा लगाउन सिकाउदै” । हेर्नुहोस् ओरिजिनल पोस्ट । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा दुई हजार बढी रियाक्सन, ९०० बढी कमेन्ट आएका छन् । 

त्यस्तै इन्स्टाग्राममा ‘najnepal’ नामक अकाउन्टले भिडिओको स्क्रिनशट राख्दै लेखेको छ, “पहिला संसद ज!!ल्यो, अनि गो!!ली चल्यो” भन्ने नारा लगाउन एमालेका कार्यकर्ताहरूलाई सिकाउँदै गरेको एउटा भिडियो अहिले सामाजिक संजालमा भाईरल भएको छ ।” हेर्नुहोस् पोस्ट

एक्समा ‘Santosh Rimal’ नामका प्रयोगकर्ताले १३ सेकेन्डको त्यही भिडिओ शनिबार राति १०ः२६ बजे राखेका छन् । उनले लेखेका छन्, “मलाइ थाह छ,

 पहिले गोलि चल्यो अनि संसद भवन जल्यो ।

पहिला २३ गयो अनि २४ आयो ।

पहिला बालबालिका मार्यो अनि वलि भाग्यो।

अनि थाहा छ,

 जब एमाले सकिन्छ तब देश बनिन्छ ।।” हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

हामीले भिडिओको तथ्यजाँचका लागि गुगल रिभर्स इमेज सर्च गरि हेर्‍यौँ । त्यस क्रममा पोखराबाट सञ्चालित ‘kothkhabar’ नामक सञ्चार माध्यममा १० फागुन २०८२ मा ‘कास्की १ मा एमालेको सुरक्षा कमान्ड घोषणा, चुनाव लक्षित कार्यक्रम जारी’ शीर्षकको समाचार राखेको फेला पर्‍यो । हेर्नुहोस् समाचार । 

उक्त समाचारमा ‘नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज खगराज अधिकारीको उपस्थितिमा कमान्ड घोषणा गरिएको’ उल्लेख छ । हामीले खगराज अधिकारीको सामाजिक सञ्जाल विश्लेषण गर्‍यौँ । उनले शनिबार २१ फेब्रुअरी बेलुका ६ः१४ बजे पोस्ट राखेको फेला पर्‍यो । हेर्नुहोस् पोस्ट । 

उनले कार्यक्रमका फोटो राख्दै लेखेका छन्, “नेकपा(एमाले) प्रतिनिधि सभा निर्वाचन सुरक्षा परिचालन उप–समिति, क्षेत्र नं. १ कास्कीको सुरक्षा कमाण्ड घोषणा सभा भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। यस ऐतिहासिक उपस्थितिले नेकपा(एमाले) को विजय सुनिश्चित भएको सन्देश सम्पूर्ण जनतामा पुगेको छ। नेकपा(एमाले) जिन्दावाद✊✊✊” । यसबाट रातो क्याप लगाइ हातमा माइक लिएर अर्कोतर्फ फर्किएर नारा लगाउन सिकाउने व्यक्ति एमाले सचिव खगराज अधिकारी रहेको पुष्टि भयो । 

पहिले उनले कालो भातगाउले टोपी लगाएका थिए । त्यही कार्यक्रममा पछि उनले रातो क्याप लगाएका थिए । अर्थात् यो कार्यक्रम एमालेकै कार्यक्रम हो र भाइरल भिडिओमा देखिएको दृश्य वास्तविक हो । 

त्यसपछि हामीले अडियोको वास्तविकता जाँच्न एआई डिटेक्सन टुल हाइभ मोडरेसनमा राख्यौँ । सो टुलले उक्त भिडिओमा प्रयोग भएको आवाज वास्तविक भएको पुष्टि गर्‍यो । 

यसपछि हामीले उक्त अडियो त्यही भिडिओको हो वा अन्य कुनै भिडिओको हो भन्ने खोज्नतर्फ लाग्यौँ । सामान्यतः विभिन्न सामाजिक सञ्जालका प्लेटफर्ममा १३ सेकेन्डको भिडिओले चर्चा पाइरहेको देखियो । हामीले अध्ययनकै क्रममा क्वालिटी राम्रो भएको १ मिनेट २४ सेकेन्डको भिडिओ फेला पार्‍यौँ । हेर्नुहोस् भिडिओ । ‘तत्लो पुडिटार पोखरा ३३’ नामक फेसबुक पेजले राखेको भिडिओ भिडिओमा बोलिएको कुरा शब्दमा उतार्दा यस्तो आउँछ !

वक्ता: पहिला संसद जल्यो

समूह: पहिला संसद जल्यो

वक्ता: पछि गोली चल्यो

समूह: पछि गोली चल्यो

वक्ता: मलाई थाहा छ

समूह: मलाई थाहा छ

वक्ता: पहिला संसद जल्यो

समूह: पहिला संसद जल्यो

वक्ता: पछि गोली चल्यो

समूह: पछि गोली चल्यो

(वक्ताको सानो स्वर: अब शपथ ग्रहण... यसमा है... सबै सह-इन्चार्जहरू... सह-इन्चार्जहरू...)

वक्ता: जनताका विरोधीहरूबाट

समूह: जनताका विरोधीहरूबाट

वक्ता: सुरक्षित गर्न

समूह: सुरक्षित गर्न

वक्ता: प्रतिबद्ध रहनेछु

समूह: प्रतिबद्ध रहनेछु

वक्ता: म मतदाता

समूह: म मतदाता

वक्ता: पार्टी नेतृत्व

समूह: पार्टी नेतृत्व

वक्ता: र नीतिको

समूह: र नीतिको

वक्ता: नीतिको

समूह: नीतिको

वक्ता: सुरक्षाका लागि

समूह: सुरक्षाका लागि

वक्ता: प्रतिबद्ध

समूह: प्रतिबद्ध

वक्ता: रहनेछु

समूह: रहनेछु

वक्ता: निर्वाचनको दिन

समूह: निर्वाचनको दिन

वक्ता: मतदान स्थलको

समूह: मतदान स्थलको

वक्ता: सुरक्षा र

समूह: सुरक्षा र

वक्ता: मतपेटिकाको

समूह: मतपेटिकाको

वक्ता: सुरक्षाको

समूह: सुरक्षाको

वक्ता: ग्यारेन्टी गर्ने

समूह: ग्यारेन्टी गर्ने

वक्ता: प्रतिबद्धता व्यक्त गर्दछु

समूह: प्रतिबद्धता व्यक्त गर्दछु

वक्ता: हाम्रो पार्टी विरुद्ध

समूह: हाम्रो पार्टी विरुद्ध

वक्ता: गरिने

समूह: गरिने

वक्ता: हरेक षड्यन्त्र र

समूह: हरेक षड्यन्त्र र

वक्ता: भ्रम विरुद्ध

समूह: भ्रम विरुद्ध

वक्ता: दृढतापूर्वक उभिनेछु

समूह: दृढतापूर्वक उभिनेछु

वक्ता: म मेरो देशको निम्ति

समूह: म मेरो देशको निम्ति

वक्ता: अन्तिमसम्म

समूह: अन्तिमसम्म

वक्ता: साथ दिनेछु

समूह: साथ दिनेछु

वक्ता: किनकि

समूह: किनकि

वक्ता: मेरो देश पहिला

समूह: मेरो देश पहिला

वक्ता: धन्यवाद कमरेडहरू ।

आवाज र भिडिओको दृश्य सिङ्क भएको छ वा छैन भन्ने विश्लेषण गर्न १ः२४ सेकेन्डको भिडिओ नियाल्यौँ । स्लोमोसन, फास्ट मोसन आदिमा भिडिओको चाल र अडियोको गति विश्लेषण गर्दा हामी उक्त अडियो र भिडिओ एउटै भएको निष्कर्षमा पुग्यौँ ।

यी विभिन्न पक्षलाई विश्लेषण गर्दा एमालले नेता खगराज अधिकारीले कार्यकर्तालाई ‘पहिले संसद् जल्यो, पछि गोली चल्यो’ भन्ने नारा सिकाएको भन्दै भाइरल भइरहेको भिडिओ वास्तविक भएको पुष्टि भयो ।

दाबी

नेकपा एमालेका एक नेताले आफ्ना कार्यकर्ताहरूलाई हलभित्र उभ्याएर ‘पहिला संसद् जल्यो, पछि गोली चल्यो’ भन्ने नारा लगाउन सिकाए ।

दाबीकर्ता

‘Positive Dhading’, ‘Bikash Shahi’ नामका फेसबुक पेज तथा प्रयोगकर्ता, ‘najnepal’ नामक इन्स्टाग्राम प्रयोगकर्ता र ‘Santosh Rimal’ नामका एक्स प्रयोगकर्ता लगायत अन्य ।

तथ्य

यो भिडिओ नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ मा शनिबार आयोजना गरेको ‘सुरक्षा कमान्ड घोषणा’ कार्यक्रमको हो । सञ्चारमाध्यम ‘kothkhabar’ को समाचार र स्वयँ खगराज अधिकारीको फेसबुक पोस्टबाट यसको पुष्टि भएको छ ।

भिडिओमा रातो क्याप लगाएर माइक हातमा लिई नारा लगाउन सिकाउने व्यक्ति नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारी हुन् ।

एआई डिटेक्सन टुल ‘हाइभ मोडरेसन’ मा परीक्षण गर्दा भिडिओमा प्रयोग भएको आवाज वास्तविक भएको पुष्टि भएको छ ।

१ मिनेट २४ सेकेन्डको लामो भिडिओ प्राप्त गरी स्लो-मोसन र फास्ट-मोसनमा विश्लेषण गर्दा वक्ताको हाउभाउ, सहभागीको ओठको चाल र आवाज (अडियो) पूर्ण रूपमा सिङ्क भएको पाइयो । यसबाट अडियो र भिडिओ एउटै भएको तथा अन्यत्रबाट ल्याएर नजोडिएको प्रमाणित भयो ।

निष्कर्ष 

एमालेले आफ्ना कार्यकर्तालाई ‘पहिले संसद जल्यो, पछि गोली चल्यो’ भन्ने नारा सिकाइरहेको छ भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओ वास्तविक हो ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १२, २०८२ १६:४६