बुवाआमा, गुरुहरूको अगाडि घरमा बोल्न नसकिने शब्द सामाजिक सञ्जालमा पनि प्रयोग नगरौँ: सुमना
फागुन १३, २०८२ २३:२७
फाइल तस्बिर
काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले पछिल्लो समय सामाजिक सञ्जालमा राजनीतिक दलका नेताहरूलाई लक्षित गरी एआईको प्रयोगमार्फत फेक अडियो र भिडिओहरू बनाउने क्रम बढेको भन्दै त्यसतर्फ सजग रहन सर्वसाधारणलाई आह्वान गरेकी छिन् ।
बुधबार सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै श्रेष्ठले भर्चुअल संसार पनि भौतिक समाजकै एउटा हिस्सा भएको र यसलाई बस्न योग्य बनाउने जिम्मेवारी सबैको भएको बताइन् । उनले भनिन्, “अचेल जुनसुकै राजनीतिक दल वा नेताको सामाजिक सञ्जाल हेरिनसक्नु भएको छ । एआई प्रयोग गरेर फेक अडियो र भिडिओहरू बनाइँदैछ, यसबाट हामी सजग रहनुपर्छ ।”
श्रेष्ठले सामाजिक सञ्जालमा प्रयोग गरिने भाषा र व्यवहारका बारेमा प्रश्न उठाउँदै मानिसहरूलाई आत्मसमीक्षा गर्न आग्रह गरिन् । उनले भनिन्, “यदि सामाजिक सञ्जालमा हामीले त्यो शब्द प्रयोग गर्छौं, जुन हामीले हाम्रो घरमा प्रयोग गर्दैनौं, हामीले हाम्रो बुवाआमाको अगाडि प्रयोग गर्दैनौं, हामीले हाम्रो गुरुहरूको अगाडि प्रयोग गर्दैनौं, हामीले हाम्रो बच्चाहरूको अगाडि प्रयोग गर्दैनौं भने त्यो शब्द सामाजिक सञ्जालमा पनि प्रयोग हुनु नहुने शब्द हो ।”
विकासको परिभाषा भौतिक पूर्वाधार मात्र नभई 'बस्न योग्य समाज' पनि भएको उनको तर्क छ । नेपाल सामाजिक सञ्जालमा धेरै समय बिताउने मुलुकमध्ये एक भएको उल्लेख गर्दै उनले यहाँ व्यक्त हुने टिप्पणीहरूले समाजको स्तर झल्काउने बताइन् ।
राष्टिय स्वतन्त्र पार्टीका पूर्व नेतृसमेत रहेकी श्रेष्ठले राजनीतिक दलका नेता, कार्यकर्ता र समर्थकहरूलाई जिम्मेवार बन्न आग्रह गरिन् । आफ्नो विपक्षीलाई गाली गर्दा रमाउने प्रवृत्तिले कसैको हित नगर्ने भन्दै उनले राजनीतिक नेतृत्वलाई एक सभ्य मापदण्ड तय गर्न अनुरोध गरिन् ।
उनले भनिन्, “चुनाव आउँछ जान्छ, तर चुनावले गर्दाखेरि सामाजिक सद्भाव बिथोलिनु भएन,” उनले भनिन्, “यो नबिथोलिनको लागि हामी हरेक जना नै जिम्मेवार बन्नुपर्छ, रेस्पोन्सिबल बन्नुपर्छ । आफूले लेखेको कमेन्टहरूको उत्तरदायी अलि चाहिँ हुनुपर्छ । मैले यही अनुरोध गरेँ ।”
पछिल्लो अध्यावधिक: फागुन १३, २०८२ ०:२
