रेड्मी नोट १५ प्रो फाइभजीः बजारमा आएको नयाँ स्मार्टफोन, शक्तिशाली ब्याट्री र २०० एमपी क्यामेरा
फागुन १४, २०८२ १२:३९
काठमाडौँ । साओमीले आफ्नो लोकप्रिय रेड्मी १५ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन रेडमी नोट १५ प्रो फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक प्रिमियम डिजाइन र शक्तिशाली प्राविधिक विशेषताहरू सहित आएको यो फोनले मध्यम वर्गीय स्मार्टफोन प्रयोगकर्ताहरूको ध्यान खिच्ने अनुमान गरिएको छ ।
आकर्षक डिजाइन र उत्कृष्ट डिस्प्ले
रेड्मी नोट १५ प्रो फाइभजी विशेष टाइटेनियम रङ र प्रिमियम टचका साथ उपलब्ध छ । फोनको पछाडिको भागमा स्क्विरकल आकारको क्यामेरा मोड्युल दिइएको छ, जसले यसलाई आधुनिक र फरक लुक दिएको छ ।
डिस्प्लेतर्फ यसमा ६.८३ इन्चको एमोलेड स्क्रिन रहेको छ । जसले १२० हर्जको रिफ्रेश रेट सपोर्ट गर्छ । बाहिरी उज्यालोमा पनि स्पष्ट देख्नका लागि यसमा ३२०० निट्सको पिक ब्राइटनेस पाउन सकिन्छ । साथै स्क्रिनको सुरक्षाका लागि कम्पनीले कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरेको छ, जसले यसलाई फुट्न वा स्क्र्याच हुनबाट जोगाउँछ ।
शक्तिशाली क्यामेरा
यो फोनको मुख्य विशेषता यसको क्यामेरा हो । यसमा २०० मेगापिक्सेलको अल्टिमेट क्लारिटी मुख्य क्यामेरा छ, जसमा ओआईएस अर्थात् अप्टिकल इमेज स्टेबलाइजेसन प्रविधि समावेश गरिएको छ । यसले गर्दा भिडिओ वा फोटो खिच्दा हात हल्लिए पनि धमिलो आउँदैन ।
यसका साथै फराकिलो तस्बिरका लागि ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र सेल्फीका लागि अगाडि २० मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ ।
कार्यक्षमता र सफ्टवेयर
रेड्मी नोट १५ प्रो फाइभजीमा पछिल्लो संस्करणको एन्ड्रोइड १५ मा आधारित हाइपर ओएस २ सफ्टवेयर प्रयोग गरिएको छ । फोनलाई छिटो र प्रभावकारी बनाउन मिडियाटेक डाइमेन्सिटी ७४०० अल्ट्रा चिपसेट जडान गरिएको छ ।
मेमोरी तथा स्टोरेजको कुरा गर्नुपर्दा यसमा ८ जीबी LPDDR4x र्याम (RAM) र २५६ जीबी इन्टरनल स्टोरेज उपलब्ध छ ।
ब्याट्री र चार्जिङ
यो फोनमा ६,५८० एमएएच क्षमताको पावरफुल ब्याट्री रहेको छ । कम्पनीका अनुसार यो ब्याट्री सामान्य प्रयोगमा २ दिनसम्म टिक्छ । फोनलाई छिटो चार्ज गर्नका लागि यसमा ४५ वाटको फास्ट चार्जिङ सपोर्ट दिइएको छ ।
अन्य फिचर
धुलो र पानीबाट जोगाउन यो फोनले IP68 र IP69k रेटिङ प्राप्त गरेको छ । जसले यसको स्थायित्वलाई झनै बलियो बनाउँछ । सुरक्षाका लागि यसमा इन्-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर रहेको छ । कनेक्टिभिटीका लागि वाईफाई ६ र वातावरण अनुसार ब्राइटनेस मिलाउन एम्बियन्ट लाइट सेन्सर जस्ता सुविधाहरू पनि फोनमा समावेश छन् ।
मूल्य र उपलब्धता
नेपाली बजारका लागि रेड्मी नोट १५ प्रो फाइभजीको मूल्य ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ । ग्राहकहरूको सहजताका लागि कम्पनीले ०% ब्याजदरमा ९ महिनाको ईएमआई सुविधा पनि उपलब्ध गराएको छ । यो स्मार्टफोन दुई वटा फरक भेरियन्टमा बजारमा उपलब्ध हुनेछ ।
उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्री खोजिरहेका प्रयोगकर्ताहरूका लागि ५० हजार मुनिको बजेटमा यो फोन एउटा उत्कृष्ट विकल्प हुन सक्छ ।
पछिल्लो अध्यावधिक: फागुन १४, २०८२ १२:३९
