छिटो तस्विर बनाउने फिचरसहित फोटो बनाउने गुगलको नयाँ एआई मोडेल नानो बनाना २ सार्वजनिक
फागुन १५, २०८२ १०:३९
काठमाडौँ । गुगलले आफ्नो लोकप्रिय इमेज जेनेरेसन मोडेलको पछिल्लो संस्करण 'नानो बनाना २' (Nano Banana 2) सार्वजनिक गरेको छ । प्राविधिक रूपमा यसलाई जेमिनाई ३.१ फ्ल्याश इमेज (Gemini 3.1 Flash Image) भनिन्छ, जसले आफ्ना पूर्ववर्ती मोडेलहरूको तुलनामा अझ बढी वास्तविक चित्रहरू निर्माण गर्न सक्छ ।
गुगलले पहिलो पटक नानो बनाना अगस्ट २०२५ मा सार्वजनिक गरेको थियो । जसले नेपाल लगायत विश्वभरका करोडौँ प्रयोगकर्ताहरूलाई आकर्षित गरेको थियो । नोभेम्बर २०२५ मा यसको प्रो संस्करण ल्याइएको थियो, जसले थप विस्तृत र उच्च गुणस्तरका तस्विर बनाउने सुविधा दिएको थियो । अहिले सार्वजनिक गरिएको नयाँ नानो बनाना २ ले प्रो मोडेलको गुणस्तरलाई फ्ल्याश मोडेलको गतिसँग जोडेको छ ।
यो नयाँ मोडेलले गुगलको विश्वव्यापी ज्ञान र वेब सर्चबाट प्राप्त वास्तविक समयको जानकारी प्रयोग गरेर सही चित्रहरू बनाउन सक्ने गुगलले जनाएको छ ।
यसको नयाँ संस्करणमा एउटै कथा वा वर्कफ्लो भित्र ५ वटा पात्र (characters) को रूप र शैली स्थिर राख्न सकिन्छ । साथै एउटै तस्विरमा १४ वटासम्म वस्तुहरूको स्पष्टता र शुद्धता कायम रहन्छ, जसले गर्दा स्टोरी टेलिङ (प्रस्तुति) र स्टोरीबोर्डिङ सहज हुन्छ ।
त्यस्तै प्रयोगकर्ताले ५१२ पिक्सेलदेखि फोरकेसम्मको रिजोलुसनमा तस्विरहरू बनाउन सक्छन् । यसमा विभिन्न आस्पेक्ट रेसियोमा पूर्ण नियन्त्रण हुन्छ ।
यो मोडेलले तस्विरभित्रै स्पष्ट र पढ्न योग्य अक्षरहरू लेख्न सक्छ । जुन मार्केटिङ र सामाजिक सञ्जालका लागि उपयोगी हुन्छ । यसले तस्विरभित्रका अक्षरहरूलाई विभिन्न भाषाहरूमा अनुवाद र लोकलाइजेसन समेत गर्न सक्छ ।
यसमा जीवन्त प्रकाश, टेक्चर र शार्प डिटेल समावेश गरिएको छ । नयाँ मोडेल गुगलका विभिन्न सेवाहरूमा उपलब्ध गराइएको छ ।
यो जेमिनाई एपको फास्ट (Fast), थिङ्किङ र प्रो मोडमा डिफल्ट मोडेलको रूपमा रहनेछ । गुगल एआई प्रो र अल्ट्रा सब्सक्रिप्सन लिएका ग्राहकहरूले अझै पनि विशेष कार्यका लागि तीन-ओटा डट भएको मेनु मार्फत नानो बनाना प्रो प्रयोग गर्न सक्नेछन् ।
यसैगरी यो १४१ देशहरूमा गुगल सर्च एप र डेस्कटपको एआई मोड तथा लेन्समा उपलब्ध हुनेछ । गुगलको भिडिओ एडिटिङ टुल फ्लो (Flow) र गुगल एड्स (Google Ads) मा पनि यसलाई समावेश गरिएको छ ।
जेमिनाई एपीआई, भेर्टेक्स एआई, एआई स्टुडियो र कम्पनीको नयाँ टुल एन्टिग्राभिटी (Antigravity) मा पनि यो उपलब्ध छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित सामग्रीको पहिचानका लागि गुगलले सुरक्षाका उपायहरू पनि सुधार गरेको छ । यो मोडेलबाट बनाइएका सबै तस्विरहरूमा सिन्थआईडी वाटरमार्क रहनेछ ।
साथै गुगलले एडोबी, माइक्रोसफ्ट र मेटा जस्ता कम्पनीहरूसँग मिलेर बनाइएको C2PA सामग्री प्रमाणपत्र (Content Credentials) लाई पनि सपोर्ट गर्ने जनाएको छ । नोभेम्बरदेखि हालसम्म सिन्थआईडी प्रमाणीकरणको प्रयोग २० करोड पटक भन्दा बढी भइसकेको उल्लेख छ ।
गुगल डिपमाइन्डकी प्रोडक्ट म्यानेजर नैना रायसिङ्घानीले यो मोडेलले प्रयोगकर्ताका जटिल अनुरोधहरूलाई सूक्ष्म रूपमा बुझेर उनीहरूले चाहे जस्तै तस्विरहरू द्रुत गतिमा प्रदान गर्न सक्ने बताएकी छिन् ।
पछिल्लो अध्यावधिक: फागुन १५, २०८२ ११:१२
