close

आमहड्तालको आह्वान गर्दै फेसबुकमा भिडि‌ओ राखेका दुर्गा प्रसाईं पक्राउ

टेकपाना टेकपाना

फागुन १७, २०८२ ८:५३

आमहड्तालको आह्वान गर्दै फेसबुकमा भिडि‌ओ राखेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । विवादित मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । आसन्न निर्वाचन बिथोल्ने उद्देश्यले आइतबारदेखि आमहड्ताल आह्वान गर्दै भिडिओ‌ बनाएका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रकाश जबेगु लिम्बुले प्रसाईंलाई बिहान ८ बजेको समयमा भक्तपुर स्थित उनकै निवासबाट पक्राउ गरिएको जानकारी दिए । "सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो," उनले भने ।

प्रसाईंले शनिबार मात्रै फेसबुक भिडिओ मार्फत चुनावसम्म आमहड्ताल आह्वान मार्फत आगजनी र तोडफोडका घटना हुन सक्ने भन्दै त्रास सिर्जना गर्न खोजेका थिए । प्रसाईंलाई प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।

पछिल्लो पटक ४ फागुनमा पक्राउ परका उनी १३ फागुनमा मात्र रिहा भएका थिए । सर्वोच्च अदालतका न्यायाधीश द्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै थुना मुक्त गर्न आदेश दिएको थियो ।

पछिल्लो अध्यावधिक: फागुन १७, २०८२ ९:०