फ्याक्टचेक: रमजानको इफ्तारमा बालेनले इस्लामी टोपी लगाएको दाबी सहित एडिट गरिएको भ्रामक फोटो भाइरल
फागुन १७, २०८२ २१:५१
काठमाडौँ । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मुस्लिम समुदायले लगाउने टोपी (कुफिया) लगाएको भन्दै आलोचना भएको छ । रास्वपाका नेताहरू आसिफ शाह र असिम शाहको घरमा रमजानको इफ्तारको लागि जाँदा त्यस्तो टोपी लगाएको दाबी गरिएको छ ।
तर टेकपानाको तथ्यजाँचबाट उक्त दाबी भ्रामक रहेको पाइएको छ । रमजान इफ्तारको लागि जाँदा कुनैपनि टोपी नलाएको बालेन शाहको तस्बिरमा एडिट गरि इस्लामी धर्मालम्बीहरूले लगाउने टोपी थपि भ्रम फैलाइएको तथ्यजाँचबाट पुष्टि भएको हो ।
दाबी
‘Laxmi Sanatni Mithila ke beti’ नामको फेसबुक पेजले बालेन शाह रास्वपा नेताहरू असिम शाह र आसिफ शाहसँग उभिएको तस्बिर सार्वजनिक गरेको छ ।
उक्त तस्बिरमा बालेनले कुफिया (मुस्लिम समुदायले लगाउने टोपी) लगाएको देखिएको छ । २७ जनवरी बिहान ६:४९ मा सार्वजनिक भएको उक्त पोस्टको तस्बिरमा लेखिएको छ, “हिन्दू समाज आँखा खोल्नु” ।
उक्त तस्बिरलाई यो सामग्री तयार पार्दासम्म दुई हजार २०० भन्दा धेरैले रियाक्ट गरेका छन् । तस्बिरलाई २०४ पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

अनुसन्धान
फेसबुक प्रयोगकर्ता ‘Pramod Sunar’ ले पनि बालेनले इस्लामी टोपी लगाएको देखिने तस्बिर सार्वजनिक गरेका छन् । २७ फेब्रुअरी साँझ ७:१६ मा फोटो शेयर गर्दै क्याप्सनमा उनले बालेनले टोपी लगाइको तस्बिर एआई नभएको समेत दाबी गरेका छन् ।
फेसबुकमा उनले लेखेका छन्, “हाम्रो देशको नेताहरु टोपी लगाउने मा माहिर छन् अस्ति सम्म नेपाल सनातन धर्मसापेक्ष राष्ट्रको मुद्दामा किन न बोलेको भनेर कुरा यो छ त नी यहाँ सम्म छिमेकी राष्ट्र भारतको प्रधानमन्त्री Narendra Modi अहिले विश्वको सबभन्दा बढी प्रशिद्ध रहेको छ्न तर अहिले सम्म गैर सनातनी कार्य गरेको छैनन तर यो घण्टे facebook मै प्रधानमन्त्री बनेको टोपी लगाएर खुब चटक हेराइ रहेको छ यस्ता हरुलाई भोट दिनु भनेको पाप गर्नु बराबर हो 😏 सनातन धर्मसापेक्ष राष्ट्रको मुद्दामा नबोल्ने हेर्न सक्नु हुन्छ अब कसैले यो न भन्नु AI बाट बनाएको फोटो हो भनेर 😏😑 मेरो भोट राष्ट्र, धर्म संस्कृति रक्षा गर्नेलाई मात्र हुने छ ... जय शम्भो हर हर महादेव जय पशुपतिनाथ 🙏🔱🚩”
सो पोस्टलाई यो सामग्री तयार पार्दासम्म १२ सय भन्दा धेरैले रियाक्ट गरेका छन् भने १०१ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।
‘Pramod Sunar’ ले सार्वजनिक गरेको तस्बिरमा ‘smart nepal’ को वाटरमार्क देखिएको छ । त्यसपछि हामीले फेसबुकमा Smart Nepal सर्च गर्यौँ । माथिको तस्बिरमा देखिएको लोगो प्रोफाइल फोटो भएको ‘Smart TV Nepal’ नामको फेसबुक पेज फेला पर्यो ।
उक्त पेजले बालेनको भाइरल सामूहिक तस्बिर सँगै धेरै ओटा तस्बिरहरू जोडेर पोस्ट सार्वजनिक गरेको छ । २६ फेब्रुअरी राति ९:५३ मा सार्वजनिक उक्त पोस्टमा बालेनले रास्वपा नेताहरू असिम शाह र आसिफ शाहको घरमा रमजानको इफ्तार गरेको दाबी गरिएको छ । तर यो तस्बिरमा बालेनले कुफिया वा कुनै पनि किसिमको टोपी लगाएका छैनन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

हामीले सोही तस्बिरलाई क्रप गरेर गुगल रिभर्स इमेज सर्च गर्यौँ । नयाँ पत्रिका दैनिकको अनलाइन न्युज पोर्टल ‘nayapatrikadaily.com’ मा बालेनले आसिफ र असिम शाहको घरमा रमजान मनाएको दाबी सहित ‘असिम शाहको घरमा पुगेर रमजान मनाए बालेनले’ शीर्षकमा प्रकाशित समाचार फेला पर्यो । यसमा पनि बालेनले कुनै पनि टोपी नलगाएको सोही सामूहिक तस्बिर राखिएको छ ।
समाचारमा लेखिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले असिम शाहको घरमा इस्लाम धर्मावलम्बीहरूको चाड रमजान मनाएका छन्। कमलपोखरीस्थित शाहको घरमा पुगेर उनले बिहीबार इफ्तार गरेका हुन्। रास्वपाका नेतासमेत रहेका शाहको घर त्यही हो जहाँ दुई महिनाअघि रवि लामिछाने र बालेनबिच मिलेर जाने समझदारी भएको थियो। बालेन शुक्रबार तनहुँ जाने कार्यक्रम छ।” पढ्नुहोस् नयाँ पत्रिका दैनिकको समाचार र स्क्रिनशट ।

त्यसपछि हामीले आसिफ शाह र असिम शाहको सामाजिक सञ्जाल अकाउन्ट केलायौँ । आसिफ शाहले २६ फेब्रुअरीमा रमजानको इफ्तारका लागि बालेन कमलपोखरी स्थित आफ्नो घरमा आएको बताउँदै इफ्तार गरिरहेको भिडिओ सार्वजनिक गरेको फेला पर्यो । भिडिओको क्याप्सनमा उनले लेखेका छन्, “रमजानको इफ्तार गर्न का लागी काठमाडौँ आउने बित्तिकै वरिष्ठ नेता बालेन शाह, कमलपोखरीस्थित हाम्रो निवासमा…” हेर्नुहोस् भिडिओ ।
दाबी
बालेन शाहले इस्लामी धर्मालम्बीहरूले लगाउने टोपी लगाए ।
दाबीकर्ता
‘Laxmi Sanatni Mithila ke beti’, ‘Pramod Sunar’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
बालेन रमजानको इफ्तारका लागि आसिफ शाह र असिम शाहको घरमा गएका थिए । त्यहाँ उनले सामूहिक तस्बिर पनि खिचाएका थिए । तर तस्बिरमा उनले कुनैपनि किसिमका टोपी लगाएका थिएनन् । तर पछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फोटो एडिट गरेर इस्लामी धर्मालम्बीहरूले लगाउने टोपी बालेनको टाउकोमा लगाइ दिएर हिन्दुहरूको रक्षा नगरेको दाबी सहितको भ्रम फैलाएका हुन् ।
निष्कर्ष
बालेन शाहले इस्लामी धर्मालम्बीहरूले लगाउने टोपी लगाएको दाबी सहित भाइरल तस्बिर भ्रामक हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन १७, २०८२ २२:७
