close

राप्रपाले भन्योः समाचारमा आएजस्तो रूपन्देही क्षेत्र नम्बर २ मा पार्टीले नेपाली काङ्ग्रेसलाई समर्थन गरेको छैन

टेकपाना टेकपाना

फागुन १८, २०८२ १२:५७

राप्रपाले भन्योः समाचारमा आएजस्तो रूपन्देही क्षेत्र नम्बर २ मा पार्टीले नेपाली काङ्ग्रेसलाई समर्थन गरेको छैन

 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसलाई समर्थन गर्ने भनेर बाहिर आएका समाचारमा कुनै सत्यता नभएको प्रस्ट पारेको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको स्पष्ट पारेका हुन् । 

विज्ञप्तिमा पार्टीको नीति विपरीत गएर कसैलाई समर्थन गर्ने वा यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्ने चेतावनी समेत दिइएको छ । रूपन्देही क्षेत्र नम्बर २ मा प्राविधिक रूपमा राप्रपाको उम्मेदवारी खाली हुन गएको भए तापनि अन्य दललाई समर्थन नगरिएको पार्टीले जनाएको छ । सो क्षेत्रमा समानुपातिक तर्फको मत जुटाउन पार्टीले सम्पूर्ण पार्टी पङ्ती र आफ्ना मतदातालाई अनुरोध गरेको छ ।

आइतबार राप्रपा रूपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति जारी गर्दै नेपाली काङ्ग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको उल्लेख गरेका थिए । त्यही विज्ञप्तिलाई आधार मान्दै विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशित गरेका थिए । 

केन्द्रीय प्रवक्ता श्रेष्ठले भने उक्त विज्ञप्ति र निर्णय केन्द्रीय कार्यालयले खारेज गरिदिएको बताएका छन् । “त्यो क्षेत्रीय स्तरबाट भएको निर्णय पार्टीले खारेज गरिसकेको छ,” टेकपानासँग कुरा गर्दै श्रेष्ठले भने, “हामीले उक्त क्षेत्रमा कुनै अर्को पार्टीको उम्मेदवारलाई समर्थन गरेका छैनौं ।”

 

पछिल्लो अध्यावधिक: फागुन १८, २०८२ १२:५७