हवाई आक्रमण र प्रतिरक्षाका घटना तथा घटनास्थलको फोटो/भिडिओ नखिच्नू, शेयर नगर्नू- कुवेत
फागुन १९, २०८२ १७:४९
काठमाडौँ । मध्यपूर्वी क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ र इराकमा रहेका नेपाली नागरिकहरूलाई सजगता अपनाउन अनुरोध गरेको छ । मंगलबार फेसबुकमा एक पोस्ट राख्दै राजदूतावासले कुवेत सरकारले प्रकाशित गरेका निर्णयलाई पूर्ण पालना गर्न आह्वान गरेको हो ।
यसअनुसार कुवेतको आकाशमा देखिने कुनै पनि हवाई आक्रमण तथा प्रतिरक्षाका घटनाहरू तथा घटनास्थलको तस्बिर/भिडिओ नखिच्न तथा सामाजिक सञ्जालमा शेयर/पोस्ट नगर्न आग्रह गरिएको छ । त्यस्तै अफवाहपूर्ण सूचना सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न पनि सचेत गराइएको छ ।
कुवेत र इराकको हवाई क्षेत्र खुलेपछि मात्र नियमित उडानहरू सुचारु हुने जानकारी दिँदै राजदूतावासले उडानसम्बन्धी अद्यावधिक जानकारीका लागि कुवेतको ‘डिरेक्टोरेट जनरल अफ सिभिल एभिएसन’ र इराकको ‘इराकी सिभिल एभिएसन अथोरिटी’ को वेबसाइट हेर्न वा सम्बन्धित वायुसेवा प्रदायकसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाली नागरिकहरूलाई भिडभाड हुने स्थान र सैन्य क्षेत्रको आसपास नजान भनिएको छ । साथै, कुनै पनि अपरिचित वा शंकास्पद वस्तु नजिक नजान र साइरन बजेको बेला घर वा कार्यस्थल बाहिर भए नजिकैको भवनभित्र सुरक्षित बस्न आग्रह गरिएको छ । भवनभित्र रहँदा झ्याल, सिसा वा बार्दली नजिक नबस्न भनिएको छ ।
यस्तै, नेपालमा रहेका परिवारसँग नियमित सम्पर्कमा रहन र यदि कामको विशेष कारणले केही समय सम्पर्कविहीन हुनुपर्ने अवस्था आएमा सोको जानकारी परिवारलाई पहिल्यै गराउन सुझाइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १९, २०८२ १८:४४
