सस्तो आईफोन १७ई सार्वजनिक, पावरफुल ए१९ चिप र २५६ जीबी स्टोरेजका साथ सुरुवाति मूल्य ५९९ डलर
फागुन २०, २०८२ ९:३४
काठमाडौँ । एप्पलले आफ्नो आईफोन १७ सिरिजको सबैभन्दा सुलभ र शक्तिशाली स्मार्टफोनको रूपमा आईफोन १७ ई सार्वजनिक गरेको छ । २ मार्च, २०२६ मा सार्वजनिक यो नयाँ फोनले उत्कृष्ट कार्यक्षमता, एड्भान्स क्यामेरा सिस्टम र आकर्षक डिजाइनलाई किफायती मूल्यमा उपलब्ध गराएको छ ।
आईफोन १७ ईमा एप्पलको पछिल्लो पुस्ताको ए १९ चिप प्रयोग गरिएको छ । जुन अत्याधुनिक ३-नानोमिटर प्रविधिमा आधारित छ । यसमा रहेको ६-कोर सीपीयू अघिल्लो आईफोन ११ को तुलनामा दुई गुणा बढी फास्ट छ । साथै एप्पलले यसमा आफ्नै डिजाइनको सी १ एक्स सेलुलर मोडेम जडान गरेको छ, जसले इन्टरनेटको गतिलाई आईफोन १६ ई को तुलनामा दोब्बर बनाउँछ र ब्याट्रीको खपत ३० प्रतिशतले कम गर्छ ।
यो फोनमा ६.१ इन्चको सुपर रेटिना एक्सडीआर डिस्प्ले रहेको छ । सुरक्षाको लागि यसमा सेरामिक शिल्ड २ प्रयोग गरिएको छ, जसले गर्दा स्क्रिन कोरिने समस्या अघिल्लो पुस्ताको तुलनामा ३ गुणा कम हुन्छ । यो फोन हलुका र बलियो एरोस्पेस-ग्रेड आल्मुनियमबाट बनेको छ र यसलाई आईपी ६८ रेटिङ दिइएको छ, जसको अर्थ यो पानी र धूलो प्रतिरोधी छ ।
फोटोग्राफीका लागि यसमा ४८ मेगापिक्सेलको फ्युजन क्यामेरा दिइएको छ । यसले २ गुणा अप्टिकल-क्वालिटी टेलिफोटोको सुविधा प्रदान गर्दछ, जसले गर्दा प्रयोगकर्ताले टाढाका वस्तुहरू पनि स्पष्टसँग खिच्न सक्छन् । यसको क्यामेराबाट ४ के डल्बी भिजन भिडियो रेकर्डिङ गर्न सकिन्छ ।
यसका साथै यसमा रहेको 'नेक्स्ट-जेनेरेसन पोर्ट्रेट' मोडले फोटो खिचिसकेपछि पनि ब्याकग्राउन्ड ब्लर र फोकस पोइन्ट मिलाउन अनुमति दिन्छ ।
एप्पलले यस पटक स्टोरेज क्षमतामा पनि ठुलो फड्को मारेको छ । आईफोन १७ ईको सुरुवाती स्टोरेज २५६ जीबीबाट सुरु हुन्छ, जुन अघिल्लो मोडेलको तुलनामा दोब्बर हो । यसमा म्यागसेफ प्रविधि पनि उपलब्ध छ, जसले प्रयोगकर्तालाई फास्ट वायरलेस चार्जिङ र विभिन्न एक्सेसरिजहरू प्रयोग गर्न सहज बनाउँछ । यो फोन आईओएस २६ मा चल्छ र यसले एप्पलको नयाँ एआई फिचर एप्पल इन्टेलिजेन्सलाई पूर्ण रूपमा सपोर्ट गर्छ ।
आईफोन १७ ईमा स्याटेलाइट मार्फत आपत्कालीन मेसेज पठाउने र सडक दुर्घटना पत्ता लगाउने क्र्याश डिटेक्सन जस्ता जीवन रक्षक सुविधाहरू रहेका छन् । वातावरण संरक्षणलाई ध्यानमा राख्दै यो फोन ३० प्रतिशत पुन: प्रयोग गरिएका सामग्रीहरूबाट बनाइएको छ ।
आईफोन १७ ई कालो, सेतो र नयाँ आकर्षक सफ्ट पिङ्क गरी तीनवटा रङमा उपलब्ध हुनेछ । अन्तर्राष्ट्रिय बजारमा यसको सुरुवाति मूल्य ५९९ अमेरिकी डलर (करिब ८८ हजार रुपैयाँ) तोकिएको छ । ग्राहकहरूले ४ मार्चदेखि यसको प्रि-अर्डर गर्न सक्नेछन् भने मार्च ११ देखि यो विश्वभरका ७० भन्दा बढी देशहरूमा उपलब्ध हुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ ९:४०
