सांकेतिक तस्बिर
काठमाडौँ । ह्वाट्सएपमा गरेको मेसेजका कारण एक जना मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । निर्वाचन अधिकृतको कार्यालय बागलुङले त्यहाँको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत रमुवा आ.वि मतदान केन्द्रका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाएको हो ।
कार्यालयका अनुसार गैरेलाई मतदान अधिकृतको जिम्मेवारी र नियुक्ति दिई मतपत्र र मतदाता सामग्री सहित कार्यक्षेत्रमा पठाइएको थियो । उनले क्षेत्र नम्बर १ र २ का मतदान अधिकृतहरूको ह्वाट्सएप ग्रुपमा मङ्गलबार अपराह्न ४ः१३ बजेको समयमा मेसेज गर्दै अन्य मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूको मनोबल गराउने कार्य गरेको उल्लेख छ ।
उनले 'तपाईंले मत ढुवानी खर्च ८००० दिनुहुन्छ अनि गाडीले १६००० लिन्छ अनि नभागेर च्यापेर बस्नु ????' भन्दै ग्रुपमा मेसेज पठाएको उल्लेख छ । यसले गैरेबाट जिम्मेवारी बहन हुन नसक्ने देखिएको भन्दै कार्यालयले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न हुन सक्ने अवस्थाको विद्यमानता नदेखिएको ठहर गरेको छ ।
"प्रतिनिधि सभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका, २०८२ को दफा २० बमोजिम तपाईँले गर्नु भएको उल्लिखित कार्य क्रियाकलापबाट निर्वाचनको काममा हेलचक्राई गर्ने वा निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता एवं विश्वसनीयता प्रतिकूल आँच आउन सक्ने देखिएकोले यस निर्वाचन अधिकृतको कार्यालय तपाईंप्रति विश्वस्त हुन नसकेको हुँदा तपाईंलाई रमुवा आ.वि. रमुवाको मतदान अधिकृतको जिम्मेवारीबाट हटाइएको छ," कार्यालयको सूचनामा भनिएको छ ।
पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ १४:२७
