ओखलढुङ्गामा मतदान बिथोलिएको खबर भ्रामक, तेह्रथुमको ‘सुरक्षा अभ्यास’ को भिडिओ प्रयोग गरी अफवाह फैलाइँदै
फागुन २१, २०८२ १२:९
काठमाडौँ । ओखलढुङ्गामा मतदानका क्रममा झडप भएको र गोली चलेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको सूचना पूर्णतः भ्रामक र गलत रहेको प्रहरीले स्पष्ट पारेको छ ।
सुशासन सञ्चार’ (Sushasan Sanchar) लगायतका सामाजिक सञ्जाल अकाउन्टबाट ओखलढुङ्गामा मतदान बिथोल्ने प्रयास भएको र गोली लागेर एक जना घाइते भएको भन्दै भिडिओ पोस्ट गरिएको थियो । तर, उक्त भिडिओ गत साता तेह्रथुममा निर्वाचन सुरक्षाका लागि गरिएको सुरक्षा अभ्यासको भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मदन केसीले विज्ञप्ति जारी गर्दै जिल्लामा हालसम्म मतदान कार्यक्रम शान्तिपूर्ण वातावरणमा भइरहेको जानकारी दिएका छन् ।

टेकपानाले गरेको तथ्यजाँच अनुसार पुरानो सुरक्षा अभ्यासको भिडिओलाई अहिलेको वास्तविक घटनाको जस्तो प्रस्तुत गरी मतदातामाझ त्रास फैलाउने उद्देश्यले सम्प्रेषण गरिएको पाइएको छ ।
प्रहरीले आम नागरिक र मतदातालाई यस्ता तथ्यहीन र भ्रामक सूचनाको पछि नलाग्न र आधिकारिक सञ्चार माध्यमबाट आउने सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेको छ । हाल ओखलढुङ्गाका सबै मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान प्रक्रिया निर्वाध रूपमा चलिरहेको प्रशासनले जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २१, २०८२ १२:२९
