close

बालेनले अनुमति विना हेलिकोप्टर प्रयोग गरेको समाचार भ्रामक, निर्वाचन आयोगले बुधबार नै दिएको थियो स्वीकृति

टेकपाना टेकपाना

फागुन २१, २०८२ १२:३२

बालेनले अनुमति विना हेलिकोप्टर प्रयोग गरेको समाचार भ्रामक, निर्वाचन आयोगले बुधबार नै दिएको थियो स्वीकृति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अनुमति विना हेलिकोप्टर प्रयोग गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचार भ्रामक रहेको पाइएको छ । निर्वाचन आयोगले शाहलाई हेलिकोप्टर प्रयोगका लागि बुधबार नै औपचारिक अनुमति दिइसकेको तथ्य खुलेको हो ।

बिहीबार देशैभर भइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा बालेनले निर्वाचन आचारसंहिता विपरीत अनुमति नै नलिई हेलिकोप्टर लिएर झापा गएको र त्यहाँ ल्यान्ड (अवतरण) हुन नसकी काठमाडौँ फर्किएको दाबीसहितका समाचार बाहिरिएका थिए । तर, स्रोतको हवला दिँदै सञ्चारमाध्यमले गरेका ती दाबी पूर्णतः भ्रामक रहेको पुष्टि भएको छ ।

आयोगले २० फागुन २०८२ बुधबार रास्वपाको वनस्थलीस्थित केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै हेलिकोप्टर प्रयोगको अनुमति दिएको थियो । रास्वपाले सोही दिन अनुमतिका लागि आयोगमा निवेदन पेस गरेको र दलको मागबमोजिम नै आयोगले निर्णय गरेको हो ।

आसन्न निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका शाहलाई २१ फागुनका लागि मात्र हेलिकप्टर प्रयोग गर्न स्वीकृति दिइएको थियो । आयोगका अनुसार उनलाई ‘काठमाडौँ–झापा’ रुटमा मात्र हेलिकोप्टर प्रयोग गर्ने अनुमति प्रदान गरिएको हो ।

पछिल्लो अध्यावधिक: फागुन २१, २०८२ १२:३८